२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुरक्षाका लागि पहिलोपटक कुुकुर परिचालन

धनगढी – प्रदेश नम्बर ७ मा दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन सुरक्षाका लागि कडा सुरक्षा बन्दोबस्त गरिएको छ।

प्रदेश नम्बर ७ मा निर्वाचन सुरक्षाका लागि पहिलोपटक तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । ‘निर्वाचन सुरक्षाका लागि हामीले शुक्रबारदेखि तालिम प्राप्त कुकुर परिचालन गरेका छौं’, प्रदेश ७ का प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक माधव नेपालले भने, ‘यस क्षेत्रमा निर्वाचनका लागि कुकुुर प्रयोग गरेको पहिलोपटक हो।’ 

कैलाली र कञ्चनपुुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रमलगायतका ठाउँमा तालिमप्राप्त दुई कुकुर परिचालन गरिएको उनले बताए । कुकुर नेपालगन्जबाट ल्याइएको हो । देशका विभिन्न भागमा बम विस्फोटनलगायतका घटना हुन थालेपछि यस प्रदेशको निर्वाचन सुरक्षाका लागि अन्य व्यवस्थाका साथै कुकुर परिचालन गरिएको उनको भनाइ छ । ‘शंकास्पद व्यक्ति, विस्फोटक पदार्थलगायतको कुकुरले पत्ता लगाउनेछ’, उनले भने। 

प्रदेश नम्बर ७ मा सबैभन्दा संवेदनशील जिल्ला कैलाली मानिएको उनले बताए । दोस्रोमा कञ्चनपुर छ । यी दुई जिल्लामा तालिमप्राप्त कुकुर परिचालन हुनेछन् । आवश्यक परेमा पहाडी जिल्लामा पनि लगिने उनले बताए । मतदान केन्द्रमा भने कुकुर लगिनेछैन । ‘कुनै अप्रिय घटना हुन नदिन यी कुकुरले शंकास्पद वस्तु र व्यक्तिलाई सुँघेर पत्ता लगाउनेछन्’, उनले भने । लामो खुला सीमा हुनु, विप्लव माओवादीका कार्यकर्ताको प्रभाव हुनुजस्ता कारणले यी जिल्ला संवेदनशील मानिएका हुन्। 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कैलाली संवेदनशील जिल्लाअन्तर्गत बताए । २ सय ३१ निर्वाचन स्थलमध्ये ७७ अति संवेदनशील, १ सय १७ संवेदनशील र ३७ कम संवेदनशील भनेर वर्गीकरण गरिएको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय सीमासँग नजिक रहेका, यातायातको पहुँच कम, सञ्चार पहँुच कम, जातीय र साम्प्रदायिक विविधता, जनसंख्याको घनत्व, निर्वाचनविरोधी गतिविधिमा संलग्न समूह र व्यक्तिलगायतलाई आधार मानेर वर्गीकरण गरिएको उनले बताए । कैलालीमा १ सय १ किलोमिटर भारतसँग जोडिएको खुला सीमा छ । कैलालीमा मात्र करिब ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने उनले बताए।

तीन घेरामा सुरक्षा
दोस्रो चरणअन्तर्गत निर्वाचन हुने ५ वटै जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । सुदूरपश्चिमका क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले निर्वाचनका लागि सुरक्षा बन्दोबस्त कडा बनाइएको बताए । ५ जिल्लाका लागि पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाका सुरक्षाकर्मी र अन्य जिल्लाबाट समेत ल्याइएको उनले जानकारी दिए । मतदान केन्द्रमा म्यादी र नेपाल प्रहरी परिचालन गरिनेछ । मतदान स्थलबाहिर सशस्त्र प्रहरी परिचालन गरिनेछ । तेस्रो घेरामा अलिक पर नेपाली सेना परिचालन गरिनेछ । मतदान स्थलमा कुनै अप्रिय घटना भएमा आवश्यक परे सशस्त्र प्रहरी र नेपाली सेना पनि जान सक्नेछन् । सशस्त्र प्रहरी र नेपाली सेनाले विभिन्न ठाउँमा अस्थायी क्याम्प स्थापना गरेका छन् । निर्वाचन तयारी पूरा भएको पौडेलले बताए । ‘खटनपटन गर्ने सबै काम पूरा भएको छ’उनले भने । सुरक्षाकर्मी विभिन्न ठाउँमा गइसकेका छन् भने सोमबार साँझसम्म प्रत्येक मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्नेछन् । प्रदेश नम्बर ७ मा दोस्रो चरणअन्तर्गत तराईका दुई जिल्ला कैलाली, कञ्चनपुरसहित अछाम, डोटी र डँडेल्धुरामा मंसिर २१ गते निर्वाचन हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवा डँडेल्धुराबाट चुनावी मैदानमा छन् । प्रधानमन्त्रीसमेत यही प्रदेशमा भएकाले निर्वाचन लक्षित कुनै घटना यस प्रदेशमा हुन नदिन आफूहरु चनाखो भएको एक सुरक्षा अधिकारीले बताए । शुक्रबारदेखि प्रधानमन्त्री देउवा यस क्षेत्रमा व्यस्त छन्।

 

प्रकाशित: १७ मंसिर २०७४ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App