१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अबको चुनौती मतपेटिका संकलन, सुरक्षा र गणना

काठमाडौं- प्रमुख राजनीतिक दलहरूले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
निर्वाचन प्रचारक्रममा उम्मेदवारलाई लक्षित गर्दै आक्रमणका घटना भए पनि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रतिक्रिया दलका नेताहरूले दिएका छन् । दलहरूले अबका चुनौती मतपेटिका संकलन, सुरक्षा र पारदर्शी गणना भएको बताएका छन् । उनीहरूले मतदानमा जनसहभागिता उत्साहप्रद नै भएको जनाएका छन् ।
नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनले पहिलो चरणको चुनावमा मतदाता उत्साहपूर्ण रुपमा सहभागी भएको बताए । ‘छिटफुटबाहेक अकिांश स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ,’ खाँणले भने, ‘केही स्थानमा मतदाता र कार्यकर्तामाथि आक्रमण गर्ने काम भएका छन् ।’
उनले बाजुरा र डोल्पामा कांग्रेसका कार्यकर्तामाथि आक्रमण भएको बताए । ‘बाजुरामा आक्रमणमा परी घाइते भएकालाई उपचारका लागि धनगढी ल्याइएको  छ । त्यहाँ पनि उपचार हुन नसक्ने अवस्था छ,’ उनले भने । चुनाव प्रचारक्रममा धनगढीमा रहेका खाँणले बाजुराका घाइतेको अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएका थिए ।
त्यस्तै एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले सरकारी पक्षबाट केही स्थानमा नियोजित रुपमा घटना गराइए पनि समग्रमा चुनाव शान्तिपूर्ण सम्पन्न भएको बताए ।
‘निर्वाचन प्रचारक्रममा भएका घटनाहरूले मतदानका दिन ठूलै हिंसात्मक घटना हुनसक्ने शंका रहेको थियो तर छिटफुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ,’ रिमालले भने, ‘केही स्थानमा नियोजित रुपमा घटनाहरू गराइएको छ ।’
उनले ताप्लेजुङमा एमालेका दुई कार्यकर्तामाथि खुकुरी प्रहार भएको बताए । ‘दुवैलाई म¥यो भनेर फालिएको थियो । बिहान खोज्दा जीवितै भेटिएका थिए,’ रिमालले भने । उनले अबको चुनौती भनेको मतपेटिका संकलन, सुरक्षा र गणना रहेको बताए ।
दोस्रो चरणमाा मंसिर २१ गते मतदान भएपछि मात्र मतगणना गर्ने कार्यक्रम छ । ‘जनताले बाकसमा खसाएको मतलाई कसरी सुरक्षित गर्ने भन्ने विषय अहिलेको प्रमुख चुनौती हो,’ रिमालले भने ।
राप्रपाका केन्द्रीय सदस्य भरत पाठक हिंसात्मक घटनालाई चुनावसँग जोडेर हेर्नु नहुने बताउँछन् । उनले पनि जनतामा बढेको चेतनाका कारण चुनाव शान्तिपूर्ण भएको बताए ।
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुसालले ६५ प्रतिशत मत खस्नुलाई उत्साहप्रद मान्नुपर्ने बताइन् ।

प्रकाशित: ११ मंसिर २०७४ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App