१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचन तुलनामा लोकतान्त्रिक गठबन्धनको मत सुधार

सुरेन्द्र पौडेल/भाषा शर्मा

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ठूलो हार बेहोर्नुपरे पनि स्थानीय निर्वाचनको तुलनामा धेरै निर्वाचन क्षेत्रमा बढी मत प्राप्त गरेको छ । प्रदेश नम्बर १, ४ र ५ का २५ जिल्लामा रहेका प्रतिनिधिसभा र प्रदेशसभाका १ सय २३ निर्वाचन क्षेत्रमा स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचनमा खसेको मत तुलना गर्दा यस्तो देखिएको हो ।

लोकतान्त्रिक गठबन्धनले तीन प्रदेशका १ सय २३ क्षेत्रमध्ये ७० क्षेत्रमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मतभन्दा बढी मत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्राप्त गरेको छ ।


लोकतान्त्रिक गठबन्धनले तीन प्रदेशका १ सय २३ क्षेत्रमध्ये ७० क्षेत्रमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मतभन्दा बढी मत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्राप्त गरेको छ । ५३ क्षेत्रमा भने कांग्रेसले स्थानीय निर्वाचनमा प्राप्त गरेको मतभन्दा कम मत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पाएको देखिन्छ ।
यस्तै वाम गठबन्धनले तीन प्रदेशका २५ जिल्लामा रहेका १ सय २३ क्षेत्रमध्ये स्थानीय निर्वाचनको तुलनामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६५ क्षेत्रमा बढी मत पाएको छ । वाम गठबन्धनले यी क्षेत्रमध्ये ५७ स्थानमा स्थानीय निर्वाचनको तुलनामा कम मत प्राप्त गरेका छन् ।
स्थानीय निर्वाचनमा कुल मतदाता १ करोड ४० लाख ५४ हजार ४ सय ८२ थिए भने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यो बढेर १ करोड ५४ लाख २७ हजार ९ सय ३५ पुगेको थियो । स्थानीय निर्वाचनमा भन्दा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १३ लाख ७२ हजार ४ सय ५३ मतदाता थपिएका थिए । स्थानीय निर्वाचनमा ७५ प्रतिशत मतदान भएको थियो, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६९ प्रतिशत । स्थानीय निर्वाचनको तुलनामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा झन्डै १० प्रतिशत मतदाता बढे पनि ६ प्रतिशत कम मतदाता मतदान प्रक्रियामा सहभागी बनेका थिए ।
प्रदेश १ को ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र भोजपुर, प्रदेश ४ को गोरखा, लम्जुङ, बाग्लुङ, म्याग्दी, मुस्ताङ, मनाङ र प्रदेश ५ को पूर्वी रुकुम, रोल्पा, पाल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, बर्दिया, पश्चिम नवलपरासी, दाङ, कपिलवस्तु, बाँके र रुपन्देहीका १ सय २३ निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धन स्थानीय निर्वाचनको तुलनामा प्रत्यक्ष हुने निर्वाचनमार्फत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन धेरै मत प्राप्त गरे पनि सिट संख्या भने बढाउन सकेन ।
स्थानीय निर्वाचनमा यी १ सय २३ वटा निर्वाचन क्षेत्रमध्ये ९० वटामा वाम गठबन्धन र ३३ वटामा लोकतान्त्रिक गठबन्धनले बढी मत पाएका थिए । सात महिनापछि भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने यी क्षेत्रमध्ये १ सय ५ वटामा वाम गठबन्धन र १८ वटामा लोकतान्त्रिक गठबन्धनले एकअर्काको भन्दा बढी मत प्र्राप्त गरेको देखिन्छ ।
प्रदेश नम्बर १ का ७ जिल्लाको प्रतिनिधिसभातर्फको ७ र प्रदेशसभातर्फको १४ गरी २१ निर्वाचन क्षेत्रमध्ये स्थानीय निर्वाचनमा सबैमा वाम गठबन्धनले बढी मत पाएको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि यी सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवारले बढी मत प्राप्त गरी विजयी बनेका छन् । यी २१ क्षेत्रमध्ये १७ वटामा वाम गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कम मत प्राप्त गरेको छ भने ४ क्षेत्रमा बढी मत ल्याएको देखिन्छ । यहाँ लोकतान्त्रिक गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा ६ क्षेत्रमा मत बढी पाएको छ भने १५ क्षेत्रमा कम ।
प्रदेश नम्बर ४ का ६ जिल्लाका प्रतिनिधिसभातर्फका ८ र प्रदेशसभातर्फका १६ गरी २४ निर्वाचन क्षेत्रमध्ये स्थानीय निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले १२–१२ क्षेत्रमा बढी मत पाएका थिए । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा २० वटामा वाम गठबन्धन र ४ वटामा लोकतान्त्रिक गठबन्धनले बढी मत पाएका छन् । स्थानीय निर्वाचनको तुलनामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा यहाँका १९ क्षेत्रमा वाम गठबन्धनले मत बढाएको छ भने ४ वटा घटेको छ । लोकतान्त्रिक गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा १३ क्षेत्रमा मत बढाएको भने ११ वटामा घटेको छ ।
प्रदेश नम्बर ५ का १२ जिल्लाका प्रतिनिधिसभातर्फको २६ र प्रदेशसभातर्फका ५२ गरी ७८ निर्वाचन क्षेत्रमध्ये स्थानीय निर्वाचनमा वाम गठबन्धनले ५७ र लोकतान्त्रिक गठबन्धनले २१ क्षेत्रमा एकअर्काका भन्दा बढी मत प्राप्त गरेका थिए । प्रतिनिधि तथा प्रदेशसभामा यी क्षेत्रमध्ये ६४ मा वाम गठबन्धन र १४ मा लोकतान्त्रिक गठबन्धनले एकअर्काको तुलनामा बढी मत पाएको देखिन्छ । यी ७८ क्षेत्रमध्ये स्थानीय निर्वाचनको तुलनामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले ४२ क्षेत्रमा मत बढाएको छ भने ३६ क्षेत्रमा घटेको छ । यस्तै स्थानीय निर्वाचनको तुलनामा लोकतान्त्रिक गठबन्धनले ५१ क्षेत्रमा मत बढाएको छ र २७ स्थानमा मत घटेको छ ।
स्थानीय निर्वाचनको तुलनामा कतै मत बढ्ने र घट्ने भए पनि प्रदेश नम्बर १, ४ र ५ को २५ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीचको मतभिन्नता स्थानीय र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उस्तै नै छ । नगन्य स्थानमा मतभिन्नतामा ठूलो अन्तर देखिए पनि दुई गठबन्धनबीच प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा देखिएको मतान्तर स्थानीय निर्वाचनको जस्तै छ । 

प्रकाशित: १ पुस २०७४ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App