१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अस्थिर मतदाताकाे भाेट तान्ने कसरतमा उम्मेदवार

कलेन्द्र सेजुवाल/अर्जुन ओली

नेपालगन्ज – पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज सहर रहेको बाँके जिल्लामा चुनावी सरगर्मी बढेको छ । चलायमान र अस्थिर मतदाताका कारण सधैं अप्रत्याशित नतिजा आउने यहाँ उम्मेदवारले आआफ्नो पक्षमा परिणाम ल्याउन मिहिनेत गरिरहेका छन्।

निर्वाचन क्षेत्र नं. १ र ३ को तुलनामा नेपालगन्ज उपमहानगरपालिकासमेत रहेको क्षेत्र नं. २ लाई अधिक चासोका साथ हेरिएको छ । २०४८ सालदेखि निरन्तर रुपमा पूर्वप्रधानमन्त्री सुशील कोइराला लड्दै आएको यो क्षेत्रमा पहिलोपटक कांग्रेस आफ्नो उम्मेदवारविहीन अवस्थामा मैदानमा उत्रिएको छ । उसले राप्रपाका ओमप्रकाश आजादलाई समर्थन गरेको छ । एमाले र माओवादी केन्द्र पनि यसपटक समर्थककै भूमिकामा छन् । यी दुई ठूला दलले सूर्य चिह्नधारी स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्रलाई समर्थन गरेका छन् । अर्कोतिर, संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई र राजपाका विजयकुमार गुप्ता पनि सशक्त रुपमा अघि बढेका छन् ।

दंगाली नारा

बाँके–१ मा लोकतान्त्रिक समूहबाट कांग्रेसका माधवराम खत्री र वाम गठबन्धनबाट माओवादी केन्द्रका महेश्वरजंग गहतराजबीच प्रमुख प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा २०४८ यताको निर्वाचनमा कांग्रेसले दुईपटक र राप्रपा, माओवादी केन्द्र र एमालेले एक/एकपटक जितेका छन् ।

कोहलपुर नगरपालिकाका साथै राप्तीसोनारी र नरैनापुर गाउँपालिका रहेको यो क्षेत्रमा पहाडी, मधेसी र थारु समुदायको मिश्रित बसोबास छ । पहाडी समुदायमा विशेषगरी दाङ, सल्यान, रुकुमबाट बसाइँ सरी आएका मतदाता बढी छन् । लोकतान्त्रिक समूहका खत्री आपूm दंगाली हुनुले उत्साहित देखिन्छन् । ‘म दंगाली भएरमात्र होइन, यो क्षेत्र कांग्रेसको पकड क्षेत्र पनि भएकोले जित निश्चित छ,’ उनी भन्छन्, ‘त्यसमाथि सांगठनिक रुपमा राम्रै प्रभाव भएको राप्रपाको समर्थन पनि हामीलाई हुनेछ ।’

माओवादी केन्द्रका गहतराज वाम गठबन्धनलाई जितको प्रमुख आधार ठान्छन् । उनले सशस्त्र द्वन्द्वकालमा रुकुमलाई कार्यक्षेत्र बनाए, शान्तिप्रक्रियापछि बर्दियामा रहेर काम गरे । पछिल्लो समय नेपालगन्जमा बसेर राजनीति गर्छन् । त्यसैले उनी यो क्षेत्रको लागि नयाँ हुन् । उनी भन्छन्, ‘यो क्षेत्र वाम गठबन्धनको राम्रो पकड भएको क्षेत्र हो, त्यसैले हाम्रो जित निश्चित छ ।’

स्थानीय तह निर्वाचनमा यो क्षेत्रअन्तर्गत पर्ने कोहलपुर नगरपालिकामा मेयर एमाले र उपमेयर कांग्रेसले जितेको थियो । राप्तीसोनारीमा अध्यक्ष–उपाध्यक्ष कांग्रेसले र नरैनापुरमा अध्यक्ष–उपाध्यक्ष संघीय समाजवादी फोरमले जितेको थियो ।

यो क्षेत्रको प्रदेशसभामा पनि मुख्यतया दुई पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रअन्तर्गत पर्ने प्रदेशसभा (क) र (ख) मा पनि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी कृष्णा केसी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शरदचन्द्र बर्मा उम्मेदवार छन् । कृष्णा सशस्त्र द्वन्द्वकालदेखि माओवादी राजनीतिमा संलग्न छिन् । कांग्रेसका बर्मा पूर्वशिक्षक हुन् । उनको राजनीतिकभन्दा सामाजिक सम्बन्ध बलियो मानिन्छ । (ख) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नारायणप्रसाद गौडेल र वाम गठबन्धनबाट एमालेकी आरती पौडेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । गौडेल राजनीति र सामाजिक क्षेत्रमा परिचित व्यक्ति हुन् । पौडेल पनि राजनीतिसँगै सामाजिक काममा सक्रिय छिन् । दुवैका लागि कोहलपुर नगरपालिका क्षेत्रका मतदाता निर्णायक देखिन्छन् ।

क्षेत्र २ त्रिपक्षीय प्रतिस्पर्धा

नेपालगन्ज उपमहानगरपालिकासमेत रहेको २ नम्बर क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । २०४८ देखि २०७० सम्मका पाँचवटा निर्वाचनमा कांग्रेस र राप्रपाबीच प्रमुख प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा यसपटक यिनै दुई दलबीच तालमेल छ । कांग्रेस–राप्रपाको समर्थनमा राप्रपाका ओमप्रकाश आजाद उम्मेदवार छन् । यसबाट लोकतान्त्रिक गठबन्धन निकै उत्साही देखिन्छ । ‘यो क्षेत्रमा प्रमुख दुई दल नै एक ठाउँमा आएपछि जित निश्चितजस्तै देखिन्छ,’ राप्रपाका तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार रहेकी पिंकी शाह भन्छिन्, ‘दुवै राम्रा उम्मेदवार उठाएकाले जित्न सहज भएको छ।’

वाम गठबन्धन पनि नेपालगन्जको राजनीतिमा चतुर खेलाडी मानिने पशुपतिदयाल मिश्रलाई उम्मेदवार बनाउन पाउँदा जित हुनेमा ढुक्क देखिन्छ । राजपाको सहमहामन्त्री त्यागेर स्वतन्त्र राजनीतिक समूहमा आबद्ध भएका मिश्रलाई एमालेले आफ्नो चुनावचिह्न दिएर मैदानमा उतारेको छ । ‘उहाँ (मिश्र) मधेसी समुदायमा स्थापित नेता भएकोले हामी निकै आशावादी छौं,’ एमालेका जिल्लानेता दत्तप्रसाद आचार्य भन्छन्, ‘यसपटक परिणाम हाम्रो पक्षमा आउने निश्चित छ ।’

निकै आक्रामक चुनावी प्रचारमा हिँडेका संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईले प्रमुख गठबन्धनका उम्मेदवारलाई ठूलै चुनौती दिएका छन् । २०६४ मा मधेसी जनअधिकार फोरमबाट जितेका उनी पूर्वमन्त्रीसमेत हुन् । मुस्लिम समुदायको उम्मेदवार भएकाले भावनात्मक भोट पाउनेमा उनी विश्वस्त देखिन्छन् । यद्यपि, यो क्षेत्रमा राजपाका विजयकुमार गुप्ताको प्रभाव पनि कम छैन । नेपालगन्जको रैथाने मधेसी समुदायका गुप्ता २०४८ सालमा नगरप्रमुख हुँदा राम्रो छाप छोड्न सफल नेता हुन् । उनले काट्ने भोटबाट आजाद, मिश्र र इस्तियाकको भाग्यको पैmसला हुने नेपालगन्जको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

यो क्षेत्रका प्रदेशसभामा पनि रोचक प्रतिस्पर्धा छ । (क) मा कांग्रेसका निरञ्जनसिंह सिजापति र माओवादी केन्द्रका कामता खटिक उम्मेदवार छन् । बजार क्षेत्र रहेको (ख) मा कांग्रेसबाट नेपालगन्जका पूर्वउपमेयर सुरेन्द्र हमाल र एमालेबाट विजय गुप्ताबीच प्रतिस्पर्धा हुँदैछ । हमाल ओलम्पियनसमेत हुन् । मधेसी समुदायका गुप्ता र पहाडी समुदायका हमालबीच हुने प्रतिस्पर्धामा संघीय समाजवादी फोरमका दुर्गेश सिंह पनि उत्तिकै सशक्त देखिएका छन् ।

मैदानमा दुई ‘जब्बर’

निवर्तमान सांसद बादशा कुर्मी र एमालेका पुराना नेता नन्दलाल रोकायाबीचको प्रतिस्पर्धाले बाँके–३ को चुनावी मैदान रोचक बन्दैछ । मधेसी समुदायका कुर्मी र पहाडी समुदायका रोकायाको व्यक्तित्वलाई यो क्षेत्रका ‘जब्बर’ मानिन्छ ।

स्थानीय तह निर्वाचनमा यहाँका तीनवटै तह जितेको एमाले माओवादी केन्द्रको समेत समर्थन पाएपछि निकै उत्साही छ । पार्टीको पूर्वजिल्ला अध्यक्षसमेत रही काम गरेका अनुभवी नेता उम्मेदवार हुनु र गठबन्धनको राम्रो सांगठनिक अवस्था हुनुले जित निश्चितजस्तै रहेका वाम कार्यकर्ता बताउँछन् । लोकतान्त्रिक गठबन्धनका कुर्मी भने मधेसी समुदायको मत आकर्षित गर्ने ध्याउन्नमा छन् । स्थानीय तह निर्वाचनमा आन्तरिक कारणले हारे पनि अहिले पार्टीमा एकताको भावना बलियो भएकाले जित निकाल्न सकिनेमा उनी विश्वस्त देखिन्छन् ।

यस क्षेत्रका प्रदेशसभामा पनि दुई पक्षीय प्रतिस्पर्धाको अवस्था छ । (क) मा लोकतान्त्रिक गठबन्धनले कांग्रेसका चन्तराम थारू र वाम गठबन्धनले माओवादी केन्द्रका आइपी खरेललाई अगाडि सारेको छ । यो प्रदेशमा थारू र पहाडी समुदायको बसोबास छ । (ख) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका लक्ष्मीनारायण शाह र वाम गठबन्धनबाट एमालेका बाबुराम गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ । उक्त क्षेत्रमा पहाडी र मधेसी समुदायको मिश्रित बसोबास छ ।

बाँके अस्थिर मतदाता अधिक रहेको जिल्ला हो । नयाँ बनेका गठबन्धन, दलको सांगठनिक अवस्था र विगतको नतिजालाई आधार मानेर सम्भावित परिणाम आँकलन गर्न नसकिने स्थानीय राजनीतिक विश्लेषक बताउँछन् । त्यसैले उम्मेदवारहरु पनि आफ्नो पक्षमा परिणाम कसरी पार्न सकिन्छ भनेर निकै कसरत गरिरहेका छन् । दलहरुले उम्मेदवारी चयनमा आन्तरिक समस्या व्यवस्थापन गर्न निकै ध्यान पु¥याएका छन् । यद्यपि, असन्तुष्टले बागी हालेका छन् । यसले उम्मेदवारलाई टाउको दुःखाइ भइरहेको छ । ‘यहाँ त दलीय आधारमा भोट आउला र जितौंला भनेर नसोचे पनि हुन्छ,’ वाम गठबन्धनका एक उम्मेदवार भन्छन्, ‘जातीय, क्षेत्रीयलगायत भावनात्मक नारा र साम–दाम सबै अपनाएर चुनाव जित्ने हो ।’

प्रकाशित: १३ मंसिर २०७४ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App