१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

थारु नेता चुनाबी मैदानमा : पुरानालाई इतिहास रच्न चाहनेको टक्कर

काठमाडौं– देशकै चौथो ठूलो जनसंख्या रहेको थारु समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा दुई सय २ जना प्रत्यक्षतर्फ चुनाव लड्दैछन्। प्रतिनिधि सभामा ६७ जना र प्रदेशसभामा प्रत्यक्षतर्फ १ सय ३५ जना थारु उम्मेदवार चुनावी मैदानमा छन्। सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेदवार बनेका छन्। प्रतिनिधिसभामा १४ जना र प्रदेशसभामा २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

देशका प्रमुख पार्टी नेपाली काँग्रेसले प्रतिनिधिसभामा ७ जना र प्रदेशसभामा १९ जना थारु उम्मेदवार उठाएको छ। नेकपा एमालेले प्रतिनिधि सभामा ६ र प्रदेशसभामा ९ जना थारु उम्मेदवार उठाएको छ। 

तराई केन्द्रित रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा ११ जना र संघीय समाजवादीले प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १० जना थारु उम्मेदवार उठाएको छ। विभिन्न दलहरुबाट भने प्रतिनिधिसभामा २४ र प्रदेशसभामा ५३ जना थारुहरुले उम्मेदवारी दिएका छन्।

स्रोत निर्वाचन आयोग

समानुपातिकतर्फ ४ सय ४ उम्मेदवार
विभिन्न दलले बुझाएको समानुपातकि सूचीमा भने ४ सय ४ जना थारु उम्मेदवार छन्। यो पूर्ण सूचीको ६.९ प्रतिशत हो । जसमा १ सय ५५ जना पुरुष छन् भने २ सय ४९ जना महिला छन् ।

हेभिवेट थारु नेताबीच रोमाञ्चक प्रतिस्पर्धा
आसन्न प्रतिनिधिसभा निर्वाचनमा हेभिवेट थारु नेताहरुबीच नै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ। उनीहरु अहिले निष्पक्ष भिडन्तभन्दा पनि एकअर्काको अरोपप्रत्यारोपमा उत्रिएका छन्। सुनसरी क्षेत्र नम्बर ३ काँग्रेसबाट विजयकुमार गच्छदार र बाम गठबन्धनबाट एमालेकी भगवती चौधरी चुनावी मैदानमा छन्। सो क्षेत्रमा यसअघि विजय गच्छदार जित्दै आएका छन्।

दोस्रो संविधानसभा चुनावमा झिनो मतले विजय भएका गच्छदारलाई भगवती चौधरीले कडा टक्कर दिने बताएकी छन्। उनले दोस्रो संविधानसभा चुनावमा प्राविधिक पराजय व्यहोरेको बताइन्। तर यसपाली त्यस्तो नहुने उनको भनाई छ। उनले हरेक कोणबाट आफू अब्बल रहेको उनले बताइन्। ‘यसअघि मैले प्राविधिक पराजय भोगेकी थिएँ। अबको दिनमा त्यस्तो हुनेछैन। म हरेक मुकालबला समाना गर्न तयार छु,’ भगवतीले भनिन्।

सो क्षेत्रमा अपराजित हुँदै आएका गच्छदारले भने यसपाली फेरि जीत दोहोर्याउने रणनीति बनाएका छन् । उनले दोस्रो संविधानसभामा आफ्नो कठीन विजय भएको बताउँदै अब चुनाव कहिल्यै नहार्ने दाबी गरे। 

पश्चिम तराईमा भने थरुहट आन्दोलनबाट राष्ट्रिय राजनीतिमा होम्मिएका गोपाल दहित र १२ वर्षे जनयुद्धको कमान्ड सम्हालेका सन्तकुमार चौधरी बर्दिया क्षेत्र नम्बर २ मा भिड्दैछन्। दहित नेपाली कांग्रेस र चौधरी बाम गठबन्धनको माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । दुबै अहिलेका बहालवाला मन्त्री पनि हुन्।

सन्तकुमार सो क्षेत्रबाट दुईपटक निर्वाचित भइसकेका छन्। उनी यसपटक पनि विजय भएर ह्याट्रिक गर्ने दाउँमा छन्। दोस्रो संविधानसभामा थथारुहट तराई पार्टी नेपालको तर्फबाट समानुपातिक सांसद बनेका दहितले भने कामको मूल्यांकन गर्दै जनताले आफूलाई जिताउने दाबी गरे। बौद्विक नेताको रुपमा चिनिने दहितले थारुका मुद्दासँगै थारु कलस्टरका लागि कडारुपमा प्रस्तुत हुने सांसदको रुपमा चिन्नछन्। स्थानीय तहमा बाम गठबन्धनको मत धेरै भएपनि आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे। 

त्यस्तै कैलाली क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट रामजनम चौधरी र बाम गठबन्धनको माओवादी केन्द्रबाट गौरीशंकर चौधरी चुनावी मैदानमा उत्रिएका छन्। गच्छदार नजिक मानिने रामजनम राजनीतिमा चतुर मानिन्छन् । उनले यसअघिका चुनावमा सो क्षेत्रबाट जित्दै आएका छन्।
गौरीशंकर चौधरी भने यसअघि कैलाली क्षेत्र ४ बाट विजयी भएका थिए। दुबैजना मन्त्री भइसकेका नेता पनि हुन्। स्वाथ्य मन्त्री हुँदा थारु समुदायमा देखिएको सिकलसेलको परीक्षणका लागि मेसिन नदिनु र थरुहट आन्दोलन उत्कर्षमा पुगेकै बेला मन्त्री बन्न गएको झोँक त्यहाँ आन्दोलनकारी थारुमा छ। त्यसकै फाइदा गौरीशंकर लिन चाहन्छन्।

स्थानीय निकायको मत हेर्दा पनि आफूले जित्ने गौरीशंकर दाबी गर्छन् । यसका अलवा सोही क्षेत्रबाट तत्कालीन थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरी चौधरी संघीय समाजवादी फोरमले उम्मेदवारी दिएका छन् । उनले कांग्रेसकै मत काट्ने भएकाले पनि आफू बलियो भएको गौरीशंकरले बताए । रामजनमले भने आफ्नो पकड क्षेत्र रहेको दाबी गर्दै आएका छन् । 
जो मुख्यमन्त्रीको दौडमा छन्
मुख्यतः नेकपा एमाले र नेपाली कांग्रेसका केन्द्रीय तहका नेता प्रदेशमा उम्मेदवार बनेका छन्। उनीहरुको मुख्य उद्देश्य नै आफ्नो पार्टीको सरकारमा बने मुख्यमन्त्री ताक्ने हो। २ नम्बर प्रदेशमा एमाले भातृसंगठन नेपाल लोकतान्त्रिक थारु संघ एवं पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी पर्सा क्षेत्र नम्बर ३ क बाट उम्मेदवारी दिएका छन् । उनी एमालेबाट दुई नम्बर प्रदेशमा मुख्यमन्त्रीका दाबेदारसमेत हुन्। 
यता पाँच नम्बर प्रदेशमा एमालेकै वैजाथ चौधरीले पनि उम्मेदवारी दिएका छन्। हुनतः एमालेले ५ प्रदेशमा शंखर पोखरेललाई मख्यमन्त्रीको उम्मेदवार बनाएको छ । त्यसको विकल्पको रुपमा चौधरीलाई अगाडि सारिएको छ । एमालेको केन्द्रीय सदस्य चौधरी नवलपरासी पश्चिम क्षेत्र नम्बर २क बाट उम्मेदवार बनेका छन्। 

त्यस्तै काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका नजिकका नेता डिल्लीबहादुर चौधरी पनि ५ प्रदेशको मुख्यमन्त्रीका आकांक्षी हुन्। उनले दाङ क्षेत्र नम्बर ३क बाट उम्मेदवारी दिएका छन् । कमैया आन्दोलनका अगुवाइ गरेर राजनीतिमा होमिएका चौधरी बेसका संस्थापक अध्यक्षसमेत हुन् । ‘वरिष्ठ साथीहरु सबै प्रतिनिधिसभामा लडेका छन् । प्रदेशमा म पहिलो नम्बरमा छु,’ उनले भने । 

टीकापुर घटनाका बन्दी चुनावी मैदानमा
दुई वर्षअघि भएको टीकापुर घटनाका आरोपित भनिएका लक्ष्मण चौधरी र रामप्रसाद चौधरीले जेलबाटै उम्मेदवारी दिएका छन्। सोही घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी पनि प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका छन्। लक्ष्मणले कैलाली क्षेत्र ५ मा उम्मेदवारी दिएका छन्, जहाँ प्रधानमन्त्री पत्नी आरजु देउवा र एमालेका नारदमुनी राना चुनावी मैदानमा छन्। रेशमले भने कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। रेशमका बुबा लालवीर चौधरीले भने सोही क्षेत्रमा प्रदेशसभाका लागि एमालेबाट उम्मेदवारी दिएका छन्।  रामप्रसाद चौधरी भने कैलाली २ बाट उम्मेदवारी दिएका छन्। 

लक्ष्मण र रेशम दुवैजनाले टीकापुर घटनामा आफूहरुलाई फसाइएको बताए । त्यही सत्य चिर्नलाई उम्मेदवारी दिएको बताए । दुवै जनाले समाजिक सञ्जालबाट तीव्र प्रसार गरिरहेका छन् ।

भगौडा उम्मेदवार
२०६३–०६४ पछि भएका थरुहट आन्दोलनले धेरै थारु नेताहरु केन्द्रीय राजनीतिमा होम्मिए। हुनतः त्यसअघि पनि उनीहरु कुनै न कुनै पार्टीमा आबद्ध थिए । थरुहट आन्दोलनको उदयसँगै उनीहरुमा थारु समुदायको मुद्दामा केन्द्रीत भए। तर विभिन्न राजनीतिक परिघटनासँगै उनीहरुले खोलेका पार्टीहरु अस्तित्वविहीन बनेका छन् । उनीहरु विभिन्न पार्टीमा तितरवितर भएका छन्।
थरुहट आन्दोलनका प्रमुख कमान्डर लक्ष्मण थारु गच्छदार पार्टी हुँदै राजपाबाट उम्मेदवारी दिएका छन्। गोपाल दहितको थरुहट तराई पार्टी केही समयअघि गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग मर्जर भएको थियो। गच्छदारको पार्टि काँग्रेस बिलय भएपछि अहिले दहित कांग्रेसबाट उम्मेदवार बनेका छन्। त्यस्तै थरुहट तराई पार्टी नेपालका अध्यक्ष भने उपेन्द्र यावदको संघीय समाजवादीबाट उम्मेदवारी दिएका छन्। गच्छदारले धोका दिएको भन्दै उनी उपेन्द्रतिर लागेका हुन्।

कुनैबेला एमालेमा रहेर राजनीतिक करियर बनाउँदै आएका राजकुमार लेखी आफ्नै नेतृत्वको नागरिक समाजवादी पार्टी र राजेन्द्र महतोको सद्भावना हुँदै राजपा पुगेका छन्। उनी सप्तरी क्षेत्र १ क बाट उम्मेदवारी दिएका छन्। त्यस्तै थरुहट आन्दोलनको अगुवाई गरेका रेशम चौधरी राजपबाट उम्मेदवार बनेका छन्। 

त्यस्तै थरुहटबाट सांसद बनेकी गंगा थारु नयाँ शक्ति हुँदै अहिले एमाले पुगेकी छन्। एमालेले भने उनलाई प्रत्यक्ष उम्मेदवारनभई समानुपातिक सूचीमा राखेको छ। एमालेलाई गाली गर्न पछि नपर्ने उनी अहिले शान्ता चौधरीको टोलीमा सहभागी भएर भोट माग्दै हिँडेकी छन्। त्यस्तै नयाँ शक्तिका सुरेन्द्र चौधरी दाङ क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। बाबुराम भट्टराईले बाम गठबन्धनसँग एकता गरेपछि उनी असन्तुष्ट बनेका थिए। बाबुराम अहिले कांग्रेससँग तालमेल गर्न पुगेपनि चौधरीले भने पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

जित दोहर्‍याउने दाउँमा
यसअघि सांसद बनेका १० जना थारु उम्मेदवार आफ्नो विजय यात्रालाई निरन्तरता दिने दाउँमा छन्। विजय गच्छदार, अमनलाल मोदी, मञ्जु चौधरी, तेजुलाल चौधरी, सुरेन्द्र चौधरी, सुशीला चौधरी, गोपाल दहित, सन्तकुमार चौधरी, रामजनम  चौधरी, गौरीशंकर चौधरी जितलाई निरन्तरता दिने अभियानमा लागेका छन्। 

मैदानमा एक्लै रुक्मिणि
तीन महिनाअघि थ्रेस होल्डको चर्को बहस भइरहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)की अध्यक्ष रुक्मिणी चौधरी भने एक्लै चुनाव लड्ने तयारीमा थिइन्। विभिन्न दलबाट आएको मर्जर प्रस्तावलाई लत्याएर उनले निर्वाचन आयोगमा दल दर्ता गराइन्।
त्यसबेला विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका शीर्ष नेताहरुले पार्टी एकीकरणको प्रस्ताव गरेका थिए। तर ती सबै पार्टीमा गएर आफ्नो मुद्दा, आफ्नो सिद्धान्तको तिलाञ्जली दिन उनी तयार भएनन् । बरु थ्रेसहोल्डलाई च्यालेन्ज गर्ने मनस्थिति बनाइन्। ‘थरुहटका मुद्दा बोकेका नेताहरु अहिले विभिन्न नेताका शरणमा पुगेका छन्। यसले उनीहरु व्यक्तिगत स्वार्थका लागि राजनीति गरेका रहेछन् भन्ने देखियो। तर मैले आफ्नो सिद्धान्तलाई मार्न चाहिनँ,’ उनले भनिन्।

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि उनको पार्टीले थारु बाहुल्य क्षेत्रमा उम्मेदवारी दिएको छ। प्रत्यक्षतर्फमात्र नभएर रुक्मिणीले १ सय १० जनाको समानुपातिक सूची पनि निर्वाचन आयोगलाई बुझाएकी छन् । उनी थ्रेसहोल्ड कट्नेमा ढुक्क छिन्। ‘थारुहरु अझै जिउँदा छन् । थारु नेताहरुले अझै आफ्नो अस्तित्व, आफ्नो मुद्दा बिर्सेका छैनन् भन्नका लागि मैले उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन्।

उनले थरुहट स्वायत्त प्रदेशलगायत समानुपातिक समावेशिता र थारु कलस्ट मिलाउँदा सीमाकंनसहितको संविधान संशोधन हुनुपर्ने एजेन्डासहित गाग्री चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्। 

प्रकाशित: १४ मंसिर २०७४ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App