१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मतगणनाका कारण सदरमुकामका होटलमा भ्याई नभ्याई

जिविस चोक स्थित साकाहारी खाजा पाईने सानो होटलमा आईतबार साँझ खाजा खानेहरुको भिड। तस्बिर: टंकबहादुर क्षेत्री

सर्लाही- प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत जिल्ला स्थित सबै क्षेत्रको मतगणना सदरमुकाम मलंगवामा भईरहेकाले तीन दिनयता यहाँका होटल सञ्चालकलाई भ्याई नभ्याई छ।

मतदानको दिन बिहीबार साँझसम्म सुनसान होटलहरु सोही रातीबाट एकाएक ग्राहकले भरिभराउ हुन पुगे। शुक्रबार बिहान ५ बजेदेखि राती १० बजेसम्म सदरमुकाम स्थित सबै होटलहरु ग्राहकले खचाखच देखिन्छ। चिया र शाकाहारी खाजा मात्र हैन साँझ परेपछि मदिरा सहित मांसाहारी ग्राहकको चापले होटल सञ्चालक जति खुसी छन् कामदारलाई भने भ्याई नभ्याई छ।

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन अन्तर्गत जिल्ला स्थित ४ वटा क्षेत्र तथा ८ प्रदेश सभाको मतगणना भईरहेकाले जिल्लाभरका राजनैतिक कार्यकर्ताहरुको मलंगवामा ओईरो लागेकाले होटल र लजको व्यापार ह्वात्तै बढेको छ ।

‘तीन दिनयता ग्राहकको चापले भ्याई नभ्याई छ’ जिविस चोक स्थित साकाहारी होटल सञ्चालक मिश्रीलाल महतोले भने, ‘अन्य समयको भन्दा तीनगुणा बढी व्यापार छ ।’ सामान्यतया दैनिक ५ हजारको व्यापार हुने भएपनि अहिले २० हजारसम्मको विक्री भईरहेको जिविस चोक स्थित सानो झुपडीमा साकाहारी होटल चलाईरहेका महतोले बताए। पकौडा, बच्का, पुरी तरकारी, समोसा लगायत पाईने उनको होटलमा बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म ग्राहकको भिड लाग्ने गर्दछ । ‘अरु बेला स्थानीय ग्राहकको मात्र भर थियो’, महतोले भने, ‘अहिले जिल्लाभरबाट नेता कार्यकर्ता थुप्रिएका छन्, त्यसैले भ्याई नभ्याई छ।’

त्यस्तै साँझ ५ बजेपछि राती अबेरसम्म भने मांसाहारी खाजा र खाना अनि मदिरा खाने ग्राहकको भिड लाग्दा ठूला होटलवालाहरु दंग देखिन्छन् । ‘अघिपछि सुनसान जतिकै हुन्थ्यो’, जिविस चोक स्थित चन्दन होटलका सञ्चालक चन्दनले भने, ‘तीन दिनयता साँझदेखि रातीसम्म ग्राहकको चाप लाग्ने गरेका कारण व्यापार निकै बढेको छ।’

खाना र खाजा खुवाउने होटल मात्र हैन रात्री बासका लागि लज समेत भरिभराउ छन् । ‘राती बास बस्ने कोठा समेत पाउन मुस्किल भएको छ’ लालबन्दीबाट आएका एमाले कार्यकर्ता नवराज मिश्रले भने, ‘खाना र खाजा खाने होटलमा जाँदा बस्ने ठाउँ पाउन पनि कुर्नु पर्ने अवस्था छ ।’ मलंगवामा करिब ५ दर्जन साना तथा ठूला होटल एवं १ दर्जन लज रहेका छन्।

 

 

प्रकाशित: २४ मंसिर २०७४ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App