१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग : अन्तिम १६ का लागि रस्साकस्सी

म्यानचेस्टर- च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने टोलीको छिनोफानो गर्नका लागि समूहचरणका अन्तिम खेलहरू हुन बाँकी छन् । परम्परागत महारथी रियाल मड्रिड, बार्सिलोना र बायर्न म्युनिखसँगै पूर्वविजेता चेल्सी, पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर सिटीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । टोटेनह्याम र वेसिक्टासले पनि आफ्नो यात्रा तय गरिसकेका छन् ।
 

खतरामा एट्लेटिको मड्रिड
लगातार चौथोपटक नकआउट चरणमा स्थान पक्का गर्नका लागि एट्लेटिकोका लागि धेरै कुराले साथ दिनुपर्छ । पछिल्लो चार वर्षमा डिएगो सिमोनीको टोलीले दुई पटक फाइनल खेलिसकेको छ । तर यो सिजन अन्तिम १६ मा स्थान पक्का गर्न एट्लेटिकोले चेल्सीलाई जितेर मात्र पुग्दैन । रोमाले क्वाराबागसँग बराबरी वा हार्नुपर्छ । एट्लेटिकोले समूह ‘सी’ मा पहिलो चार खेल जित्न सकेन । निराशाजनक नतिजा निकालेको एट्लेटिकोले क्वाराबागसँग पनि बराबरीमा चित्त बुझाउनुप¥यो ।
लगातार दोस्रो पटक अन्तिम १६ मा स्थान  पक्का गर्ने लक्ष्यमा रहेको सेभिया समूह ‘ई’ मा सहज स्थितिमा छ । सेभियाले बुधबार तुलनात्मक रूपमा कमजोर टोली मारिबोरसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल स्पार्टक मस्कोसँग बराबरी वा पराजित भएर मारिबोरमाथि विजय हासिल गरे सेभिया समूह विजेता बन्नेछ ।
 

इङ्लिस क्लबको वर्चस्व
इङ्ल्यान्डका दुई क्लब म्यानचेस्टर सिटी र टोटेनह्याम समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाइसकेका छन् । बुधबार यो संख्या ५ पुग्न सक्छ ।
म्यानचेस्टर युनाइटेडलाई समूह ‘ए’ को विजेता बन्न मंगलबार घरेलु मैदानमा सिएसकेए मस्कोसँग १ अंक खोसे पुग्छ । चेल्सीले एट्लेटिकोलाई पराजित गरे समूह ‘सी’ को विजेता बन्नेछ । त्यसको एक दिनपछि स्पार्टकलाई हराउँदै लिभरपुल समूह ‘ई’ को समूहविजेता बन्न सक्छ । च्याम्पियन्स लिगको नकआउट चरणमा इङ्ल्यान्डबाट अहिलेसम्म पाँच टोलीले स्थान बनाउन सकेका छैनन् ।
 

जर्मन क्लबको निराशा
विशेष गरी बोरुसिया डर्टमन्डले निराशाजनक प्रदर्शन गरेपछि अन्तिम १६ मा जर्मनीको प्रतिनिधित्व गर्ने क्लब म्युनिख मात्र हुने सम्भावना छ । २०१३ मा फाइनल खेलेको डर्टमन्डले समूह चरणमा अहिलेसम्म विजय हासिल गर्न सकेको छैन । समूह ‘एच’ को अन्तिम खेलमा बुधबार रियाल मड्रिडविरुद्ध खेल्नुअघिसम्म डर्टमन्डले ५ खेलबाट २ अंक मात्र जोड्न सकेको छ ।
युरोपियन प्रतियोगितामा डेब्यु जनाएको आरबी लिपजिगको सम्भावना कायम छ । त्यसका लागि लिपजिगलाई बेसिक्टासविरुद्धको नतिजा निकालेर मात्र पुग्दैन मोनाको र एफसी पोर्टोबीचको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्छ । समान ७ अंकका साथ पोर्टो र लिगपजिग क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बेसिक्टास ११ अंकका साथ शीर्ष स्थानमा रहँदा २ अंकसहित मोनाको अन्तिम स्थानमा छ । म्युनिखले मंगलबार पिएसजीसँग प्रतिस्पर्धा गर्दैै छ । जर्मनीको अर्को क्लब होफेनहेइम प्लेअफमा लिभरपुलसँग पराजित भएपछि प्रतियोगितामा स्थान बनाउन सकेन ।
 

इटालीको पीडा झन् बढ्छ ?
प्रतियोगितामा इटालीबाट तीन क्लबले अन्तिम १६ मा स्थान बनाउन सकेका छैनन् । प्लेअफमा स्विडेनसँग पराजित भएपछि विश्वकप २०१८ गुमाएको इटालीका क्लबले च्याम्पियन्स लिगको समूह चरण पार गर्लान् त?
सिरी ‘ए’ मा युभेन्ट्ससँग पराजित भएको नेपोलीलाई नकआउट चरणको यात्रा सहज छैन । बुधबार फियोनउडलाई हराउनै पर्ने बाध्यतामा रहेको नेपोलीलाई समूह ‘एफ’ बाट समूह चरण पार गर्न म्यानचेस्टर सिटीले पनि साख्तर डोनेस्कलाई हराइदिनुपर्छ ।
समूह ‘डी’ मा ओलम्पिकोसलाई पराजित गरे वा स्पोर्टिङ लिस्बनले बार्सिलोनालाई हराउन असफल भए युभेन्ट्स नकआउट चरण पुग्नेछ । युभेन्ट्स पछिल्ला तीनमध्ये दुई सिजन फाइनल खेलेको टोली हो ।
एट्लेटिकोले चेल्सीलाई हराउन असफल भयो र क्वाराबगलाई हराए रोमा समूह ‘सी’बाट नकआउट चरण पुग्नेछ ।
 

कीर्तिमान
दुई साताअघि पिएसजीले सेल्टिकविरुद्ध ७ गोल गरेको थियो । फ्रेन्च लिग वान क्लबले समूह चरणमा २४ गोल गरेर प्रतियोगितामा कीर्तिमान बनाइसकेको छ । नेइमार, केलियन एमबाप्पे र इडिसन काभानीको साथ पाएको पिएसजी अन्तिम खेलमा पनि त्यही लय दोहर्याउने लक्ष्यमा छ । घरेलु लिगमा नयाँ क्लब स्टार्सबर्गसँग २–१ ले पराजित भएको पिएसजी बुधबार लगातार छैटौं जित निकाल्ने दाउमा छ ।

प्रकाशित: १९ मंसिर २०७४ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App