१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

साहित्यिक अभियन्ता : महाश्वेता

मनीष घटक २५ वर्षका थिए, धरित्रीदेवी थिइन् १८ वर्षकी। १४ जनवरी १९२६ मा ढाकामा महाश्वेतादेवी जन्मिइन्। बुवा कवि, आमा गम्भीर साहित्यप्रेमी। अन्य बालबालिकाझैँ महाश्वेता पनि पढाइमा व्यस्त भइन्। उनको जीवनमा १९३६ को ठूलो महत्व छ। त्योबेला उनी रविन्द्रनाथ टैगोरले सञ्चालन गरेको शान्तिनिकेतन महाविद्यालयमा भर्ना भएकी थिइन्। शान्तिनिकेतनमा अनुशासन र पढाइ अनि गीत–संगीत–नाटक–चित्रकलामा एकसाथ प्रेम बस्यो उनको। जीवनका कलामध्ये प्रकृतिप्रेम सबैभन्दा ठूलो कला हो भनी कलिलो मस्तिष्कमा त्यहाँ हालिन्थ्यो। स्वयं रविन्द्रले बाङ्ला भाषा पढाउँथे, कहिलेकाहीँ उनको आकस्मिक भाषण सुन्न पाउँथिन् महाश्वेताले, तर शान्तिनिकेतनसँगको साहचर्य तीन वर्षमात्र रह्यो। गर्भवती आमाको रेखदेखका लागि उनी कोलकाता फर्कनुपर्‍यो। त्यसपछि उनी १३ वर्षको कलिलो उमेरमै पाँच जना स–साना भाइबहिनाका अभिभावक बन्नुपर्‍यो।

शान्तिनिकेतनबाट फर्किएपछि कोलकाताको बेलतला बालिका विद्यालयमा ८ कक्षामा भर्ना भएकी महाश्वेताको जीवनले अर्को कोल्टे फेर्‍यो। खगेन्द्रनाथ सेनले ‘रंग मशाल’ साहित्यिक पत्रिका निकाल्थे। खगेन्द्रकी बहिनी अपर्णा सेन बेलतला स्कुलकी शिक्षिका थिइन्। पढाइमा तेज महाश्वेतालाई उनले पत्रिकाका लागि केही लेख्न भनिन्। रविन्द्रनाथको पुस्तक ‘छेलेबेला’माथिको टिप्पणी महाश्वेताको जीवनको पहिलो प्रकाशित लेख थियो। लेखनी शसक्त भएको भन्दै केही शिक्षक र विद्यार्थीले प्रशंसा गरेपछि महाश्वेता र साथीहरू मिलेर ‘छन्नछाडा’ नामक भित्ते पत्रिका निकाले।

उनकी हजुरआमाले सानै उमेरमा किताब पढ्नुको महत्व बुझाएकी थिइन्। बाङ्ला साहित्यका त्योबेलाका चर्चित पुस्तकहरू १२ वर्षकै उमेरमा पढेर सिध्याएकी थिइन्। हजुरआमाले भन्थिन्, ‘देशप्रेमका पुस्तक सुरुमा पढ, पछि आफूलाई मनपर्ने जे पढे पनि हुन्छ।’ त्योबेला पढ्नुबाहेक मनोरञ्जनका अन्य सहज साधन केही थिएनन्। त्यसैले नयाँ स्कुल छिर्नेबित्तिकै उनलाई शिक्षक–शिक्षिकाले अंग्रेजी क्लासिक साहित्य पढ्न उक्साए। त्यसो त आफ्नै बुवाको पनि गज्जबको पुस्तकालय थियो।

१९४२ मा भारत छोडो आन्दोलन भयो। त्योबेलाको किशोर मनमा यस आन्दोलनले ठूलो प्रभाव पार्‍यो। त्यस्तै, १९४३ मा बाङ्ला क्षेत्रमा ठूलो खडेरी पर्‍यो। त्योबेला राहत र सेवामा उनी सक्रिय रहिन्। आफ्नै आँखाअगाडि राहत कार्यकै बेला मानिस खडेरीले मरेको देख्दा उनलाई गहिरो प्रभाव पर्‍यो। कम्युनिस्ट सिद्धान्तबाट निकै प्रभावित भएकी महाश्वेता पछि कम्युनिस्ट पार्टीको मुखपत्र ‘पिपुल्स वार’ र ‘जनयुद्ध’जस्ता पत्रिका बेच्न थालिन्। उनी पार्टीको सदस्यचाहिँ कहिल्यै भइनन्।

१९४४ मा उनले कोलकातास्थित आशुतोष कलेजबाट प्रवीणता प्रमाणपत्र तह पास गरिन्। आफूपछिकी बहिनी मितुलले घर सम्हाल्न थालेपछि उच्च शिक्षाका लागि उनी पुनः शान्तिनिकेतन गइन्। ‘देश’ नामक पत्रिकामा त्यहीबेला महाश्वेताका तीन कथा प्रकाशित भए। कथा प्रकाशित भएपछि १० रुपैयाँ पारिश्रमिक पाउँदा उनी ज्यादै प्रसन्न भइन् र पहिलोपटक बोधसमेत भयो, लेखेर पनि बाँच्न सकिने रहेछ!

१९४६ मा अंग्रेजी साहित्यमा स्नातक भएपछि १९४७ मा त्यसबेलाका चर्चित रंगकर्मी विजन भट्टाचार्यसँग उनको बिहे भयो। विजन कम्युनिस्ट पार्टीका सदस्य थिए। त्यस समय समाजमा कम्युनिस्टलाई हेयभावले हेरिन्थ्यो। त्यसैले विजनले कुनै काम पाएका थिएनन्। घरव्यवहारको जिम्मा महाश्वेताकै थियो। सन् १९४८ मा पदमपुकुर इन्स्टिच्युसनमा शिक्षण गर्न बाध्य भइन्। त्यही समय नवारुण जन्मिए। १९४९ मा भने केन्द्र सरकारको डिप्टी एकाउन्टेन्ट जनरल, पोस्ट एन्ड टेलिग्राम अफिसमा क्लर्कको जागिरे भइन्। पति कम्युनिस्ट भएको आरोपमा उनी जागिरबाट निकालामा परिन्। रोइकराइ गरेर जागिर थमौती गरे पनि उनको अस्थायी जागिर भएकाले पुनः षड्यन्त्र गरी निकालियो। यस्तो अप्ठेरो अवस्थामा साबुन बेचेर, ट्युसन पढाएर जीवन गुजारा गरिन्। पछि १९५७ मा रमेशमित्र बालिका विद्यालयमा शिक्षणको काम पाइन्।

यिनै र यस्तै संघर्षको बलले उनलाई राम्रो लेखिका बनाउन सहयोग गर्‍यो। आफूलाई सान्त्वना दिन विश्वविख्यात लेखक–चिन्तकका लेखहरू पढ्थिन्। त्यहीबेला इलिया एरेनबर्ग, अलेक्सी टोल्सटोय, गोर्की, चेखभ, सोल्झेनित्सिन, मायाकोब्स्की र रुसका कैयौँ चर्चित लेखकका साहित्य पढिन्। उनले मार्क्स र लेनिनचाहिँ कहिल्यै पढिनन्। पति र छोराले पनि पढ्न जोड नदिएका होइनन्, तर उनी भन्थिन्, ‘मलाई तिनको सिद्धान्त पढ्नु छैन, मैले दरिद्रता, भोक, विवशता र शोषणको जिन्दगी नजिकबाटै देखिसकेकी छु।’

पति विजनलाई पछि एउटा हिन्दी फिल्मको कथा लेख्न मुम्बई निमन्त्रणा गरियो, महाश्वेता पनि उनीसँगै गइन्। मुम्बईमा महाश्वेताका ठूलो मामा सचिन चौधरी थिए। त्यहीँ उनले बीडी सावरकरको जीवनी पढिन् र यति प्रभावित भइन् कि केही लेख्न उनलाई मनले झक्झक्याइरह्यो। यहीबेला उनको मनमा ‘झाँसी कि रानी’ उपन्यास लेख्ने विचार पलाएको थियो। त्योबेला लक्ष्मीबाईका बारेमा उपलब्ध सबै सन्दर्भ सामग्री जुटाइन्। ट्युसन पढाएर निस्केको फुर्सदमा उनले क्रमैसँग लेख्न थालिन्।

लेख्नुअघि शोधका लागि झाँसीकी रानीका भतिजा गोविन्द चिन्तामणिलाई पत्र लेख्दै उपन्यास पूरा गर्न सहयोग गर्न आग्रह गरिन्। नभन्दै ४ सय पेजको उपन्यास तयार भयो, तर उनलाई उपन्यास चित्त बुझेन। त्यसलाई च्यातेर फ्याँकिन्। झाँसी पुगेर अझै अनुसन्धान गर्नुपर्ने उनलाई लाग्यो। ६ वर्षको छोरो नवारुण र पतिलाई कोलकातामै छाडेर उनी झाँसी पुगिन्। त्योबेला पतिको कमाइ थिएन, आफूले ट्युसन पढाएर बचाएको पैसा पनि दैनिकीमै खर्च हुन्थ्यो। त्यसका लागि केही ऋण लिएर १९५४ मा झाँसी पुगिन्। बुन्देलखण्डका गल्लीगल्ली चहार्दै, त्यहाँका लोकगीत टिप्दै अनि यसअघि झाँसीकी रानीको जीवनी लेखिसकेका वृन्दावनलाल वर्मालाई पनि भेटिन्। त्यसपछि उनलाई जुन जोस आयो, त्यसका ज्वालामा सेकिँदै ‘झाँसीर रानी’ उपन्यास लेखिन्। त्यो उपन्यास खण्डखण्ड गर्दै ‘देश’ पत्रिकामा नियमित छापिन थाल्यो। न्यु एज प्रकाशनले पुस्तकका रूपमा छाप्न अग्रिम ५ सय रुपैयाँ दियो। यसरी महाश्वेतादेवीको पहिलो पुस्तक १९५६ मा बजारमा आयो। यसपछि बल्ल उनलाई आफू एउटा कथाकारका रूपमा स्थापित हुन सक्ने विश्वास पलाएर आयो। आफ्ना रचनामा इतिहास, भूगोल र लोकसंस्कृतिमा जोड दिनुपर्ने उनले बुझिन्। उनलाई लाग्यो, साहित्य भनेको कोरा कल्पनामात्र होइन, भूगोल, संस्कृति, दैनिकीको सजीव चित्रण हो र त्यसका लागि शोध नगरी सुखै छैन। यही विचारअनुरूप उनले लामो समय बिहार तथा बंगालका दुर्गम क्षेत्रमा बसोबास नै गरिन्। गरिब, पिछडा वर्ग तथा किनारीकृत वर्गका मान्छेसँगको सान्निध्यका कारण उनका रचनामा यी विषय प्रामाणिकरूपमा आएका छन्। उनले रचनामार्फत् सदा भुइँमान्छेको कथा दह्रो ढंगमा लेखिरहिन्। उनलाई साहित्यमा पछिल्लो समय बलशालीरूपमा आएको 'म्याजिकल रियालिज्म'मा कहिल्यै विश्वास गरिनन्। मान्छेका दुःख नै उनका लेखनका ऊर्जा बनिरहे। उनले सधैँ गैरव्यावसायिक पत्रपत्रिकामा आफ्ना रचना प्रकाशित गर्न मन पराइन्। तर पनि उनी पाठकमाझ निकै नै प्रिय रहिन्।

१९६२ मा विजनसँग पारपाचुके भयो। असित गुप्तसँग उनले अर्को विवाह गरिन्। तर, असितसँग पनि १९७५ मा सम्बन्ध विच्छेद भयो। यसपछि भने उनले गम्भीररूपमा लेखन र आदिवासीहरूबीच रहेर सिर्जनाकर्ममै रमाउने निर्णय गरिन्। उनले झारखण्ड, पश्चिम बंगाल र उडिसाका आदिवासीसँग धेरै वर्ष रहेर काम गरिन्। तिनकै कथाव्यथा लेखिन्। उनी सक्रिय सामाजिक हस्तक्षेपमा विश्वास गर्थिन्। उनलाई कहिल्यै सस्तो लोकप्रियताले लोभ्याउन सकेन। विसंगतिहरूले उनलाई लेख्न हुटहुटी जगाउँथे।

१९६४ मा महाश्वेतालाई विजयगढ ज्योतिष राय कलेजमा अध्यापनको निम्तो आयो। उनले त्यहाँ २० वर्षसम्म लगातार पढाइन्। सन् १९८४ मा स्वेच्छिक अवकाश लिइन्।

महाश्वेताका रचना जहिले पनि अन्यायविरुद्धको संघर्षको दस्तावेज बन्न पुगे। उनका कृति पढ्नु भनेको इतिहासका विभिन्न कालखण्डको समाज, त्योबेलाको व्यवस्था, जनभाषा र शोषक–शोषितबीचको संघर्ष बुझ्नु हो। ‘जंगलका दाबेदार’ उपन्यासमा उनले समाजमा व्याप्त मानवीय शोषण र त्यसविरुद्ध उम्लिएको विद्रोहलाई उम्दा तरिकाले रेखांकित गरेकी छन्। ‘अरण्येर अधिकार’मा बिरसा मुन्डाको कथालाई बेलायती साम्राज्यवादविरुद्ध आदिवासीको विद्रोह विगुलका रूपमा प्रस्तुत गरेकी छन्। बिरसाले अंग्रेजविरुद्ध लडेको लडाइँमा असफलता हात पारे पनि, आन्दोलनको पतन भए पनि त्यही नै अन्त्य नभएको सन्देश दिएकी छन्। यो पुस्तकले सन् १९७९ मा साहित्य अकादमी अवार्ड पायो। यो पुरस्कार पाएपछि मुन्डा समुदायले महाश्वेतालाई अभिनन्दन गर्‍यो।

पछि ‘चोटी मुन्डा और उसका तीर’ त आदिवासी समाजको वास्तविकता बुझ्न पढ्नैपर्ने कृति बन्यो। ‘अमृत सञ्चय’ उपन्यास करिब सयजना पात्र मिसाइ लेखिएको अद्भूत उपन्यास बनेको केहीको धारणा छ। प्रतिकूल अवस्थामा पनि जीवनप्रतिको सकारात्मकता र प्रतिरोधको जुन चेतना प्रस्तुत गरिएको छ, यस्तो कमै साहित्यकारमा पाइन्छ।

उनको ‘अग्निगर्भ’ गरिब किसान मजदुरबारेको अर्को सशक्त उपन्यास हो। त्यस्तै ‘हजार चौरासी की माँ’ नक्सल आन्दोलनप्रति एउटी आमाको दृष्टिकोण हो। अर्को उपन्यास ‘नील छवि’ समाजमा बढ्दो अश्लील फिल्मको नसा र लागु औषधप्रेमबारे चर्को टिप्पणी थियो।

महाश्वेतादेवीलाई धेरैले प्रेमचन्द र ताराशंकर बन्धोपाध्याय, मानिक बन्धोपाध्यायभन्दा माथि ठान्छन्। प्रेमचन्द र ताराशंकरले किसानलाई नायक बनाएका थिए, मानिकले माझीहरूलाई। त्यसभन्दा अगाडि गएर उनले जनजाति र आदिवासीका विद्रोह र विद्रोहीलाई नायक बनाइन्। उनले जहिले पनि आफ्ना कथामा समाजको शोषण, दोहन र उत्पीडनबाट मुक्त गराउने संघर्षशील नायकहरूलाई अगाडि ल्याइन्। उनले आदिवासी जनजातिका संस्कारले असामर्थ्य र डर उत्पन्न गरेको छ र त्यसले मन तथा चरित्रमा गहिरो असर पारेको साहित्यमार्फत् टिप्पणी गरेकी छन्।

महाश्वेता भन्छिन्, ‘साहित्यलाई भाषा शैली र शिल्पको मापदण्डमा राख्नु गलत हुन्छ। साहित्यको मूल्यांकन त इतिहासको परिप्रेक्ष्यमा हुनुपर्छ। पउनले १९८४ पछि लेखनलाई नै प्रमुख साधन बनाइन्। त्यसैबाट जीविका चलाइन्। उनले नाम चलेका पत्रिकामा लेख्दा कहिल्यै पनि साना पत्रिकालाई रचना दिन कञ्जुस्याइँ गरिनन्।

जीवनको उत्तरार्द्धमा पनि बिहान उठेदेखि राति नसुतुञ्जेल काममा व्यस्त रहने बानी थियो। यो संस्कार उनले शान्तिनिकेतनबाट सिकेकी थिइन्। उनले कठोर नियम पालन गरिन्। उनले जीवनमा मनोरञ्जनलाई कहिल्यै ठाउँ दिइनन्। प्रशंसा र पुरस्कारको लोभ गरिनन्। नयाँ कपडा किनेर दराजमा थन्क्याउने उनलाई कहिल्यै चासो भएन। सधैँ आफ्नो लेखनी, व्यवहार र कामले अरुलाई अहित नहोस् भनेर सचेत रहिन्।

सन् १९८० ताका उनले ‘वर्तिका’ पत्रिका सम्पादन थालिन्। यो पत्रिका उनका बुवा मनीष घटकले चलाउँथे। १९७९ मा बुवाको निधनपछि महाश्वेताले पत्रिकाको चरित्र नै परिवर्तन गरिदिइन्। पत्रिका पछि यस्तो मञ्च बन्यो, जहाँ साना किसान, खेती मजदुर, आदिवासी, कारखानामा काम गर्ने मजदुर, रिक्सा चालकले आफ्नो जीवनका बारेमा लेख्थे। यही पत्रिकामार्फत् आदिवासीले जीवनमा पहिलो पटक लेख्ने अवसर पाए। वर्तिकामार्फत् महाश्वेताले वैकल्पिक साहित्यिक पत्रिकारिताको जग बसाइन्।

महाश्वेता लेखिकामात्र थिइनन्, सामाजिक कार्यकर्ता, पत्रकार, वञ्चित समुदायलाई सेवा र सुविधा दिलाउने संगठक पनि थिइन्। लेखेरमात्र हुँदैन, गर्नु पनि पर्छ भन्ने मान्यता राख्थिन् उनी। उनले लगभग अढाइ सय कृति लेखिन्। त्यसमा जीवनका विविध रङलाई जीवन्त तुल्याएकी छन्। महाश्वेतादेवी कर्म र कथ्यमा रत्ति पनि फरक नगर्ने अभियन्ता थिइन्।

बीस कथा संग्रह, सयभन्दा बढी उपन्यासकी लेखिका उनले रामोन म्यागेसेसे पुरस्कारसहित भारतका चर्चित पुरस्कारहरू ज्ञानपीठ, पद्मश्रीलगायत पाएकी छन्। यिनका कतिपय साहित्य नेपाली भाषामा पनि अनुवाद भएका छन्। पछिल्लो समय यिनको चर्चित उपन्यास '१०८४ की माँ' नेपालीमा अनुवाद भएको छ। यिनै साहित्यकारको गत २३ जुलाईमा कोलकातामा निधन भयो।

स्रोतः हिन्दी समय

प्रकाशित: २२ श्रावण २०७३ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App