१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सर्लाहीमा पूर्व सहकर्मीबीच रोचक प्रतिस्पर्धा

किरण भट्टराई
सर्लाही (रासस)-  एक महिनाअघिसम्म एउटै पार्टीमा रही एउटै झण्डा बोकेर हिँड्ने तीन सहकर्मी अहिले छुट्टाछुट्टै पार्टीको झण्डा बोकेर चुनावी मैदानमा उत्रिएपछि सर्लाही क्षेत्र नं २ को निर्वाचन रोचक बनेको छ।

सोही क्षेत्रबाट राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवसँगै राजपाको महामन्त्री पद परित्याग गर्दै नेपाली काँग्रेसबाट जंगीलाल राय र राजपाको जिल्ला अध्यक्ष परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) बाट दिनेश राय यादव चुनावी प्रतिस्पर्धामा छन्।  

राजपाका अध्यक्ष मण्डलका मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादवको जिल्लामा राजापाका तीन पूर्व सहकर्मीबीच यो क्षेत्रमा भइरहेको प्रतिस्पर्धालाई धेरैले चासोपूर्वक हेरेका छन्।

संघीय समाजवादी फोरम–राजपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकोले फोरमको सहयोग महेन्द्रलाई र वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकोले नेकपा (एमाले)को सहयोग दिनेशलाई रहेको छ।

स्थानीय तहको मतपरिणामको आधारमा यो क्षेत्रमा काँग्रेस र राजपाका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ती दुईबीचको प्रतिस्पर्धाबाट आफूलाई फाइदा पुग्ने आकलन वाम गठबन्धनको छ ।

अन्य दलभन्दा यो क्षेत्रमा राजपा नै सबैभन्दा बलियो रहेपनि सो पार्टीकै उम्मेदवारले पार्टी छाडी अन्य पार्टीबाट उम्मेदवार बनेकाले कस्तो परिणाम आउने हो भन्नेमा दुविधा देखिन्छ।

राजपाका उम्मेदवार महेन्द्रले काँग्रेसका उम्मेदवार जंगिलाल र (माओवादी केन्द्र)का उम्मेदवार दिनेश दुबैजनाले मधेसी जनतालाई धोका दिँदै मधेसी मुद्दा छोडेर गएकाले जनताले उनीहरुलाई निर्वाचनमार्फत दण्डित गर्ने राससलाई बताए।

निर्वाचनको माहोल हेर्दा आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखिएकाले आफू जित्नेमा ढुक्क रहेको उनको भनाइछ। काँग्रेसका उम्मेदवार जंगीलालले राजपा जस्तो क्षेत्रीय दलले मधेसीको समस्या समाधान गर्न नसक्ने तथा उनीसँग कुनै पार्टीगत एजेण्डानै नरहेकाले सो दल छोडी आफूले काँग्रेस रोजेको स्पष्ट पारे।

विकास, समृद्धि, सद्भाव, प्रजातन्त्र र मधेसको माग सम्बोधनका लागि काँग्रेसलाई मतदान गर्नुको विकल्प नरहेकाले आफ्नो जित सुनिश्चित रहेको उनको भनाइछ।

माओवादी केन्द्रका उम्मेदवार दिनेशले यो क्षेत्रको शिक्षा, स्वास्थ्य, विकासको लागि तथा विगतमा आफूले गरेको निस्वार्थ सेवाका कारण आफू जित्नेमा ढुक्क रहेको बताए।

राजपा छोड्नुको कारणबारे उनले भने, “विश्वमा कहीँ नभएको एउटै दलमा छ जना अध्यक्ष छन् । भारतमा राम र रहिम भनेर तथा इराकमा सुन्नी र सिया भनेर जनता भिडाए जस्तो नेपालमा पनि जातिका आधारमा नेपाली जनता भिडाउन खोजेकाले राजपा छोडेँ।”

विसं २०७० को संविधानसभा चुनावमा राजपाका उम्मेदवार महेन्द्रराय अहिलेकै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए भने काँग्रेसका उम्मेदवार बन्नुभएका जगीलाल साविकको क्षत्र नं ५ बाट विजयी भएका थिए। निर्वाचन क्षेत्र निर्धारणका क्रममा दुबै सांसदको क्षेत्र अहिले एउटै क्षेत्रमा परेको छ।

सो क्षेत्रबाट निवर्तमान सांसद रहेका दुईजनाबीचको प्रतिस्पर्धामा कसले बाजी मार्ने हो भन्ने थाहा पाउन चुनावको नतिजा कुर्नु पर्नेछ । सर्लाही क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट पशुपक्षी विकास राज्यमन्त्री समेत रहेका  शम्भुलाल श्रेष्ठ, वाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष धुव्रप्रसाद गौतम, राजपाको तर्फबाट प्रमोद साहबीच मुख्य प्रतिस्पर्धा रहेको छ।

मधेसी बाहुल्य र पहाडी जनजाति समुदायको बाक्लो उपस्थिति रहेको यो क्षेत्रमा निर्वाचनको मुखैमा माओवादी केन्द्र परित्याय गरी काँग्रेस प्रवेश गरेका उम्मेदवार श्रेष्ठले माओवादीको केही मत ल्याउन र जनतामा आकर्षित गर्न सकेमा मात्रै सहज हुनेछ।

स्थानीय तहको मतपरिणामको आधारमा वाम उम्मेदवारको मत बलियो देखिएकाले सोही आधारमा निर्वाचन जित्ने आश एमाले उम्मेदवार गौतमको छ । काँग्रेस र माओवादीबीचको प्रतिस्पर्धामा मधेसी बाहुल्यताको फाइदा उठाउँदै आफूहरुले जित्ने दाउ राजपा उम्मेदवार साहको छ ।

यस्तै क्षेत्र नं ३ मा काँग्रेसको तर्फबाट हरेश महतो, वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामेश्वर राय यादव र राजपा–फोरम गठबन्धनको तर्फबाट फोरमका अशोककुमार सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ।

यो क्षेत्रमा काँग्रेसको जनाधार बलियो रहेपनि काँग्रेस निकट सुरेन्द्र साहले स्वतन्त्रमा उम्मेदवारी दिएकाले माओवादी केन्द्र र फोरमका उम्मेदवारले फाइदा उठाउने सम्भावना पनि उत्तिकै देखिन्छ।

यस्तै क्षेत्र नं ४ मा काँग्रेसबाट अमरेशकुमार सिंह र राजपाका राकेशकुमार मिश्रबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यो क्षेत्रमा बलियो उम्मेदवार मानिएका माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवलाई निर्वाचन आयोगले अदालतबाट दोषी ठहर व्यक्ति भएकाले उम्मेदवार बन्न अयोग्य भन्दै उम्मेदवारी रद्द गरिदिएको थियो।

उनको उम्मेदवारी रद्धपछि काँग्रेस र राजपाका उम्मेदवारलाई फाइदा पुगेको छ । यादवले भने आफ्नो उम्मेदवारी यथावत् रहेको भन्दै फैसला पुनरावलोकन लागि सर्वोच्चमा निवेदन दर्ता गरी प्रचारप्रसारमा व्यस्त छन्।

 

प्रकाशित: १८ मंसिर २०७४ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App