१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभामा कति मत खस्यो ?

सिन्धुपाल्चोक- पछिल्ला १० वर्षमा भएका दुईटा संविधानसभा र स्थानीय तह चुनावको तुलनामा सबैभन्दा कम मत खस्ने क्रममा सिन्धुपाल्चोकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६९ प्रतिशत मतदाताले मात्र मताधिकार प्रयोग गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार सम्पन्न निर्वाचनमा १ लाख ५६ हजार ७ सय ४३ मत खसेको छ। जिल्लामा २ लाख २६ हजार ५ सय ४० मतदाता थिए। ६९ दशमलव १९ प्रतिशत मात्र मत खसेको हो। दुई संविधानसभा र स्थानीय तह निर्वाचनमा खसेको भोटको तुलनामा यो पटक सबैभन्दा कम मत खसेको हो।

      स्थानीय तह निर्वाचनमा भने ७५ प्रतिशत मत खसेको थियो। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ७२ र २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा ७८ प्रतिशत मत खसेको थियो । २०६४ लाई छोड्दा त्यसपछि क्रमशः मतदाता थपिँदै गए पनि मतदान दर भने निरन्तर घटिरहेको तथ्यांकले देखाउँछ।

      मुख्य निर्वाचन अधिकृत दीपक खनाल खसेको मत परिणामलाई उत्साहजनक मान्नु पर्ने बताउँछन् । ‘पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा जुन दरमा मत खसेको छ, त्यो सिन्धुपाल्चोकमा पनि कायम देखिन्छ,’ उनले नागरिकसँग भने।

      यो पटक खसेको मतमा ८३ हजार ९ सय ३५ पुरुष र ७३ हजार ५ सय २ महिला मतदाताले मतदान गरेको पाइएको छ। कुल पुरुष मतदातामध्ये ७३ प्रतिशतले र कुल महिला मतदातामध्ये ६७ प्रतिशतले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन् । पुरुषभन्दा महिला मतदाता संख्या ६ हजार मात्र कम थियो।

      प्रतिनिधिसभा क्षेत्र नं. १ मा ७८ हजार ७ सय ४९ मत खसेको छ । यो कुलमतदाताको ६८ दशमलब ९१ प्रतिशत हो। यहाँ १ लाख १४ हजार ३ सय ४४ मतदाता थिए । यो क्षेत्रमा ४२ हजार २ सय ९ पुरुष र ३६ हजार ४ सय ३४ महिला मत खसेको छ ।

      प्रदेश तर्फ क्षेत्र नं. १ (क) मा ६७ दशकलब ७२ प्रतिशत मताधिकार प्रयोग गर्दा ३९ हजार ८ सय ६४ मत खसेको छ । २१ हजार ४ सय २९ पुरुष र १८ हजार ३ सय २९ महिलाले मत खसालेका छन् । यहाँ ५८ हजार ८ सय ६७ मतदाता थिए।

      क्षेत्र नं. २ को प्रदेश (ख) मा सबैभन्दा बढी ७० प्रतिशत मत खसेको छ । ५५ हजार ४ सय ७७ मतदातामध्ये ३८ हजार ८ सय ८५ मत खस्यो । यहाँ २० हजार ७ सय ८० पुरुष र १८ हजार १ सय ५ महिलाले भोट हाले।

      प्रतिनिधिसभा क्षेत्र नं. २ मा सबैभन्दा बढी मत खसेको पाइएको छ । यहाँ ७७ हजार ९ सय ९४ मत खस्यो । यो कुल मतदाता संख्याका ६९ दशमलब ५१ प्रतिशत हो । यो क्षेत्रमा १ लाख १२ हजार १ सय ९८ मतदाता थिए । यहाँ ४० हजार ८ सय २५ पुरुष र ३८ हजार १ सय ६ महिलाले मताधिकार सुरक्षित गरेका छन् ।

      प्रदेश तर्फ क्षेत्र नं. २ (क) मा ३७ हजार २ सय ९३ ले मतदान गरेका छन् । ५३ हजार ७ सय ५० मतदातामध्ये ६९    दशमलब ३९ प्रतिशतले मतदान गरेका हुन् । १९ हजार १ सय १५ पुरुष र १८ हजार १ सय ७८ महिलाले मत दिए । प्रदेश (ख) मा ४० हजार ७ सय १ अर्थात ६९ दशमलब ६४ प्रतिशत मत झर्‍यो। २१ हजार ७ सय १० पुरुष र १८ हजार ९ सय ८१ महिलाले भोट हाले । यहाँ ५८ हजार ४ सय ४६ मतदाता थिए।

      पार्टी विशेष र लोकतान्त्रिक तथा बाम गठबन्धनको प्रभाव रहेको गाउँका मतदान केन्द्रबाट बढी मत खसेको देखियो। दलीय हैसियत बराबर देखिएका र उम्मेदवाहरु पुग्न नसेका वा कम चासोमा परेका गाउँका केन्द्रमा निकै कम संख्यामा मतदान भएको पाइयो।

      त्रिपुरासुन्दरी गाउँपालिकाको राम मावि (क) केन्द्रमा सबैभन्दा बढी ९० प्रतिशत, चौतारा नगरपालिकाको सिद्धीगणेश मावि केन्द्र (क) र (ख) मा क्रमशः ८५, ८० तथा उसै नगरको सेतीदेवी पञ्चकन्या मावि (क) मा ८० प्रतिशत मत खसेको छ। त्यस्तै हिमाली गाउँ हेलम्बुको सर्कथली आधारभूत विद्यालयको (क) र (ख) केन्द्रमा सबैभन्दा कम क्रमशः ४२ र ४४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७४ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App