१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भेद्‍भाव गरिएकोमा भलिबल खेलाडीको असन्तुष्टि

काठमाडौं- राष्ट्रिय भलिबल टोलीका उपकप्तान सञ्जय अर्यालले आफ्नो फेसबुकमा बिहीबार एउटा स्टाटस राखे, 'व्यवहारमा किन भेदभाव? महिला र पुरुष समान।' उनले अगाडि थपेका छन्, 'हेर्ने आँखाको दोष, प्रसंग बिच भलिबल।'

नेपाल भलिबल संघले पुरुष टोलीलाई पाँचौं एसियन बिच खेलकुदमा सहभागी नगराउने जनाएपछि सञ्जयले असन्तुष्टिव्यक्त गर्दै सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका छन्। संघले एसियन बिच खेलकुदका लागि असार ४ र ५ गते कीर्तिपुरमा छनोट प्रतियोगिता गरेको थियो।

छनोट प्रतियोगितामा महिला टोलीलाई कमला पुन र कोपिला उप्रेती छनोट भएका थिए। पुरुषतर्फ ध्रुव पौडेल र दीपकराज जोशी भियतनाममा असोज ८ देखिहुने पाँचौं एसियन बिच खेलकुदलाई छानिएका थिए।

छनोटमा पुरुषतर्फ १२ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फको फाइनल पुगेका सञ्जय अर्याल र इम रानाले वाकओभर दिएका कारण दीपक र ध्रुवलाई मुख्य प्रशिक्षक सुदेशकुमार रिमाल, प्रशिक्षक जगदीश भट्टलगायत रहेको प्रशिक्षण टोलीले छनोट गरेको थियो।

तर पुरुष टोलीलाई प्रतियोगितामा सहभागी नगराउने भएपछि राष्ट्रिय टोलीका अन्य खेलाडीले पनि सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाइरहेका छन्। राष्ट्रिय टोलीका स्पाइकर हरि थापादेखि पुलिस क्लबका नयाँ खेलाडी दीपकराज जोशीले पनि टोली नपठाउने निर्णयविरुद्ध प्रतिक्रिया दिएका छन्।

उपकप्तान अर्यालले संघको निर्णयले खेलाडीको मनोबल घटाउने काम गरेको बताए। उनले भने, 'संघको आर्थिक अवस्था कमजोर थियो भने किन छनोट प्रतियोगिता गरेको थियो। प्रतियोगिता गरेर सहभागी नगराउनु भनेको व्यवस्थापनको कमजोरी हो। यस्ता कार्यले खेलाडीको मनोबल कसरी बढ्छ।'

सञ्जयले राखेको स्टाटसमा थुप्रै भलिबलकर्मीले व्यवस्थापनको कमजोरीबारे असन्तुष्टि पोखेका छन्। कप्तान इम रानाले पनि सञ्जयको भनाइमा समर्थन जनाउँदै लेखेका छन्, 'महिला टोलीलाई प्रतियोगिता खेल्न लैजान पैसा हुने, पुरुष खेलाडीका निम्ति नहुने। यदि पैसा थिएन भने छनोट किन गरियो?'

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले आर्थिक कारणले महिला टोलीको नाम मात्र बिच खेलकुदका लागि दर्ता गराएको बताए। उनले भने, 'संघको आर्थिक अवस्थाबारे सबैलाई थाहा छ। सुरुआतमा हामीलाई ओलम्पिक कमिटीले आर्थिक सहयोग गर्ने भनेको थियो तर ओलम्पिक कमिटीले नगरेपछि हामीले महिला र पुरुष टिमलाई पठाउन नसक्ने भएकाहौं।'

महासचिव चन्दले राष्ट्रिय खेलाडीले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताए। उनले भने, 'खेलाडीले अनुशासन मिचेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्। उनीहरूको व्यक्तिगत विचार भए पनि यो अनुशासनहीन काम हो। यसमा संघले कारबाही पनि गर्न सक्छ।'

गत वैशाखमा मनोरञ्जन रमण शर्माको नेतृत्वमा नेपाल भलिबल संघको नयाँ नेतृत्व चयन भएको थियो। शर्माले नेतृत्व लिएको चार महिना पुगिसक्दा पनि संघको कार्यसमितिले पूर्णता पाएको छैन। संघमा २ उपाध्यक्ष र ९ सदस्य मनोनीत गर्न बाँकी छ। सदस्य मनोनीत गर्न नेतृत्व असफल भइरहेको बेला खेलाडीले अन्तर्राष्ट्रिय सहभागिताबारे असन्तुष्टि व्यक्त गरेका हुन्। पोखरामा भएको संघको पहिलो पूर्ण बैठकमा अध्यक्ष शर्माले प्रस्ताव गरेका व्यक्तिलाई कार्यसमितिले अस्वीकार गरिदिएको थियो।

प्रकाशित: २२ श्रावण २०७३ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App