१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

परिवर्तन गर्नुपर्छ स्वास्थ्य क्षेत्र

नेपालको संविधान २०७२ ले स्वास्थ्यसम्बन्धी हकलाई यसरी परिभाषित गरेको छ– 'प्रत्येक  नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।' यसको कार्यान्वयनका लागि संविधान प्रारम्भ मितिले तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ। नेपालमा २००७ सालको राजनीतिक परिवर्तनसँगै चिकित्सा क्षेत्रमा एउटा संस्था आगमन भयो– नेपाल चिकित्सक संघ जसको नेतृत्व डा. सिद्धिमणि दीक्षितले गरेका थिए। तत्पश्चात यो संघले २०२० सालसम्म चिकित्सक दर्ता गर्ने, चिकित्सासम्बन्धी योजना तर्जुमा गर्नेलगायत चिकित्सा क्षेत्रका गतिविधिलाई चिकित्सकबीच राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा चिनाउन नेपाल मेडिकल एसोसिएसनको जर्नल पनि सञ्चालनमा ल्यायो।

२०२० सालमा चिकित्सकसम्बन्धी ऐन बनेपछि चिकित्सककेा प्रमाणपत्र दर्ता गर्ने र नियमनकारी भूमिका निर्वाह गर्न नेपाल मेडिकल परिषद् स्थापना भयो। त्यसपछि चिकित्सा क्षेत्रमा एउटा अर्धसरकारी निकायका रूपमा नेपाल मेडिकल परिषद् रहन गयो भने चिकित्सकहरुको छाता संगठनका रूपमा नेपाल चिकित्सक संघ रह्यो। मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनमा नेपाल चिकित्सक संघ पनि सामेल भयो। २०४६ सालको राजनीतिक परिवर्तन होस् वा २०६२/०६३ सालको दोस्रो राजनीतिक परिवर्तन, यसमा चिकित्सक संघ, चिकित्सकहरु र स्वास्थ्य संस्थाले परिवर्तनको पक्षमा पुर्‍याएका योगदान अविश्मरणीय छ।

नेपाल चिकित्सक संघ नेपाली स्वास्थ्य नीतिको अगुवा बन्नुपर्छ किनकि देशको समग्र विकासमा स्वास्थ्य क्षेत्रको विकासबिना अन्य विकास असम्भव छ।

फगत यी परिवर्तन त भए तर स्वास्थ्य क्षेत्रमा देखिने परिवर्तन भने झन् कम हुँदै गयो। फलस्वरूप अस्पतालहरु त्ाोडफोड हुन थाले, चिकित्सक विभिन्न बहानामा सांघातिक हमलामा पर्न थाले। कति त अपहरणमा पनि परे। त्यस विषम परिस्थितिमा नेपाल चिकित्सक संघको भूमिका खासै देखिएन भन्दा अत्युक्ति नहोला। सुदूर दराजमा कार्यरत चिकित्सकहरु भौतिक आक्रमणमा पर्दा होस् वा चिकित्सा गर्दा निम्तिएका अप्ठ्याराबाट बिरामीहरुमा असर पर्दा चिकित्सक संघ मौन बस्नुले समस्त चिकित्सा पेशामा संलग्न चिकित्सकहरु नेपाल चिकित्सक संघतिर आकर्षित हुन नसकेको तीतो यथार्थ हामीसामु छर्लङ्ग छ।

यस्तै कोलाहलबीच फेरि नेपाल चिकित्सक संघको निवार्चन नजिकिँंदै छ। १७ हजार चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता हँुदा जम्मा ६ हजारको हाराहारीमा मात्र नेपाल चिकित्सक संघमा आबध्द छन्। झन् त्यसमा पनि ५ हजार ३ सय ५ जना चिकित्सकमात्र आउँदो निर्वाचनमा भाग लिन पाउनेछन्। यसै निर्वाचन सन्दर्भलाई हेर्ने हो भने हामी ५ हजार चिकित्सकबीचबाट चुनिने पदाधिकारीले १७ हजार चिकित्सकलाई समेट्न सक्ला? प्रश्न गम्भीर छ। गणितीय कुरा गर्ने हो भने १२ हजार चिकित्सक बाहिर भएको यस घडीमा नेपाल चिकित्सक संघको नेतृत्व वैध मान्न सकिएला? एकचोटि छातीमा हात राखेर सोचौं, कतै हामी लोकतन्त्रको उपहास त गर्दै छैनौं?

त्यसका बाबजुद हामी पुनः एकपटक नेपाल चिकित्सक संघको निर्वाचनमा होमिँदैछौं। किन भाग लिँदैछौं? यो र अन्य यावत् प्रश्नको उत्तरका लागि हामी सहभागी हँुदैछौं। हाम्रो सहभागिता परिवर्तनको पक्षमा हुनेछ। हामी हाम्रा चिकित्सकको मागलाई सम्बोधन गर्न, सबै चिकित्सक अटाउने नेपाल चिकित्सक संघ बनाउन र समाजमा चिकित्सकप्रति देखिएका अनगिन्ति सवाल जवाफलाई सधैँका लागि अन्त्य गर्न हाम्रो उपस्थिति अनिवार्य छ।

२०४६/०४७ को परिवर्तनसँगै मौलाएको उदार अर्थनीतिको 'बाइ प्रोडक्ट' का रूपमा निकै मात्रामा मेडिकल शिक्षामा स्वास्थ्य संस्थाहरुको जन्म भयो र समग्र स्वास्थ्य क्षेत्रको ८० प्रतिशत हिस्सा ओगट्न सफल भयो। यस विषयमा पनि विभिन्न तर्क/वितर्क भए। विरोध र समर्थन जारी छन्। यस विषम परिस्थितिमा ती तमाम समस्या समाधानमा पनि नेपाल मेडिकल एसोसिएसन जोडिन आवश्यक छ। त्यसका लागि पनि हाम्रो यस अभियानमा संलग्नता हो।

नेपाल चिकित्सक संघ नेपाली स्वास्थ्य नीतिको अगुवा बन्नुपर्छ किनकि देशको समग्र विकासमा स्वास्थ्य क्षेत्रको विकासबिना अन्य विकास असम्भव छ। तसर्थ समयसापेक्ष चिकित्सकहरुको पारिश्रमिक वृध्दि गर्न, विभिन्न गोष्ठी, सेमिनार एवं तालिमको यथोचित विकास गर्न र सम्पूर्ण चिकित्सा क्षेत्रमा हाल भइरहेको अन्योल अन्त्य गर्न पनि सक्रिय तथा जुझारु नेतृत्वको उपस्थिति अनिवार्य छ। चिकित्सक स्वास्थ्य बिमा कार्यान्वयन गर्न र स्नातकोत्तर शिक्षा निःशुल्क गर्न पनि उत्तिकै आवश्यक छ। चिकित्सा क्षेत्रमा विद्यमान बेथिति अन्त्य गर्न नेपाल चिकित्सक संघले सेतुको भूमिका निर्वाह गर्नुपर्छ भन्ने वास्तविकता पनि सबैले मनन गर्नैपर्छ। समाज परिवर्तन गर्न आफू परिवर्तनशील हुनुपर्छ। देश परिवर्तन गर्न स्वास्थ्य क्षेत्रबाट परिवर्तन सुरु गर्नुपर्छ भन्ने मूलभूत उद्देश्यका साथ हामी यो अभियानमा जुटेका छौं।

अध्यक्ष उम्मेदवार, नेपाल चिकित्सक संघ

प्रकाशित: २१ श्रावण २०७३ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App