१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा ४३ उम्मेदवारको जमानत जफत

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाहेक अरु कसैले जमानत जोगाउन सकेनन् । ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएकोमा ४३ जनाको जमानत नै जफत भएको छ। 

बदर कटाएर कुल सदर मतको १० प्रतिशत भोट नल्याए जमानत (धरौटी) जफत हुने व्यवस्था छ । जिल्लामा प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभामा ३३ उम्मेदवार थिए । प्रतिनिधिसभामा चार र प्रदेशसभामा आठ उम्मेदवारले मात्र जमानत जोगाउन सके । उनीहरू वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । अर्थात कांग्रेस, एमाले, माओवादी र राप्रपा (प्रजातान्त्रिक) का उम्मेदवारको मात्र जमानत जोगिएको छ। 

प्रतिनिधिसभा क्षेत्र नं. १ मा ७८ हजार ६ सय ९६ मत खसेकोमा ७३ हजार २ सय ४८ मत सदर भएको थियो । जमानत जोगाउन सदर मतको १० प्रतिशतले ७ हजार ३ सय २४ मत ल्याउनु पर्ने हुन्छ । यहाँबाट ५५ प्रतिशत मत ल्याएर माओवादी केन्द्रका अग्नि सापकोटा विजयी भन्दा उपविजेता कांग्रेसका मोहनबहादुर बस्नेतले ४० प्रतिशत मत ल्याए । यहाँ उम्मेदवार रहेका १३ मध्ये ११ को जमानत खोसियो। 

प्रतिनिधिसभा क्षेत्र नं. २ मा विजयी एमालेका शेरबहादुर तामाङ (५३ प्रतिशत) र उनका प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणा (४२ प्रतिशत) ले मात्र जमानत जोगाए। अरु ७ जना उम्मेदवारको जमानत जफत भयो । कुल सदर मत ७१ हजार ८ सय ३३ मध्ये जमानत जोगाउन ७ हजार १ सय ८३ मत ल्याउनु पथ्र्यो । दुई बाहेक कसैले त्यति मत पाउन सकेनन्।

प्रदेशसभा तर्फ पनि विजयी उम्मेदवार र उनीहरूका निकतटम प्रतिस्पर्धीबाहेक कसैको जमानत जोगिएन । क्षेत्र नं. १ का दुबै प्रदेशसभा एमाले उम्मेदवार अरुण नेपाल (५७ प्रतिशत) र सरेश नेपाल (६२ प्रतिशत)ले जितेका थिए । उनीहरू निकतटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार क्रमशः विष्णुबहादुर खत्री (३९ प्रतिशत) र राजेन्द्रकुमार श्रेष्ठ (३३ प्रतिशत) थिए। 

क्षेत्र नं. २ (क)का विजयी उम्मेदवार माओवादी केन्द्रका युवराज दुलालले ५८ प्रतिशत मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विकास तामाङले ३८ प्रतिशत मत ल्याए । प्रदेशसभा (ख) बाट कांग्रेस उम्मेदवार निमा लामा ४८ दशमलव ७३ प्रतिशत मत ल्याएर विजयी भए । उनका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दावा तामाङ ४८ दशमलव २२ प्रतिशत भोट ल्याइ झिनो मतले पराजित भए । 

प्रकाशित: २९ मंसिर २०७४ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App