१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

इन्धनमा निगमलाई मासिक ४२ करोड घाटा

काठमाडौं–नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाए पनि मासिक ४२ करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमले गत साता पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासको मूल्य बढाएको थियो । डिजेल र ग्यासमा घाटा खाएर बेच्नु पर्दा निगमले घाटा बेहोर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पढाएको मूल्य अनुसार समायोजन गरे पनि ग्यास प्रतिसिलिन्डर दुई सय २६ रुपैयाँ ७७ पैसा, डिजेल प्रतिलिटर दुई रुपैयाँ ७४ पैसा घाटा रहेको गोइतले बताए । 

यसलाई आधार मान्दा ग्यासमा मासिक ५४ करोड १० लाख, डिजेलमा ३८ करोड ६६ लाख रुपैयाँ घाटा थियो । तर, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसाका दरले मासिक ६ करोड ३६ लाख रुपैयाँ, मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ ३२ पैसाका दरले हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसाका दरले सात करोड ५२ लाख, अन्तर्राष्ट्रियतर्फ २४ रुपैयाँ ८९ पैसाका दरले ३४ करोड रुपैयाँ नाफा रहेको छ । ‘तीनवटा प्रोडक्टमा नाफा छ,’ गोइतले भने, ‘दुई प्रोडक्टमा घाटा हुँदा कुल मासिक ४१ करोड ९६ लाख रुपैयाँ घाटा पुगेको छ ।’

आइओसीले मूल्य बढाएपछि निगमले इन्धनको मूल्य समायोजन गरेको थियो । पेट्रोलमा प्रतिलिटर दुई रुयैयाँ बढाएर एक सय, डिजेलमा प्रतिलिटर तीन रुयैयाँ बढाएर ७७ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँ बढाएर ८७ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय डलर वृद्धि गरेर आठ सय ५० डलर, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुयैयाँ बढाएर १३ सय ५० रुपैयाँ पु¥याएको छ । मासिक एक अर्ब ६ करोड घाटा भएपछि मूल्य समायोजन गरेको निगमले जनाएको थियो । ‘मूल्य बढाउँदा पनि निगमलाई मासिक ४१ करोड ९६ लाख रुपैयाँ घाटा छ,’ गोइतले भने, ‘यहाँ मूल्य बढाए पनि भारतमा भन्दा सस्तो छ ।’

घाटा भए पनि मूल्य बढाउन सीमा तोकिएकोले धेरै बढाउन नसकेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘मूल्य घटबढ गर्ने निगमको सूत्र छ,’ भट्टराईले भने, ‘घाटाको रकम मूल्य स्थिरीकरण कोषबाट व्यवस्थापन गर्ने नीतिगत व्यवस्था छ ।’ मासिक घाटा एक अर्ब चार करोड रुपैयाँ पुगेपछि सरकारको परामर्शमा निगम सञ्चालक समितिले मूल्य बढाएको थियो । नेपालमा पेट्रोल भारतमा भन्दा लिटरमा १९ रुपैयाँ ४० पैसा, डिजेल २३ रुपैयाँ ९९ पैसा, हवाई इन्धन आन्तरिकतर्फ ११ रुपैयाँ ८१ पैसा सस्तो छ । भारतमा पेट्रोल खुद्रा बिक्री मूल्य लिटरको एक सय १७ रुपैयाँ ९० पैसा, डिजेल ९९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन ९८ रुपैयाँ ८१ पैसा छ ।

नेपाल आयल निगमले आइओसीबाट भने निकै सस्तोमा इन्धन खरिद गर्ने गरेको छ । सरकारले लगाउने विभिन्न कर, निगमले लिने शुल्कको कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । निगमले आइओसीसँग पेट्रोल लिटरको ५३ रुपैयाँ ९२ पैसा, डिजेल ५४ रुपैयाँ ८८ पैसा, मट्टीतेल ५३ रुपैयाँ ९५ पैसा, हवाई इन्धन ५२ रुपैयाँ ६९ पैसा लिटरका दरले खरिद गर्छ ।  खाना पकाउने ग्यास सिलिन्डरको ११ सय नौ रुपैयाँ ५८ पैसामा किन्छ ।

सरकारले लगाउने भन्सार शुल्क, सडक मर्मतसम्भार कर, बूढीगण्डकी जलविद्युतको लागि पूर्वाधार कर, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष, मूल्य अभिवृद्धि कर, ढुवानी भाडा, बिमा खर्च, निगमको प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, बिक्रेताको नाफासमेत जोड्दा निकै महँगो परेको हो । खरिद मूल्यभन्दा करिब दोब्बर मूल्यमा निगमले बिक्री गरिरहेकाले सरकारले लिने कर घटाए निगमले मूल्य घटाउन सक्ने निगमका अधिकारी बताउँछन् । बिलासी सामान बाहेक अति आवश्यक दैनिक उपभोग्य कुनै पनि वस्तुको मूल्यमा २० प्रतिशतभन्दा धेरै नाफा राखेर बेचे कालोबजारी भएको ठहर हुन्छ । इन्धनमा यो नियम लागू भएको छैन । अनावश्यक रुपमा विभिन्न शीर्षकका कर घटाएर उपभोक्तालाई सस्तोमा इन्धन उपलब्ध गराउनुपर्ने उपभोक्ता अधिकारकर्मी बताउँछन् । 

 

प्रकाशित: २९ मंसिर २०७४ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App