१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

प्रशासकको पञ्चायत संस्मरण

पञ्चायतकालमा दरबारका सचिवहरूमध्ये चर्चामा आइरहने नाम हो, रेवतीरमण खनाल। करिब तीन दशकसम्म दरबारको भित्रिया भएर काम गरेका खनालको आत्मकथा 'अनुभूति र अभिव्यक्ति'का पानाहरू पल्टाउँदै जाँदा उनले राजा महेन्द्र र वीरेन्द्रको कार्यकालमा शासनसत्तालाई सहयोग गरेको र कतिपय अवस्थामा सल्लाह–सुझाव दिएको विवरण यसमा भेटिन्छन्। पञ्चायत व्यवस्थाका जन्मदाता राजा महेन्द्र र उनका छोरा वीरेन्द्रको कार्यकालमा दरबारका विश्वासपात्र भएर सेवा गरेका  खनालले २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेका प्रजातान्त्रिक सरकारका कामकारबाहीमाथि  दरबारिया दृष्टिकोणले टिप्पणी र विश्लेषण पनि यो पुस्तकमा गरेका छन्।

पुस्तक प्रकाशनबारे प्रष्टीकरण दिँदै उनले भनेका छन्– छोरा र हितैषीहरूले मेरा अनुभव लेख्न कर गरे। 'मैले जुन संस्थामा ३५ वर्ष सेवा गरेँ, त्यसबेला गरेका गोप्य कुरा बाहिर ल्याएँ भने नैतिकताविरुद्ध हुन्छ कि भन्ने मलाई लाग्यो। 'लेखेर गोप्य सिलबन्दी गरेर राख्छु। मेरो शेषपछि प्रकाशित गरे हुन्छ,' धेरै कर गरेपछि मैले छोराहरूलाई भनेँ, 'अनुभूति र अभिव्यक्ति भन्ने सानो पुस्तक लेखेको थिएँ। पछि मैले दीर्घसेवा गरेको राजसंस्था नै नरहेपछि त्यो सिलबन्दी खोलेर केही थप र परिमार्जन गरी अहिले सबैसामु प्रस्तुत गरेको छु।' पुस्तकमा दरबारमा लामो समय काम गरेका फेहरिस्त छन्। तर, राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्थाको हत्या गरेर सुरु गरेको पञ्चायती व्यवस्थाको प्रारम्भिक समयदेखि नै दरबारसम्बद्ध खनालको पुस्तकमा त्यो निरंकुश व्यवस्थाबारे आँखा चिम्लिएको देखिन्छ। महेन्द्रले बेलाबेला गरेका प्रयोग, वीरेन्द्रको शासनकालमा भएका २०३६ सालको आन्दोलन र २०४६का आन्दोलनबारे खनालका टिप्पणी छन्, विवरण छन्। त्यसबेलाका महŒवपूर्ण राजनीतिक घटनाका प्रत्यक्ष द्रष्टा भएर पनि उनी राजनीतिकरूपमा इमानदार हुन सकेको देखिँदैन। आफ्नै दृष्टिकोणका आधारमा घटना प्रस्तुत गरेका छन्। एउटा प्रशासकको अन्तर्मुखी चरित्र उद्घाटित भएको छ पुस्तकमा। पञ्चायती शासन व्यवस्थाका आरोहअवरोहका प्रत्यक्षदर्शी खनालका अनुभवहरू पुस्तकमा त्यहीरूपमा अभिव्यक्त हुन सकेको भए यो ऐतिहासिक दस्तावेज हुन सक्थ्यो, दुर्भाग्य त्यसो हुन सकेको छैन। 

खै भनौँ र खै? प्रश्नबाट स्पष्टीकरण दिँदै प्रारम्भ भएको पुस्तकमा अत्यन्तै उल्लेखनीय घटनाबारे दरबारका तत्कालीन सैनिक सचिवमात्र भनिएको छ, त्यहाँ विवेक शाहको नाम उल्लेख छैन। दरबार हत्याकाण्डमा शाह पानीमाथिको ओभानो बनेको चर्चा गर्दै खनालले आलोचना गरेका छन्। त्यस्तै, तत्कालीन सेना प्रमुख रुक्मांगदका कामकारबाहीबारे पनि आलोचना गरिएको छ। पुस्तकमा भनिएको छ– 'रुक्मांगदले आफूले ठूल्ठूला बहादुरीका काम गरेका दाबी गर्नुभएको छ, उहाँको आत्मकथाको पुस्तक पढेपछि थाहा भयो। म्याद पुगेका ८ जना रथीलाई सरकारले म्याद नथपे पनि प्रधानसेनापतिको हैसियतले काम गरिरहन आदेश दिएँ भन्नु भएको रहेछ। यसबाट कानुनको पालना भयो कि कानुन भंग भयो? यस्तो कानुन भंग गर्न हिम्मत गर्नेले आफ्नो परमाधिपतिलाई बचाउन अरु कानुन भंग गर्ने हिम्मत किन नगरेका होलान्? यो त जात फाल्नु गहतको झोलमा भएन र?' 

पुस्तकको प्रारम्भमै राजनेताको आवश्यकता, यस्तै छ देशको हाल उपशीर्षकका आफ्ना टिप्पणी र विश्लेषण छन् भने प्रत्येक अध्यायलाई विश्राम नाम दिएर १९ अध्यायमा बाँडिएको छ। पुस्तकका शीर्षकहरू जति आकर्षक र वजनदार छन्, त्यहीअनुसार विवरण र प्रस्तुति पाइँदैन। २००७ सालको राजनीतिक परिवर्तन, जयतु संस्कृतम् आन्दोलनमा आफ्नो संलग्नताबारे सतही  विवरण समेटेका खनालले घुमाउरो पारामा प्रारम्भिक अवस्थामा वामपन्थीय धारमा उभिएको संकेत गरेका छन्। २०१७ सालको राजनीतिक परिवर्तनपछि महेन्द्रसँग भेटघाट भएको उल्लेख छ। तर, त्यो समयमा विद्यार्थी राजनीतिमा संलग्न खनालको कसरी राजासँग भेटवार्ता हुन सक्यो त्यो भेद उनले पुस्तकमा खोलेका छैनन्। राजदरबारको सेवाको क्रममा पत्रकार भएर काम गरेको चर्चा गरेका छन्।

पुस्तकका अध्यायहरूको बनोट र प्रस्तुतिमा उनले भोगेको जीवन, गरेका काम र देखेका–सुनेका अनुभवका आधार छन्। बाल्यकाल, त्यस समयको राजनीतिक–सामाजिक परिवेश, आफ्ना पितामाता र परिवारबारे व्यक्तिगत विवरण, राजदरबारसँग जोडिएका प्रसंग मिहिनसाथ बुनिएका छन्। संस्कृतका ज्ञाता, कानुनविद् र प्रशासकको भूमिकामा उनले देखेको र भोगेको कालखण्डबारे जानकारी यस पुस्तकमा पाइन्छ। पुस्तकमा संस्कृतका श्लोक, नीतिशास्त्रको सहारा लिँदै कतिपय घटनाको चर्चा गरिएको छ। राजा, युवराजहरूसँग कुराकानी गर्दा नीतिशास्त्र उद्धरण गर्ने चातुर्य खनालले देखाएका छन्। पुस्तकबाट पञ्चायती व्यवस्था कसरी चलेको थियो त्यो बुझ्न र वामपन्थीहरूको जग बसाउन महेन्द्रले कस्तो भूमिका खेलेका थिए भन्ने पनि केही थाहा पाउन सकिन्छ।

वीरेन्द्रको विवाह समारोहमा आएका भारतीय राष्ट्रपति राजा महेन्द्रको सम्बोधन भाषणकै कारण कार्यक्रम छोट्याएर फर्किएको उल्लेख छ। महेन्द्रले आफ्नो भाषणमा भारतले नेपाललाई सानो भाइजस्तै असुविधा गर्छ भनेकै कारण राष्ट्रपति फर्किएको चर्चा छ। परराष्ट्रविद् यदुनाथ खनालले लेखेको भाषणमा भारतविरोध प्रसंग राजा आफैले थपेको र यदुनाथको आग्रहमा नहटाएको चर्चा छ। दरबारको चाहनाअनुसार आफूले छद्मनाम 'आकाशप्रसाद'को नाममा लेख लेख्ने गरेको चर्चा गरेका छन्। लेख्छन्, 'खास विषयको लेख भए मलाई देखाएरमात्र पठाउनु भन्ने निर्देशन राजाबाट मैले पाएँ। कतिपय लेख जाहेर भएपछि छद्मनाममा प्रकाशित भए। एउटा लेखमा एक पंक्ति थपिएर आयो। त्यही मिलाएर गोरखापत्रमा पठाएँ। सम्पादकले राष्ट्रिय निर्देशन मन्त्री विश्वबन्धु थापाकहाँ त्यो लेख पठाएछन्। उहाँले पछि थपिएको पंक्ति हटाइदिन् भएछ। प्रधान सम्पादकले त्यो हटेको अंशबारे कुरा गरी छापे। त्यो लेख आकाशप्रसादको नाउँमा छापिएको थियो। नेपाल–भारत सम्बन्धबारे लेखिएको थियो। पछि नेपाल–चीन सम्बन्ध र नेपाल–बर्मा सम्बन्धबारेका लेख पनि त्यसै नामबाट छापिएका थिए।'

युवराज दीपेन्द्रको विवाह नहुनुमा रानी ऐश्वर्य, सासु रत्नबीचको मतान्तर नै प्रमुख कारण ठहर गरेका छन् खनालले। दरबार हत्याकाण्ड शीर्षक अध्यायमा खनालले युवराज दीपेन्द्रको विवाहबारे सुरुमा रत्नले आफ्ना नातेदार केटीसँग विवाह गर्ने चाँजोपाँजो मिलाएको र ती केटीको पूर्णकदको फोटो दीपेन्द्रले आफ्नो कक्षमा राख्ने गरेको चर्चा गर्दै खनाल लेख्छन्– 'सासु–बुहारीको विवादका कारण सुप्रियासँग विवाह नहुने भनेर फर्काइएछ।' खनालले देवयानीसँगको विवाहमा पनि रानी ऐश्वर्यबाटै विरोध भएको चर्चा गरेका छन्।

पुस्तकमा महेन्द्र र वीरेन्द्रका विशेषता तथा कमजोरीबारे तुलनात्मक विवरण छ। त्यस्तै, कांग्रेस नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबारे पनि तुलनात्मक चर्चा छ।  एमाले प्रधानमन्त्री मनमोहन अधिकारीबारे पनि विवरणहरू छन्। एमाले महासचिव मदन भण्डारीसँग सम्बन्धित घटनालाई महŒवका साथ पेश गरेका छन्। भण्डारीले २०४८ को आमनिर्वाचनको क्रममा 'महाराज! आँखा नचम्क्याइबक्सियोस्, हात नलम्बाइबक्सियोस्। यदि राजनीति गर्ने नै भए श्रीपेच खोलेर मैदानमा आइबक्सियोस्। तपाईसँग प्रतिस्पर्धा गर्न यो मदन मण्डारी तयार छ।' काठमाडाँै चाबहिलमा भण्डारीले यस्तो भाषण गरेपछि राजासँगको सल्लाहमा उनलाई भेटेको खनालले उल्लेख गरेका छन्। खनाल लेख्छन्– 'राति १० बजे बालाजु बाइपासको तीनकुनेमा मोटरमै भेट्ने भनेर मोटरको नम्बर र रङ बताएपछि म भेट्न गएँ। हामीबीच करिव ४५ मिनेट कुरा भयो। अनि उनको प्रचारमा राजालाई मुछ्ने काम भएन। 'त्यो त चुनाव जित्ने रणनीतिमात्र हो' उनले भनेका थिए।

निर्वाचनपछि भण्डारीलाई राजासँग भेट गराएको प्रसंगमा खनाल लेख्छन्– 'भेटपछि उहाँ राजाबाट प्रभावित हुनभयो र भन्नुभयो– राजसंस्था पनि एउटा शक्ति हो। राज्यका सबै शक्ति मिलेर आआफ्नो क्षेत्रबाट देशलाई अगाडि बढाउनुपर्छ।'

पञ्चायतकालमा चर्चित गलैँचा काण्डपछि अख्तियार दुरुपयोग निवारण आयोगको जन्म भएको शीर्षकमै जेठी श्रीमतीबाट अलग भएको र कान्छीबाट आफ्ना  छोराछोरी जन्मिएको प्रसंग छ। पुस्तकमा पारिवारिक, निजी कुरा र समसामयिक पक्षलाई ठाउँठाउँमा कक्टेल्स पारिएको छ। संस्कृत, अंग्रेजी, नेपालीका ज्ञाता खनालको लेखनी सरल छ। पुस्तकमा आफ्ना भन्नुपर्ने कुराहरू स्पष्टसँग राखिएका छन्। यो राजनीतिक कालखण्डका कतिपय महत्वपूर्ण सूचना समावेश छन्। राजा, रानी, युवराजका बानीबेहोराबारे सामान्य चर्चा छ। पञ्चायतकालमा हुने राजाहरूका क्षेत्रीय भ्रमणबारे रमाइला पक्ष जताततै छन्। ३५ वर्ष राजसेवामा बिताएका प्रशासकका सार्वजनिक गर्नेभन्दा नगर्ने कुरा धेरै हुन सक्छन्। उनले यसबारे स्पष्ट पारेका छन्। लेख्छन्– 'दरबारबारे चाख राख्नेहरूका लागि केही थाहा होस् र अनुसन्धान गर्न चाहनेका लागि पनि काम लागोस् भनी सकेसम्म सत्यतथ्य कुरा उल्लेख गरेको छु र निष्पक्ष रहने प्रयास गरेको छु।' उनले पुस्तकको सीमितताबारे स्पष्ट गरेका छन्।

पुस्तक :  अनुभूति र अभिव्यक्ति (आत्मकथा)

लेखक :  रेवतीरमण खनाल

प्रकाशक :  प्रदीप्त प्रिन्टिङ एन्ड पब्लिसिङ

मूल्य :  रु. ४२५/

पृष्ठ :  ३०२

प्रकाशित: २२ श्रावण २०७३ ०५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App