१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बालुवाटारमा दाहालको पहिलो भेट

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा रहेको सरकारले नेपाली क्रिकेटमा देखिएको आन्तरिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेलगत्तै पहिलो औपचारिक कार्यक्रमका रूपमा प्रधानमन्त्री दाहालले राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका थिए।

विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स जाने नेपाली टोलीलाई बिदाइ गर्दै प्रधानमन्त्रीले क्रिकेटभित्रको आन्तरिक समस्या समाधान गरेर विकासतर्फ गम्भीरतापूर्वक लाग्ने बताए।

‘तपाईहरू नेदरल्यान्ड्स जाँदै हुनुहुन्छ। पूर्ण आत्मविश्वास र नयाँ टिम स्पिरिटका साथ खेल्दा सफलता पाउनेमा म विश्वस्त छु,' उनले भने,'बालुवाटार प्रवेशको पहिलो कार्यक्रम नै तपाईहरूलाई बधाई र शुभकामना हुन गयो। क्रिकेट टोलीलाई अग्रिम बधाई दिन चाहन्छु।’

प्रधानमन्त्री दाहाललेक्यान विवादबारे भने, ‘क्रिकेटभित्रआन्तरिक, नीतिगत र संरचनागत समस्याहरू छन्। यसलाई सल्टाउन मेरो नेतृत्वको सरकारले पूरा प्रयास गर्ने विश्वास दिलाउन चाहन्छु।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले विवादास्पद चुनाव र सरकारी हस्तक्षेप भएको भन्दै वैशाख १३ मा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो। त्यसयता नेपाली क्रिकेट नेतृत्वविहीन छ।

राष्ट्रिय खेलकुद परिषदर तत्कालीन क्यानका अध्यक्ष टंक आङबुहाङको असहमतिका बाबजुद बहुमत सदस्यको निर्णयबाट मंसिर २९ मा भएको निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो। राखेपले त्यसलाई आफ्नो मान्यता नरहेको भन्दै पुस २४ मा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति बनाएपछि विवाद बल्भि्कएको थियो।

राखेपको निर्णयविरुद्ध चन्द समितिले पुस २८ मा मुद्दा दायर गरेपछि क्रिकेटको विवाद थप चुलिएको हो। उक्त विवादका कारण वैशाख ४ र ६ मा कीर्तिपुरमा सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्धको खेल आइसिसीको निगरानीमाआयोजना भएको थियो।

प्रधानमन्त्री दाहालले धेरै देशलाई राजनीतिले एकताबद्ध बनाउन नसक्दा खेलकुद र सांस्कृतिक क्षेत्रले भावनात्मक रूपमा देशलाई एक ठाउँमा उभ्याउन सफल हुनेस्मरण गराए। 'अहिले सयौं देशलाई राजनीतिले एकताबद्ध बनाउन सकिरहेको छैन,’ दाहालले भने, ‘आजभोलि खेलर सांस्कृतिक क्षेत्रले देशलाई भावनात्मक रूपमा जोड्ने काम गरेको छ। यद्यपि त्यसको समग्र नेतृत्व राजनीतिले नै गर्छ।'

उनले क्रिकेट टोलीले छोटो समयमा नेपालको छुट्टै पहिचान स्थापित गर्दै आएको बताउँदै यसले युवाप्रति आत्मविश्वास जगाएकोधारणा राखे।

प्रधानमन्त्रीले वचन दिए, 'नेदरल्यान्ड्स भ्रमणका लागि सफलताको शुभकामना दिन चाहन्छु। त्यहाँबाट फर्किएपछि पनि म तपाईहरूसँग भेट्ने छु। यस क्षेत्रको विकासका लागि गम्भीरता र जिम्मेवारी साथ पहल गर्ने विश्वास दिलाउन चाहन्छु।’

शनिबार नेदरल्यान्ड्सजाने नेपाली टोलीले साउन २९ र ३१ मा घरेलु टोलीविरुद्ध खेल्नेछ।

विश्व क्रिकेट लिगमा नेपाल छैटौं स्थानमा छ।६ खेलबाट नेपालले ४ अंक बटुलेको छ। नेपालभन्दा अगाडि नेदरल्यान्ड्स (१०), हङकङ (९), पपुवा न्युगिनी (८), स्कटल्यान्ड(७), केन्या (६) छन्। समान २ अंक बटुलेका नामिबिया र युनाइटेड अरब इमिरेट्स (युएई) नेपालभन्दा तल छन्।

नेपाली टोलीका कप्तान पारस खड्काले क्षमताअनुसार प्रदर्शन गरे जित्न सकिने बताए। डिभिजन वानमा कुनै पनि टोली कमजोर नरहेको भन्दै कप्तान पारसले टोलीको जितका लागि ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा राम्रो गर्नुपर्ने आवश्यकता औंल्याए।

‘हामीले आफ्नो पूर्ण क्षमताअनुसार प्रदर्शन गर्न सक्यौं भने जित्न सकिन्छ। त्यसका लागि बलिङ, ब्याटिङ र फिल्डिङ सबै पक्षले राम्रो गर्नुपर्नेछ,’ पारसले भने, ‘नामिवियाविरुद्ध हामीले रणनीतिक परिवर्तन गरेका थियौं। नेदरल्यान्ड्समा पनि त्यहाँको अवस्थाअनुसार रणनीति तय गर्नेछौं।’

क्यान निलम्बनका कारण सिनियर टोलीमा धेरै असर नगरे पनि दीर्घकालीन असर परेको उनको भनाइ थियो।

‘राष्ट्रिय टोलीको तयारी हामीले जसोतसो गरेका छौं। तर १५/२० जना खेलाडीले मात्र खेलेर हुँदैन,’ कप्तान पारसले थपे, ‘क्यान निलम्बन हुनु दुर्भाग्य हो। चाँडोभन्दा चाँडो समस्या सुल्भि्कयोस्। घरेलु संरचनामा यसले असर गरेको छ।’

नेपालले यसै च्याम्पियनसिपका तयारीका लागिइङ्ल्यान्ड भ्रमण गरेको थियो। उक्त भ्रमणमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लगायत विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलेको थियो। सबै खेलमा नेपाली टोली विजयी भएको थियो।

प्रकाशित: २२ श्रावण २०७३ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App