१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिटौलालाई संयोग दोहोरिने चिन्ता

झापा-  २०४८ यताका हरेक निर्वाचन  लड्दै आएका काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाको चुनावी यात्रामा  एउटा  संयोग सधैं दोहोरिने गरेको छ। एउटामा जीत अर्कोमा हार, सिटौलाको राजनीतिक जीवनको नियती जस्तै भइसकेको छ । यसपटक उनी त्यो पुरानो संयोग उल्ट्याउन संघर्षरत छ्न।

दुई दिनयता जारी प्रतिनिधि सभाको मतगणनाका क्रममा नेता सिटौला लगातार पछि परिरहेका छ्न। राप्रपाका महामन्त्री राजेन्द्र लिंगदेनले अग्रता फराकिलो बनाउँदै लगेपछि सिटौला र उनका समर्थक चिन्तित छ्न । यसले   सिटौलामा चुनावी संयोग दोहोरिने खतरा बढेको छ। 

२०४८ को निर्वाचनमा एमालेका नेता द्रोणाचार्य क्षेत्रीसंग पराजित बनेका सिटौलाले २०५० को उपनिर्वाचनमा भने सफलता पाए । एमाले नेता क्षेत्रीको निधन भएपछि भएको उपनिर्वाचनले सिटौलाको सिंहदवार यात्राको ढोका खोलेको थियो । त्यसपछिका हरेक चुनावमा  एकमा जीत अर्कोमा हार सिटौलाले सामना गरेको घुम्ती थियो ।   उपनिर्वाचन भएको केहि समय नबित्दै २०५१ मा भएको मध्यावधी निर्वाचनमा सिटौला एमालेका पुष्प पोख्रेलसँग फेरि पराजित बने। २०५६ को निर्वाचनको मुखैमा एमाले बिभाजीत बनेको बेलामा काङ्ग्रेसले झापाका ६ मध्ये ३ क्षेत्रमा जीत दर्ता गर्यो । त्यसमध्ये सिटौला पनि एक थिए । २०५६ को चुनावमा प्राप्त जीत सिटौलाका लागि राजनीतिक उचाई अग्ल्याउने टर्निङ प्वाइन्ट बन्यो।

 कोइराला परिवारसँग निकट सम्बन्ध बनाएर काङ्ग्रेस राजनीतिमा स्थापित बनेका उनी त्यसपछि लगातार राजनीतिको केन्द्रमा रहे । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा देश जादै गर्दा उनी सरकारका शक्तिशाली गृहमन्त्री थिए । त्यहिबेला उनी माओवादी नेता पुर्णसिंह राजवंशीसँग पराजित बने । तर, २०७० को दोश्रो संविधानसभा चुनाबमा भने उनले जीत हात प्राप्त गरे । चुनावमा एकै संयोगको सिकार बन्दै आएका सिटौला यसपटक सुरुदेखि नै पछि परिरहेको अवस्थामा छ्न्। 

झापा ३ को मत गणना भैरहेको जिसस कार्यालयभन्दा एक किलोमीटर दुरिमा रहेको घरैमा रहेका सिटौला गणनास्थलमा एक पटक पनि झुल्किएका छैनन । शनिबार साझसम्मको गणना अनुसार सिटौला ८ हजारभन्दा बढी मतले पछि परेका छ्न । एमाले, माओवादी र राप्रपासहितको तीन दलिय घेरामा परेका उनी   लगातार पछि परेपछि गणनास्थलमा समर्थकको उपस्तिथि कम भएको छ । 

झापा ३ मा प्रतिनिधि सभाको उम्मेदवारी राप्रपालाई दिने र उनलाई समानुपातिक तर्फ राख्ने पार्टी नेतृत्वको निर्णयविरुद्ध उभिएका उनकै कारण झापामा काङ्ग्रेस राप्रपा गठबन्धन टुटेको थियो। "समानुपातिकबाट सांसद बन्ने सजिलो बाटो मेरो प्राथमिकता होइन," सिटौलाले लगातार भन्दै आएका छन " त्यसैले प्रत्यक्ष नै उठेर म विजेता बन्ने हो ।"  

उनले यस्तो आत्मविश्वास देखाएको क्षेत्रमा मत भने उनको अपेक्षा अनुसार आएको छैन । शनिबार साझसम्ममा राप्रपाका राजेन्द्र लिंगदेनले २३ हजार ६ सय ५३ मत ल्याएर अग्रता बडाइरहेका छ्न । सिटौलाको भने १५ हजार ९ सय २६ मत छ ।

 

प्रकाशित: २४ मंसिर २०७४ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App