१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आमसभा भन्दा घरदैलोलाई प्राथमिकता

सिन्धुली- निर्वाचनको मिति नजिंकिदै गर्दा सिन्धुलीका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन्। मतदातामाझ आश्वासन र आफ्ना एजेण्डा बाड्दै आफुतिर मत तान्नका लागि दलहरु सहरभन्दा गाँउकेन्द्रित छन्।

यस पटकको निर्वाचनमा उम्मेदवारहरुले आमसभालाई भन्दा घरदैलो अभियानलाई बढी प्राथमिकतामा राखेका छन्। जिल्लाका विकट ग्रामिण क्षेत्रमा समेत उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका हुन्। 'हामी निरन्तर घरदैलो अभियानमै जुटेका छौ', प्रतिनिधि सभा सिन्धुली क्षेत्र नं. १ का काँग्रेस उम्मेदवार प्रेमचन्द्र दाहालले भने–‘मतदातालाई प्रत्येकको घरदैलोमै उम्मेदवार आइदियोस् भन्ने चाहना हुन्छ त्यो चाहना पुरा गर्न लागि परेका छौ।’ उनले मतदाताको घरदैलोमा पुग्दा मतदाताले आर्शिवाद दिने गरेको जनाए। मेरो 'जित्ने आधार पनि जनताको आधार हो', उनले भने–‘उम्मेदवार नहुँदै जनताको पिरमर्कामा घरदैलो गरेको थिएँ, अहिले पनि घरदैलोमै जुटेको छु।' स्थानीय तहको निर्वाचनमा दलहरुले विशेष गरि आम सभा र भोजभतेरलाई प्राथमिकता राखेको थिए तर यसपटकको निर्वाचनमा भने दलहरुले फरक तरिकाले मत माग्न व्यस्त भएका छन् ।

'कोण सभा पनि भइरहेको छ तर हामी घरदैलो कार्यक्रममा विशेष जोड दिएर अगाडी बढेका छौ', सिन्धुली क्षेत्र नं. १ प्रदेश क का उम्मेदवार लेखनाथ दाहाल राजनले भने–‘दैनिक घरदैलो कार्यक्रममा व्यस्त छौ।' उनले आमसभालाई भन्दा घरदैलोलाइनै प्राथमिकता दिएको जनाए। घरदैलो पनि भ्याए आमसभा गर्ने नभ्याएमा मतदातामाझ पुग्नै समय दिइने दलहरुको भनाई छ । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि सिन्धुलीबाट २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य निर्वाचित हुने छन् । निर्वाचनको मिति नजिकिएसँगै दलहरुले मतदाता फकाउने मात्र नभएर मतदाता माझ उम्मेदवारका एजेण्डा र पुरा गर्ने बचन समेत घरदैलोमै गएर दिन भ्याएका छन् । अहिले गाँउमा दिनहुँ जसो उम्मेदवार आउँछन्, गोलञ्जोर ४ का एक स्थानीयले भने, 'पत्यारै नलाग्ने आश्वासन दिएका छन् तर पुरा गर्छौ भन्छन् विश्वास कसरी मान्ने ।’ उनले दलका उम्मेदवारले घर घरमै गएर आफ्ना एजेण्डा सुनाउदै मत मागेको बताए।

दलहरुले आमसभाका भाषण भन्दा मतदाताको घरदैलोमा पुग्दा मतदाताको मन खुसी हुने भएकाले उम्मेदवारहरु मतदाताको घरघरमा पुग्न थालेको नेपाली काँग्रेसका पार्टी सचिव कृष्णप्रसाद दाहालले जनाए। २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा प्रतिनिधि सभा सिन्धुली क्षेत्र नं. १ मा वाम गठबन्धनबाट नेकपा एमालेका गणेश पहाडी प्रतिस्पर्धामा छन् भने नेपाली काँग्रेसको तर्फबाट प्रेमचन्द्र दाहाल छन् यस्तै यस क्षेत्रको प्रदेश सभा क मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लेखनाथ दाहाल राजन र नेपाली काँग्रेसको तर्फबाट गङगा गिरी चुनावी मैदानमा छन् यस्तै प्रदेश ख बाट बाम गठबन्धनमा नेकपा एमालेका प्रदिप कटुवा छन् भने नेपाली काँग्रेसका श्याम घिमिरे प्रतिस्पर्धा गर्दै छन्। यस्तै प्रतिनिधि सभा सिन्धुली क्षेत्र नं. २ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हरिबोल गजुरेल छन् भने नेपाली काँग्रेसका तर्फबाट नरेन्द्रजङ थापा चुनावी मैदानमा उत्रिएका छन्। यस्तै यस क्षेत्रको प्रदेश क मा बाम गठबन्धनका तर्फबाट एमालेका विनोद खड्का छन् भने नेपाली काँग्रेसबाट माणिक ढकाल प्रतिस्पर्धी छन् । यस्तै प्रदेश ख मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बसन्त माझी छन् भने नेपाली काँग्रेसको तर्फबाट छेत्रबहादुर बम्जनले प्रतिस्पर्धा गर्दै छन्।

 

प्रकाशित: १२ मंसिर २०७४ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App