१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेकपाका १२ कार्यकर्ता समातिए

इलाम- चुनावविरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्लामा १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सबै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला तहका नेता–कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले इलाम नगरपालिका ५ की बसुन्धरा कार्की, इलाम नगरपालिका ११ का सञ्जीव फागो, देउमाई नगरपालिका ८ का मोहन बराल, देउमाई ९ का डम्बर मगर, इलाम नगरपालिका १ का विशाल राई, इनपा ९ कै खिनमाया परियार र इनपा ७ की संगीता फागोलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका डिएसपी रमेश बस्नेतका अनुसार इलाम नपा ३ का अर्जुन थापा, इनपा ८ की पार्वता बराल, इनपा ६ का चूडामणि घिमिरे, सूर्याेदय नपा २ का सुमित खत्री र भारतको जलपाइगुडीका सुवास तामाङलाई पक्राउ गरिएको छ । उनीहरू कात्तिक अन्तिम सातायता विभिन्न मितिमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूलाई अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखिएको उनले जनाए । प्रहरीले जिल्लामा चुनावका लागि शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । तर, झन्डै आधाजसो मतदान स्थललाई भने ‘संवेदनशील’को सूचीमै राखिएको छ । ‘शान्तिपूर्ण रूपमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाएका छौं,’ जिल्ला प्रहरी प्रमुख एसपी विपीन कर्माचार्यले भने, ‘चुनावमा जिल्लाभर करिब ३ हजार सुरक्षाकर्मी परिचालित हुनेछन्, यो संख्या इलामका लागि पर्याप्त हो ।’

उनले चुनावमा अशान्ति फैलाउन खोज्ने जोसुकैलाई पनि नियन्त्रणमा लिने बताए । ‘शान्तिपूर्ण रूपमा सबै मतदाताले भोट हाल्ने काममा जसले अवरोध गर्छ, उसलाई छाडिने छैन,’ कर्माचार्यले भने, ‘आपराधिक गतिविधि गर्ने मात्र होइन, गर्न उक्साउने, सहयोग गर्नेहरूसमेत कारबाहीको दायरामा ल्याइने छ ।’

प्रकाशित: १४ मंसिर २०७४ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App