१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ह्याकिङबाट बच्ने उपाय सिकाउने तालिम आज

काठमाडौं – नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले आयोजना गरेको साइबर सुरक्षा र सिस्टम ह्याकिङ सम्बन्धी सम्मेलन बिहीबार (आज) हुँदैछ । उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी गरी एक सय ८० जना विज्ञ सहभागी हुने छन्।

यो तालिम बैंकिङ तथा वित्त क्षेत्रका सूचना प्रविधि प्रमुखहरु र व्यवस्थापकहरुलाई अत्यन्त उपयोगी र सान्दर्भिक हुने एनबिआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले नागरिकलाई बुधबार बताए। 

कार्यक्रममा वित्तीय क्षेत्र सूचना सुरक्षा र अनुसन्धानमा अनुभव हासिल गरेका अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त विज्ञद्वारा कार्यपत्र प्रस्तुत हुनेछ । बंगालादेशका दुई विज्ञमा फाइनान्सियल इन्टिलिजेन्स युनिट बंगलादेश बैंकका विज्ञ देवप्रसाद देवनाथ र सूचना प्रविधि सिस्टम, मेनेजर इन्फर्मेसन सिस्टम डेभलपमेन्ट शाखाका देव दुलाल रोय छन् । उनीहरु बंगलादेशमा भएका २०१६ का ह्याकिङ सम्बन्धी घटनाका अनुसन्धानकर्ता हुन् । दुवैले बंगलादेशमा भएको घटना र त्यसबाट सिक्नुपर्ने पाठबारे कार्यपत्र प्रस्तुत गर्दै छन्।

नयाँ प्रविधिसँगै बैंकिङ क्षेत्रमा चुनौती थपिएकाले ती चुनौतीसँग कसरी जुध्ने भन्नेमा जानकारी दिलाउन यो सम्मेलन आयोजना गरिएको सुब्बाले बताए । ‘पुँजी वृद्धिसँगै प्रविधिको पनि चुनौती थपिएका छन्,’ उनले भने, ‘यस्तो चुनौतीलाई सामना गर्न उपायको खोजी गर्नु जरुरी छ।’

सिटी गु्रपका वरिष्ठ सहअध्यक्ष एवं प्रमुख अनुसन्धानकर्ता एवं प्रबन्धक संदिप मेहराले पनि कार्यपत्र प्रस्तुत गर्नेछन्। 

सम्मेलनबाट सूचना प्रविधि र सुरक्षा सम्बन्धी सान्दर्भिक सामग्री, अपराधका किसिम, प्रक्रियाहरु र सुरक्षा प्रविधिलाई समयसापेक्ष र दुरुस्त बनाउने विभिन्न उपाय सिक्ने अत्यन्त सान्दर्भिक ज्ञान प्राप्त हुने सुब्वाले जानकारी दिए।

विश्वस्तरमै सूचना प्रविधिको जोखिम बढिरहेको अवस्थामा बैंक तथा वित्तिय क्षेत्रलाई योसँग जुध्न र आफूलाई समयसापेक्ष सुरक्षित राख्नु प्रमुख चुनौती हुँदै आएको छ । हाल–सालै नेपाली बैंकिङ क्षेत्रमा देखिएका घटनाक्रमको सन्दर्भमा एनबिआईले आयोजना गरेको यो कार्यक्रम अत्यन्त सान्दर्भिक र महत्त्वपूर्ण हुने विश्वास बैंकरहरुले गरेका छन् ।

प्रकाशित: १४ मंसिर २०७४ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App