१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

२० नेताको ‘ह्याट्रिक’

काठमाडौं- शान्तिप्रक्रियापछि भएका तीनवटै निर्वाचनमा विजय प्राप्त गरी २० जनाले ‘ह्याट्रिक’ गरेका छन् । ह्याट्रिक गर्नेमा नेपाली कांग्रेस, नेकपा एमालेका साथै माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवारहरु छन् । सबैभन्दा बढी माओवादीका नेताहरुले ह्याट्रिक गरेका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका खगराज भट्टराईलाई हराउँदै  ह्याट्रिक विजेता बनेका हुन् । देउवाले २८ हजार ४ सय ४६ मत ल्याउँदा भट्ट २१ हजार ४ सय ९८ मतमा सीमित हुन पुगे । ०६४ मा डडेल्धुरा–१ र कञ्चनपुर–३ मा विजयी देउवा ०७० मा डडेल्धुरा–१ का साथै कैलाली–६ बाट विजयी भएका थिए । 
एमाले नेता झलनाथ खनालले पनि इलाम–१ बाट ३६ हजार ८ सय ५ मतसहित विजयी भई ह्याट्रिक गरेका छन् । उनले कांग्रेसका भुपेन्द्र कटुवाल (१९ हजार ६ सय ३८ मत) लाई हराएका हुन् । यसअघि ०७० र ०६४ मा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०७० मा उनी सर्लाही–१ मा भने पराजित भएका थिए ।
हरेक निर्वाचनमा क्षेत्र फेर्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले यसपटक चितवन–३ बाट जितेर ह्याट्रिक गरे । उनी ०६४ मा रोल्पा–१ र काठमाडौं–१० बाट विजयी भएका थिए भने ०७० मा काठमाडौं–१० मा पराजित भए पनि सिरहा–५ बाट विजयी भएका थिए । यसपटक राप्रपाका विक्रम पाण्डेलाई ३८ हजार ३ सय ५ मतमा सीमित राखेर दाहालले ४८ हजार २ सय ७६ मतसहित  ह्याट्रिक गरेका हुन् ।
यस्तै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले गोरखा–२ बाट माओवादीका नारायणकाजी श्रेष्ठलाई हराएर ह्याट्रिक गरेका छन् । भट्टराईले ३१ हजार ८ सय ७ मत र श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए । भट्टराई ०६४ र ०७० मा गोरखाबाटै विजयी भएका थिए । 
यस्तै इलाम–२ बाट निर्वाचित एमाले नेता सुवास नेम्बाङ पनि ह्याट्रिक गर्न सफल भएका छन् । नेम्बाङ ३६ हजार ५ सय १७ मत ल्याएर विजयी भए । ०७० र ०६४ मा पनि उनी इलामबाटै निर्वाचित भएका थिए ।
संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ मा माओवादी केन्द्रका उमेश यादवलाई हराउँदै  ह्याट्रिक गर्न सफल भएका छन । यादव ०६४ मा सुनसरी–५ र मोरङ–५ बाट विजयी भएका थिए भने ०७० मा सुनसरी–५ मा विजयी भए पनि मोरङ–५ मा पराजित भएका थिए । यसपटक उनले २१ हजार ६ सय २० मत ल्याए भने प्रतिस्पर्धी माओवादीका यादवले ११ हजार ५ सय ८० मत ल्याए ।
उता, एमालेका विष्णु पौडेलले रुपन्देही–२ बाट ४४ हजार ९ मत ल्याउँदै ह्याट्रिक गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका युवराज गिरीले २१ हजार ४ सय ९६ मत ल्याएका थिए । उनी ०६४ र ०७० मा रुपन्देहीबाटै विजयी भएका थिए ।
नवलपरासी पूर्व–१ बाट ४० हजार ६ सय २० मतसहित विजयी भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला पनि ह्याट्रिक गर्ने नेतामा पर्छन् । ३६ हजार ५ सय ९६ मत ल्याउने माओवादीका भविश्वर पराजुलीलाई पराजित गरेका डा. कोइराला ०६४ र ०७० मा पनि विजयी भएका थिए ।
दाङ–२ वाट विजयी हुने माओवादी केन्द्रका कृष्णबहादुर महरा पनि ह्याट्रिक गर्नेमा पर्छन् । उनी ०६४ र ०७० मा दाङबाटै विजयी भएका थिए । यसपटक ४० हजार ४२ मतसहित विजयी भएका महराले कांग्रेसका उम्मेदवार राजु खनाललाई २५ हजार ८ सय ९७ मतमा सीमित गराउँदै ह्याट्रिक गरेका हुन् । 
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पनि ह्याट्रिक गर्न सफल भएका छन । उनले महोत्तरी–१ बाट २३ हजार ७ सय ७६ मत ल्याउँदा प्रतिस्पर्धी १९ हजार ४ सय ९० मत ल्याएर फोरमका लक्ष्मी महतो दोस्र्रो स्थानमा सीमित भए । यसअघि उनी ०७० र ०६४ मा पनि महोत्तरीबाटै विजयी भएका थिए । उनी ०६४ मा जनमोर्चा नेपालबाट प्रतिस्पर्धी थिए ।
कांग्रेसका डा. रामबहादुर बिसीलाई ३२ हजार ५ सय ४४ मतमा सीमित राखेर ५० हजार ८ सय ३७ मतसहित विजयी माओवादीका टोपबहादुर रायमाझीले पनि अर्घाखाँचीबाट विजयी भई ह्याट्रिक गरेका छन् । उनी ०६४ र ०७० मा पनि सोही जिल्लाबाट विजयी भएका थिए ।
माओवादीकै प्रभु साह पनि कांग्रेसका सुनिलकुमार यादवलाई हराउँदै ‘ह्याट्रिक’ गर्न सफल भएका छन् । रौतहट–३ बाट विजयी उनी ०६४ र ०७० मा पनि विजयी भएका थिए ।
माओवादी केन्द्रका अर्का उम्मेदवार अग्निप्रसाद सापकोटा पनि मोहनबहादुर बस्नेतलाई हराउँदै ह्याट्रिक गर्न सफल भएका छन् । सिन्धुपाल्चोक–२ बाट बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याउँदा सापकोटाले ४० हजार ५ सय ४ मत ल्याए । उनी ०६४ र ०७० मा पनि सोही जिल्लाबाट विजयी भएका थिए । 
एमालेका रवीन्द्र अधिकारी पनि ह्याट्रिक गर्ने नेताको सूचीमा परेका छन । उनले २७ हजार २ सय ७ मतसहित कास्की–२ बाट ह्याट्रिक गर्दा प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए । उनी ०६४ र ०७० का निर्वाचनमा पनि कास्कीबाटै विजयी भएका थिए । 
पश्चिम रुकुमबाट विजयी माओवादीका जनार्दन शर्माले पनि ह्याट्रिक गरेका छन् । उनी ०६४ र ०७० मा पनि रुकुमबाटै विजयी भएका थिए । यसपटक ३४ हजार ४ सय २ मतसहित विजयी भएका शर्माले कांग्रेसका गोपालजीजंग शाहलाई पराजित गरेका हुन् । शाहले १५ हजार ६ सय ५९ मत ल्याए ।
नेपाली कांग्रेसका नारायण खड्काले पनि उदयपुर–१ बाट ह्याट्रिक गरेका छन् । खड्काले ३३ हजार १ सय ४२ मत ल्याई एमालेकी मञ्जुकुमारी चौधरी (३२ हजार ५ सय ९४ मत) लाई पराजित गरे । उनी ०६४ र ०७० पनि विजयी भएका थिए ।
काठमाडौं–१ मा विवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्रलाई हराउँदै कांग्रेसका प्रकाशमान सिंहले पनि ह्याट्रिक गरेका छन् । सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्र १० हजार १ सय १८ मतमा सीमित भए । सिंह ०७० र ०६४ मा सोही क्षेत्रबाट विजयी भएका थिए । माओवादीका टेकबहादुर बस्नेत पनि ह्याट्रिक गर्ने नेतामा पर्छन् । उनले सल्यानबाट कांग्रेसका राजेन्द्रबहादुर शाहलाई हराए । यसअघि ०७० र ०६४ मा पनि उनी विजयी भएका थिए । 
बर्दिया–२ बाट ५० हजार ५ सय ५४ मतसहित विजयी भएका सन्तकुमार थारु पनि ह्याट्रिक गर्ने नेतामा पर्छन् । यसअघि तत्कालीन बर्दिया–३ बाट ०६४ र ०७० मा उनी विजयी भएका थिए ।
कपिलवस्तु–३ मा संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्तालाई पराजित गर्दै विजयी कांग्रेसका अभिषेकप्रताप शाह पनि ह्याट्रिक गर्नेमा पर्छन् । तत्कालीन मधेसी जनअधिकार फोरमबाट कपिलवस्तु–५ मा दुईपटक विजयी उनी यसपटक कांग्रेसबाट उम्मेदवार थिए । 

प्रकाशित: २६ मंसिर २०७४ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App