१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा 'फोर्स ल्यान्डिङ'

जनकबहादुर शाही/टेकेन्द्र बस्याल

हुम्ला/कोहलपुर- सिमकोट विमानस्थल छोडेको करिब सात मिनेट भएको थियो, जहाज एक्कासि असन्तुलित हुन थाल्यो। तलमाथि बतासिन थाल्यो। ११ हजार ५ सय फिटको उचाइमा अचानक विपद्ले छोपेपछि चालक दलका दुई सदस्य असमञ्जसमा परे। पूरै जहाजभरि उनीहरू मात्रै थिए। सम्पूर्ण सूचकले भयावह दुर्घटनाकै सम्भावना औंल्याइरहेका थिए। त्यसबाट आफूलाई जोगाउने कुरा अब केवल उनीहरूकै तजबिजीमा निर्भर थियो।

'समस्या देखिएपछि आत्तिएर काम थिएन, त्यसैले हामीले इन्जिन बन्द गरेर समस्या समाधान गर्ने प्रयास गर्‍यौं,' चालक साँगे लामाले त्यो क्षण सम्भि्कए, 'तैपनि कम भएन, दुई मिनेटसम्म त जहाजलाई डाँडामा ठोक्किनबाट जोगायौं।'

 चालकले जहाज घुमाएर सिमकोट विमानस्थलमै सुरक्षित अवतरण गर्ने प्रयास नगरेका होइनन्। तर, विमानस्थल टाढा हुँदा बीचमै दुर्घटना हुने सम्भावना देखियो। यस्तो अवस्थामा नजिकको सुरक्षित ठाउँमा अवतरण गराउनुको विकल्प थिएन। त्यो विकल्प बन्यो, कर्णाली नदी। 'इन्जिनमा समस्या आएपछि विमान खस्ने निश्चित थियो, त्यसैले जहाजका सबै ढोका खोलेर तम्तयार थियौं,' सहचालक प्रशान्त शाहले भने, 'भाग्यले नदीमा अवतरण गरियो, नयाँ जीवन पायौं।'

 शाहले भनेजस्तै वास्तवमै उनीहरूले नयाँ जीवन पाएका छन्। चारैतिर डाँडाकाँडा भएको ठाउँमा विमानमा खराबी आउँदा सुरक्षित अवतरणको सम्भावना निकै कम हुन्छ। तर, बिहीबार मकालु एयरमा खराबी देखिँदा भने कर्णाली नदी सुरक्षित स्थल बन्यो। जहाजको अगाडिको भाग नदीको बीच र पुच्छर किनारतिर छ। 'एक मिनेटसम्म त हाम्रो होसहवासै थिएन,' चालक लामाले भने, 'जहाजभित्र पानी छिरेर हाम्रो शरीरमा भरिँदै आएपछि मात्र होसमा आयौं।'

 शाहलाई जहाज पानीमा डुब्दै गरेको देख्दा सपना देखेझैं लाग्यो। आकाशमै आपत्कालीन ढोका खोल्दा जहाज नदीमा खस्नेबित्तिकै बाहिर निस्किन सम्भव भएको उनले बताए। त्यही बुद्धिमत्ताले दुवैको ज्यान जोगियो।

सहचालक शाहको टाउको र खुट्टामा चोट लागेको छ। चालक लामालाई भने घुँडा र छातीमा चोट लागेको छ। दुवै जनाको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ।

जहाजको इन्जिनमा समस्या आउनासाथ टावरलाई जानकारी दिएकाले समयमै उद्धारका लागि सिमि्रक एयरको हेलिकोप्टर घटनास्थल पुग्यो। उक्त एयरका कर्मचारी कमल गौतमका अनुसार घटनाको १० मिनेटमै हेलिकोप्टर पुगेको थियो। 'जहाज नदीमा सुरक्षित अवतरण हुनु र चालक दलका सदस्यको समयमै उद्धार हुनुले ठूलो दुर्घटना टर्‍यो,' उनले भने, 'यस्तोमा अलिकति कमजोरी भएको भए क्षति हुन सक्थ्यो।'

 सुर्खेतबाट कार्गो सामान लिएर सिमकोट गएको नाइन–एन–एकेसी कलसाइनको मकालु एयरको सिंगल इन्जिनवाला जहाज कार्गो झारेपछि दिउँसो ३:४५ बजे सुर्खेतका लागि उडेको नेपाल नागरिक उड्डयन प्राधिकरण हुम्ला कार्यालयले जनाएको छ। कार्यालयका सहायक पवनकुमार अग्रहरीका अनुसार राया गाविसको लेकमा पुग्दा खराबी देखिएको जहाजलाई चालक दलले सिमकोट गाविसको राउतेरान (स्याकस्याक) मा पर्ने कर्णाली नदीमा सुरक्षित अवतरण गराएको हो।

प्रकाशित: २१ श्रावण २०७३ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App