१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘निर्धक्क हुनुस्, सुरक्षा मजबुत छ’

काठमाडौं- सुरक्षा प्रबन्ध प्रभावकारी रहेको भन्दै सुरक्षा निकायले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा नेपाली सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी योजनाबद्ध रुपमा क्रियाशील रहेको गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले प्रस्ट पारेका छन् ।

दुवै निकायले निर्वाचनविरोधी समूहविरुद्ध निरोधात्मक र प्रतिरोधात्मक कारबाही सञ्चालन गरिएको जानकारी दिँदै सुरक्षा प्रबन्ध बलियो रहेको बताएका हुन् ।
पहिलो चरणको निर्वाचनको प्रचार सुरु भएलगत्तै उम्मेदवार र सभा केन्द्रित बम विस्फोटका घटना हुन थालेको थियो । दोस्रो चरणको मतदानको अघिल्लो दिनसम्म मतदान केन्द्र लक्षित विस्फोटक पदार्थ फेला पर्ने क्रम रोकिएको छैन । बुधबार काठमाडौं उपत्यकाकै मनमैजु मतदान केन्द्रमा बम फेला परेको थियो ।
मतदानको दिन हुन सक्ने सम्भावित सुरक्षा खतराको मूल्यांकनका आधारमा पहिलो चरणको मतदानको दिन अपनाएको सुरक्षा रणनीति संशोधन गर्दै गृहले मतदान केन्द्रमा अपनाएको सुरक्षामा सशस्त्र र सेनालाई निकट राख्ने निर्णय गरेको थियो । पहिलो चरणको मतदानको दिनमा जस्तै दोस्रो चरणमा पनि चुनावी प्रतिस्पर्धामा संलग्न राजनीतिक दलका समर्थकबीच हुन सक्ने झडप र बुथ कब्जालाई सुरक्षा जोखिमका रुपमा लिइएको छ ।
निर्वाचनविरोधी समूहले मतदातालाई मतदान केन्द्रमा जान अवरोध पु¥याउन सक्ने आकलन गरेर बाटोका मुख्य नाकामा सेना र सशस्त्रको टोली परिचालन गरिएको छ । मतदान केन्द्र र स्थलको भित्री सुरक्षा प्रहरी, म्यादी प्रहरी र बाहिरी घेरामा प्रहरी, सशस्त्र र सेना परिचालित छन् ।
‘मतदानलाई भयरहित वातावरण प्रदान गर्न केन्द्रदेखि जिल्ला र मतदानस्तरसम्मको सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीलाई चुस्त रुपमा परिचालन गरिसकेको छ,’ गृह प्रवक्ता नारायण शर्माले भने, ‘कानुनबमोजिमका सुरक्षा कारबाहीहरु कडाइका साथ सम्पन्न गर्न निर्देशन गइसकेको छ ।’
मतदानस्थल, मतदान केन्द्रलगायतका स्थानमा सबै सुरक्षा प्रबन्ध मिलाइसकिएको गृहले जनाएको छ । भयरहित र निष्पक्ष मतदानको प्रबन्ध मिलाउन सुरक्षा निकायहरु सक्षम रहेको पनि मन्त्रालयले प्रस्ट पारेकोे छ ।

सुरक्षा प्रवन्ध मिलाउन मोबाइल, स्ट्राइकिङ, गस्ती, पेट्रोलिङका साथै हवाई गस्तीसमेत भइरहेको र कुनै घटना भए १० देखि ३० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्भावित सुरक्षा जोखिमको आकलन गर्दै हवाई गस्तीका लागि सेनाको ८ वटा पृतनामा ८ वटा हेलिकप्टर तैनाथ गरिसकिएको छ भने ३ वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
पहिलो चरणको ३२ जिल्लामा मतदानको दिन अपनाएको सफल सुरक्षा योजनाबाट प्राप्त ज्ञान र अनुभवका आधारमा दोस्रो चरणको मतदानका दिन हुनसक्ने सबै प्रकृतिको सुरक्षा जोखिम र संवेदनशीलता सम्बोधन गर्दै समन्वयात्मक रूपमा सुरक्षा योजना कार्यान्वयनमा ल्याएको गृहले उल्लेख गरेको छ ।
‘राज्यका सबै सुरक्षा निकाय  समन्वयात्मक रुपमा क्रियशील भई मजबुत सुरक्षा व्यवस्था मिलाइसकिएकाले मतदानमा निर्धक्क र निर्भयका साथ सहभागी हुन आह्वान गर्दछौं,’ मन्त्रालयले भनेको छ ।
बुधबार नेपाल प्रहरीले पत्रकार सम्मेलनमार्फत सबै प्रकृतिको सुरक्ष चुनौतीको सामना गर्ने गरी सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिएको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेले मतदानस्थलमा सुरक्षा संवेदनशीलताका आधारमा जनशक्ति, हतियार तथा साधनस्रोतको परिचालन गरिएको बताए ।
कुल प्रहरी जनशक्तिको न्यूनतम ९० प्रतिशत जनशक्ति परिचालन गरी निर्वाचन सुरक्षाका लागि सुरक्षा तैनाथी सम्पन्न भइसकेको उल्लेख गर्दै उनले निर्वाचनविरोधी गतिविधिमा संलग्न ९ सय ७८ जना पक्राउ परेको जानकारीसमेत दिए ।
निर्वाचन सुरक्षार्थ मतदानस्थलको पहिलो घेरामा रहने नेपाल प्रहरी अन्य सुरक्षा निकायसँग समन्वयात्मक रूपमा परिचालन भइरहेको बताउँदै उनले सुरक्षासम्बन्धी समस्या भए प्रहरीको १०० नम्बरमा जानकारी दिन आग्रह गरेका थिए ।

‘बम पड्काउने समूह विप्लव’

पहिलो चरणको निर्वाचनको प्रचार सुरु भएदेखि नै विस्फोटका घटना भइरहे पनि सुरक्षा निकाय त्यस्ता घटनामा संलग्न समूहबारे मौन रहँदै आएका थिए । दोस्रो चरणको मतदानको अघिल्लो दिन प्रहरीले औपचारिक रुपमा बम विस्फोटको घटनामा नेत्र विक्रम चन्द विप्लव समूहको संलग्नता रहेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता न्यौपानेले विस्फोटका घटनामा विप्लव समूहकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनले निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ६ सय जना विप्लव समूहसँग आबद्ध कार्यकर्ता रहेको जानकारी दिए । नेउपानेका अनुसार निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सिके राउतका १३ जना कार्यकर्ता पक्राउ परेका छन् ।

‘मतदानमा अवरोध गरे सेनाले गोली हान्छ’
रक्षा मन्त्री भीमसेनदास प्रधानले मतदान स्थल र मतदान गर्न हिँडेका मतदातालाई कसैले अवरोध गरे सेनाले गोली हान्ने चेतावनी दिएका छन् । बुधबार एक कार्यक्रममा उनले भने, ‘निर्वाचन बिथोल्न खोज्ने तŒवहरुलाई निस्तेज पार्न सेनालाई आवश्यक निर्देशन दिएका छौं,’ उनले भने, ‘सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।’

प्रकाशित: २१ मंसिर २०७४ ००:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App