१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यस कारण हार्‍यो काँग्रेस

काठमाडौं – संविधानसभाबाट नयाँ संविधान बनेपछि भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको छ । एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि कांग्रेसका प्रभावशाली नेताहरू नै निर्वाचनमा पछारिए। 

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने अड्कल गरिएका कांग्रेसका नेताहरू नै पराजित भए । ढुक्कसँग चुनाव जित्ने विश्लेषण गरिएका क्षेत्रमै पराजय बेहोरेको छ कांग्रेसले । सबैभन्दा धेरै आश गरेको प्रदेश नम्बर ७ को परिणाम पनि कांग्रेसको पक्षमा आएन । त्यसमा पनि कैलाली, कञ्चनपुरमा कांग्रेस शून्य बन्न पुगेको छ । कांग्रेस राजनीतिको विरासत नै मानिएको मोरङमा पार्टी एक सिटमा सीमित बन्न पुगेको छ।

किन हा¥यो त कांग्रेस ? संसद्का दोस्रो र तेस्रो दल चुनावी तालमेल गरेर जाने निर्णयपछि त्यसमा नअटेका दललाई समेटेर कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने प्रयास गरेको थियो । तर, त्यसमा ऊ सफल हुन सकेन । त्यसको असर प्रदेश दुईमा सबैभन्दा धेरै परेको छ । दुई राप्रपासँग चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय निर्णयलाई नेता कृष्णप्रसाद सिटौलाले भंग गर्दा त्यसको असर झापामा प्रत्यक्षरुपमा परेको छ । त्यसले तालमेल भएका ठाउँमा पनि आशंका जन्मायो। 

दुई ठूला दल तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका बेला  कांग्रेसले मतदातालाई आकर्षण र भरोसा जगाउन सकेन। 

मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिर्वतनका लागि विगतमा आफूले दिएको योगदानको चर्चा गर्न पनि कांग्रेसले सकेन । वर्तमानमा आशा देखाउन र भविष्यप्रतिको भरोसा जगाउन नसक्दा पनि नयाँ मतदाता कांग्रेससँग टाढा बने । सरकार गठन र विघटनको खेलबाट आजित जनता ‘स्थिर सरकार र आर्थिक समृद्धिका लागि मतदान’ भन्ने वाम गठबन्धनको नाराले प्रभावित हुनपुगे।

भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला हाम्रो पोजिसनले जनताको ठूलो पंक्ति आक्रोशित बनेको सुनाउँदै कांग्रेस नेता गगनकुमार थापाले भने, ‘कतिपय सही निर्णय गर्‍यौं तर जनतामा पुर्‍याउन सकेनौं।’ 

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको छवि जनतामा सकारात्मक छैन । निर्वाचन प्रचारमा देश दौडाहामा निस्केका देउवालाई जनताले पत्याएनन् । त्यतिमात्र होइन उनले पार्टीले गरेको र गर्न खोजेका काम र योजनालाई राम्रोसँग बुझाउन पनि सकेनन् वा खोजेनन् । उनले डरको राजनीतिलाई निर्वाचनको मुख्य अस्त्र बनाए । तर, जनताले त्यसलाई विश्वास गरेनन् । जनतालाई भरोसा जगाउने र प्रभावित गर्नसक्ने नेताको खडेरी कांग्रेसमा देखियो ।
मतदातालाई हिजो कसले के गर्‍यो भन्दा पनि भोलि के गर्छ भन्ने कुराले प्रभावित गर्ने जनाउँदै थापाले भने, ‘यो निर्वाचनमा जनतालाई यस्तो गर्छौं भनेर हामीले भरोसा जगाउनै सकेनाैँ।’

त्यस्तै, वाम गठबन्धनभित्रको असन्तुष्टिको फाइदा उठाउन पनि कांग्रेसले सकेन । दुई दलका नेताकार्यकर्ता मिल्दा निर्णायक हैसियत राख्ने मतदाता पनि वाम गठबन्धनतिर जान्छन् भन्नेतर्फ कांग्रेसले आकलनसम्म गर्न सकेन । राजनीतिक संस्कार, लगानी र मूल्यमान्यताभन्दा ठूला नेतालाई प्रभाव पार्नसक्ने व्यक्ति पार्टीमा हाबी हुँदा कांग्रेसप्रति जनताको मोह भंग हुनपुगेको अवस्थामा चुनावमा जानुपर्दा कांग्रेसलाई घाटा भयो। 

त्यस्तै एमाले र माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याउँदा कांग्रेस पक्ष वा विपक्षमा उभिन सकेन । महाभियोग प्रस्ताव दर्ता भएकाले त्यसको पक्ष वा विपक्षमा नउभिनुको कारण उसले जनतालाई बुझाउन सकेन । त्यसबाट भड्केका मतदातालाई तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा पेस महाभियोग प्रस्तावले झन् रुष्ट बनायो । सहरिया मतदाता पनि बिच्किए।

वामपन्थी दुई ठूला दल मिलेर निर्वाचनमा गएको अवस्थामा कांग्रेसले पाएको मतलाई अस्वाभाविक मान्न नहुने बताउँदै थापा विगत चार वर्षमा संविधान निर्माण, शान्ति प्रक्रिया टुंगो लगाउनेलगायत जिम्मेवारीमा अल्झिनुपर्दा पनि पार्टीले सांगठनिक विस्तार गर्न नसकेको बताउँछन् । ‘पार्टीका केही गलत निर्णय भए, हामीले गरेका राम्रा काम पनि जनतामाझ पु¥याउन सकेनौं । पार्टी नेतृत्वप्रति चरम अविश्वास र समयमा सही निर्णय गर्न नसक्नुको परिणाम पनि निर्वाचनमा हार हो,’ उनले भने, ‘सेन्ट्रल म्यासेज लिएर हामी जान सकेनौं ।’

संविधानप्रति असन्तुष्ट मधेसी, आदिवासी जनजातिका मागलाई सम्बोधन गर्न कांग्रेस संविधान संशोधनको पक्षमा उभियो । प्रदेश सीमांकनसहित संविधान संशोधन प्रयास गर्दा असन्तुष्ट पक्षको पनि साथ र सहयोग रहेन भने विपक्षमा रहेकाले पनि साथ छाडे । मधेसको पक्ष लिँदा पहाडका मतदाता रिसाए । मधेसका समस्या समाधान गर्न पार्टीले गरेको प्रयास मतदातासम्म पुर्‍याउन नसक्दा त्यहाँ जनताले कांग्रेसलाई विश्वास गरेनन् । जसले गर्दा कांग्रेसलाई पहाड वा मधेस दुवैको साथ रहेन। 

लामो संघर्ष र समृद्ध विगत भएकाले प्रवृत्ति बदले कांग्रेसलाई फेरि पनि जनताले अवसर दिने थापाले दाबी गरे। ‘गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ र आफूलाई कहाँ सच्याउने भन्ने थाहा पाउनुपर्छ त्यसलाई प्रण गरेर काम अघि बढाउनुपर्छ अब त्यो बेला आयो,’ उनले भने।

कांग्रेसमा २०१५ सालबाट सुरु भएको अन्तर्घातलाई २०५० सालको उपनिर्वाचनले संस्थागत गरेको थियो । तर, पार्टी स्थापनाको ७० वर्षमा तुलनात्मक रुपमा अहिले सबैभन्दा बढी एकताबद्ध भएर कांग्रेसले निर्वाचनको सामना गरे पनि परिणाम अनपेक्षित आयो।

प्रकाशित: २५ मंसिर २०७४ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App