१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुपारी काण्डमा यसरी मुछिएका थिए लोकमान

विराटनगर- २८ पुस २०७० आइतबार। सिडिओ कार्यालय मोरङको सभाहल खचाखच थियो। मोरङ, सुनसरी र झापाका सरकारी अधिकारी बिहानैदेखि हलमा बसिरहेका थिए। उद्योगी–व्यवसायी पनि त्यहाँ पुग्दै थिए। पत्रकारलाई भने १२ बजे आउन निम्तो थियो।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की एक–एकसँग ‘बयान’ लिने शैलीमा प्रस्तुत भए। सरकारी कर्मचारीलाई ‘भ्रष्टाचार’ सह्य नहुने भन्दै कड्किए। उद्योगी–व्यवसायीसँग पनि त्यही शैलीमा प्रस्तुत भए। १२ बजे सभाहलबाहिर पत्रकारको बाक्लै उपस्थिति भयो। कार्कीको पत्रकार सम्मेलन भनेर निम्तो गरिएको थियो। तर, कार्की १ बज्दा पनि सभाहलमा सरकारी कर्मचारीलाई ‘निर्देशन’ नै दिइरहेका थिए।

 करिब सवा घन्टापछि सुरु भएको पत्रकार सम्मेलनमा आयोगप्रमुख कार्की आरम्भदेखि नै ‘इरिटेट’ गर्ने शैलीमा प्रस्तुत भए। शिक्षकले कक्षा लिएजस्तै अख्तियारको कामकारबाहीबारे लामो जानकारी दिए। त्यसपछि सुरु भयो, प्रश्नोत्तर।

 आयोगका प्रमुखमा नियुक्त भएकै भोलिपल्ट २०७० वैशाख २६ गते कार्कीले सुपारी निकासी खुला गर्न दिएको निर्देशनपत्रको छाया–कापी विराटनगरको पत्रकारको हात लागिसकेको थियो। सम्मेलनमा कार्कीसित सुपारी तस्करीसँग जोडिएको प्रश्न नै पत्रकारले सोधे। ‘तेस्रो मुलुकको सुपारी नेपाल हुँदै भारत गइरहेको छ, यो भ्रष्टाचार हो कि होइन, यसमा तपाईंको के ‘इन्ट्रेस्ट’ छ? पत्रकारले यो प्रश्न सोध्नेबित्तिकै कार्की गालीगलौजमा उत्रिए। र, प्रश्न सोध्ने पत्रकारतिर औंला तेर्स्याउँदै भने, ‘तपाईं सही मान्छे हुनुहुन्न रहेछ।'

 पत्रकारले 'अख्तियारमा आएपछि तपाईंले सुपारी तस्करीको बाटो खोलिदिनु भयो नि त?' भन्दा कार्की झगडा गर्ने शैलीमा प्रस्तुत भए। ‘गलत सूचना प्रवाह गर्नुभन्दा अगाडि अर्काका बारेमा सोचेर बोल्ने गर्नुस्। पत्रकार हुनेबित्तिकै जे पनि बोल्ने र लेख्ने छुट छैन,’ कार्की आवेगमा बोल्दै थिए।

 पत्रकारले सुपारी तस्करी र त्यसमा आयोगप्रमुख कार्कीको ‘इन्ट्रेस्ट’ लाई लिएर प्रश्न गर्न छोडेनन्। उनी ठूलो स्वरमा पत्रकारलाई हप्काउन थाले। पत्रकारहरु पनि रिसाए। पत्रकार सम्मेलन बीचैमा रोकियो। पत्रकारहरू कार्कीविरुद्ध नाराबाजी गर्दै उनी जाने बाटोमा धर्ना बसे। माफी नमागुन्जेल बाटो नछोड्ने अडानमा धर्ना बसेका पत्रकारलाई मोरङ प्रहरीले नियन्त्रणमा लियो। आयोगप्रमुख कार्कीलाई कडा सुरक्षा दिएर एयरपोर्ट पुर्‍यायो।

 आयोगका गतिविधि र पूर्वाञ्चल भ्रमणबारे जानकारी दिन आयोजित सम्मेलनमा कार्कीलाई सुपारी तस्करीसँग जोडिएको प्रश्न मात्र किन गरियो त? कारण छ, कार्यविधि पालना नभएको भन्दै आयोगले नै रोकेको नेपाली सुपारीको निकासी कार्कीले आफू प्रमुख भएकै भोलिपल्ट खोल्न लिखित निर्देशन दिए।

२०६९ जेठ ३१ गते आयोगले नेपाली सुपारीको विदेश निर्यातसम्बन्धी कार्यविधि २०६८ पालना नभएको, नेपाली सुपारीका नाममा विदेशी सुपारी निकासी भइरहेको उजुरी परेकाले त्यसको छानबिन नसकिएसम्म नेपाली सुपारी निकासी बन्द भएको जनाउँदै उत्पत्तिको प्रमाणपत्र जारी नगर्न नेपाल उद्योग वाणिज्य महासंघलाई आदेश दिएको थियो। २०७० वैशाख २५ गते सुपारी खोल्न वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोगलाई चिठी लेखेकोमा भोलिपल्टै आयोगले 'उजुरी तामेली' भएको भनी मन्त्रालयलाई चिठी लेखेको थियो।

तेस्रो मुलुकबाट सुपारी आयात हुने र नेपाली सुपारी निर्यात गर्न पूर्वको काँकडभिट्टा र विराटनगर भन्सार नाकालाई मात्रै अनुमति छ। त्यसैले सुपारी तस्करीको खेल र सेटिङबारे रिपोर्टिङ गर्दै आएका यहाँका पत्रकारलाई अख्तियारको त्यो ‘निर्णय’ प्रति शंका थियो। र, त्यही शंका निवारणका लागि कार्कीसित प्रश्न सोधेका थिए। कार्की प्रमुख हुनुअघि आयोगले नै नेपाली सुपारीको प्रज्ञापन बनाएर विदेशी सुपारी भारत निकासी गरेको भन्दै विराटनगर भन्सारबाट निर्यात रोकेको थियो।

प्रकाशित: २२ श्रावण २०७३ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App