१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिटौलालाई हारको संयोग

झापा- २०४८ यताका हरेक निर्वाचन  लड्दै आएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको चुनावी यात्रामा एउटा संयोग सधैं दोहोरिने गरेको छ । एउटा निर्वाचनमा जित र अर्कोमा हार । उनको चुनावी नतिजाको सो क्रम यसपट पनि दोहोरिएको छ । अघिल्लो चनावमा जितेका सिटौला यसपटक झापा–३ मा हारको संयोग सहन बाध्य भएका छन् । 

‘तीन दल एकातिर हामी एक्लै एकातिर हुने अवस्थामै डर थियो । तर, उहाँले जसरी पनि प्रत्यक्षमै लड्ने हठ देखाउँदा राप्रपासँग गठबन्धन झापामा टुट्यो । अन्य क्षेत्रमा पनि सहयोग भएन ।’

वाम गठबन्धनको समर्थनमा सिटौलासँग चुनाव लडेका राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले यसपटक सिटौलासँग पुरानो हारको बदला लिएका छन् । लिङ्देनले सिटौलालाई १२ हजार नौं सय ९१ मत अन्तरले पराजित गरेका हुन् । लिङ्देनले ४३ हजार ११ मत प्राप्त गर्दा सिटौलाले ३० हजार २० मत प्राप्त गरे । यसअघि सिटौलासँग दुईपटक चुनाव लडिसकेका लिङ्देनले २०७० मा निकटतम प्रतिस्पर्धीको हैसियत बनाएका थिए । तेस्रोपटकमा उनले पुराना प्रतिस्पर्धीलाई पछि पारेका छन् । 
२०४८ को निर्वाचनमा एमालेका नेता द्रोणाचार्य क्षेत्रीसँग पराजित बनेका सिटौलाले २०५० को उपनिर्वाचनमा भने सफलता पाएका थिए । एमाले नेता क्षत्रीको निधन भएपछि भएको उपनिर्वाचनले सिटौलाको सिंहदरबार यात्राको ढोका खोलेको थियो । त्यसपछिका हरेक चुनावमा  एकमा जित अर्कोमा हार सिटौलाले सामना गरेको घुम्ती थियो ।  
उपनिर्वाचन भएको केही समय नबित्दै २०५१ मा भएको मध्यावधि निर्वाचनमा उनले एमालेका पुष्प पोखरेलसँग  पराजित बने । २०५६ को निर्वाचनको मुखैमा एमाले विभाजित बनेको बेलामा कांग्रेसले झापाका छ मध्ये तीन क्षेत्रमा जित दर्ता ग¥र्यो । त्यसमध्ये सिटौला पनि एक थिए । २०५६ को चुनावमा प्राप्त जित सिटौलाका लागि राजनीतिक उचाइका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । 
कोइराला परिवारसग निकट सम्बन्ध बनाएर कांग्रेस राजनीतिमा स्थापित बनेका उनी त्यसपछि लगातार राजनीतिको केन्द्रमा रहे । २०६४ को पहिलो संविधानसभा निर्वाचन हुँदा उनी सरकारमा शक्तिशाली गृहमन्त्री थिए । त्यहिबेला उनी माओवादी नेता पूर्णसिंह राजवंशीसग पराजित बने । तर, २०७० को दोस्रो संविधानसभा चुनावमा भने उनले जित हात पारे । चुनावमा एकै संयोगको सिकार बन्दै आएका सिटौला यसपटक सुरुदेखि नै पछि परिरहेको अवस्थामा थिए । झापा ३ को मत गणना भैरहेको जिसस कार्यालयभन्दा एक किलोमिटर दूरीमा रहेको घरैमा रहेका सिटौला गणनास्थलमा एकपटक पनि झुल्किएनन् । 
झापा ३ मा प्रतिनिधिसभाको उम्मेदवारी राप्रपालाई दिने र उनलाई समानुपातिकतर्फ राख्ने पार्टी नेतृत्वको निर्णयविरुद्ध उभिएका उनकै कारण झापामा काङ्ग्रेस राप्रपा गठबन्धन टुटेको थियोे  । ‘समानुपातिकबाट सांसद बन्ने सजिलो बाटो मेरो प्राथमिकता होइन,’ सिटौलाले लगातार भन्दै आएका छन् ‘त्यसैले प्रत्यक्ष नै उठेर म विजेता बन्ने हो ।’  उनले यस्तो आत्मविश्वास देखाएको क्षेत्रमा मत भने उनको अपेक्षाअनुसार आएन । 
पार्टीको पछिल्लो महाधिवेशनमा तेस्रो गुट जन्माएर पार्टीभित्र प्रभाव जमाउँदै लगेका सिटौलाको हठका कारण चुनाव हारेको भन्दै कार्यकर्ताले आक्रोश पोखेका छन् ।  ‘तीन दल एकातिर हामी एक्लै एकातिर हुने अवस्थामै डर थियो,’ झापा ३ का कांग्रेस कार्यकर्ता ज्ञानेन्द्र अधिकारीले भने, ‘तर, उहाँले जसरी पनि प्रत्यक्षमै लड्ने हठ देखाउँदा राप्रपासँग गठबन्धन झापामा टुट्यो । अन्य क्षेत्रमा पनि सहयोग भएन ।’ 

प्रकाशित: २६ मंसिर २०७४ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App