१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदानस्थल पुगे कर्मचारी, मतदाता परिचयपत्र धमाधम वितरण

चितवन- चितवनका सवै मतदान स्थलहरुमा कर्मचारीहरु पुगी सकेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सोमबार साँझसम्म सवै केन्द्रमा कर्मचारीहरु पुगेको जानकारी दिए। ‘सुरक्षा प्रवन्धसहित मतदान केन्द्रहरुमा कर्मचारीहरु पुगेका छन्। उनीहरुले आफ्ना कामहरु सम्पन्न गर्न कुनै कठिनाइ छैन’ प्रमुख जिल्ला अधिकारी भट्टले भने।

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले मंगलबार बिहानैबाट परिचयपत्र बाँड्न सुरु समेत गरेका छन्। ‘बुधबार पनि परिचयपत्र बितरण हुन्छ । साथै बुधबार नै मत केन्द्रहरु बनाउने पनि छन्’ प्रमुख ढकालले भने । केही केन्द्रहरुमा कर्मचारीहरु मंगलबार नै मतदान केन्द्र बनाउन जुटेको देखिन्थ्यो।

चितवनमा १६१ स्थानमा ४०६ मतदान केन्द्रहरु छन् । सवै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरेर कुल चार हजार ८८६ कर्मचारीहरु मतदानका लागि खटेको ढकालले जानकारी दिए । दुरीका हिसाबले माडी नगरपालिकाको बाँदरझुला मतदान स्थल र राप्ती तथा कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रका केन्द्रहरु केही अफ्ठ्यारा ठाउँहरुमा छन्।

चितवनमा गएको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा यो निर्वाचनमा ४१ जहार नयाँ मतदाता थपिएका छन्। स्थानीय चुनावका बेलामा परिचयपत्र नबुझेका र स्थानीय चुनावपछि मतदाता नामावलीमा नाम लेखाएकाहरुले अहिले परिचयपत्र बुझ्न थालेका हुन्।

चितवनमा जिल्लामा कुल मतदाता तीन लाख ५४ हजार ३६ रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्र छन् । दुवै सभाका लागि गरेर नौ निर्वाचन क्षेत्रमा ९५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

        यसका साथै चितवनमा निर्वाचन सुरक्षाका लागि एक हजार ८९५ प्रहरी र त्यसमाथि थप एक हजार ७१० जना म्यादी प्रहरी खटेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए । मतदान केन्द्रको सुरक्षाका लागि शसस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि खट्ने छ । सेनालेसमेत चितवनमा गस्ती सुरु गरेको छ।

        चितवनमा ५२ वटा मतदान केन्द्र अतिसंवेदनशिल रहेको एसपी थापाले बताए । त्यस्तै १०९ मतदान केन्द्रहरु संवेदनशिल रहेको उनको भनाइ छ । चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले दिएको जानकारी अनुसार मतदान सकिएपछि जिल्लाका सवै मतदान स्थलका मतपेटीकाहरु संकलन गरेर सदरमुकाम भरतपुरमा रहेको चितवन माविमा ल्याइने छ । गणना पनि चितवन माविमै हुने छ ।

 

प्रकाशित: १९ मंसिर २०७४ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App