१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरू

सिन्धुपाल्चोकमा तयार पारिएको मतदान केन्द्र। तस्बिर : ध्रुव दंगाल

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणअन्तर्गत हिमाली र पहाडी ३२ जिल्लामा आइतबार मतदान हुँदैछ । दुवै सभाका लागि प्रत्यक्षतर्फ ७ सय २ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिभा सदस्यका लागि २ सय ६६ पुरुष र १६ महिला उम्मेदवार छन् । त्यस्तै प्रदेशसभा सदस्यका लागि ४ सय पुरुष र २० महिला उम्मेदवार मैदानमा छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यो निर्वाचन संविधान कार्यान्वयनको महŒवपूर्ण कडीका रूपमा रहेकाले सबै मतदातालाई  मतदानमा सहभागी हुन अपिल गरेका छन् । ‘पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ,’ आयोगमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘आइतबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म आआफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भई मतदानमा सरिक हुन सबै मतदातालाई अनुरोध छ ।’
पहिलो चरणको मतदानबाट दुवै सभाका लागि १ सय ११ जना निर्वाचित हुनेछन् । प्रतिनिधिसभातर्फ ३७ सदस्य र प्रदेशसभातर्फ ७४ सदस्य चुनिनेछन् ।
पहिलो चरणको निर्वाचनमा मतदाताको संख्या ३१ लाख ९१ हजार ९ सय ४५ छ ।  त्यसमध्ये १६ लाख ९१ हजार ९ सय ४५ पुरुष र १५ लाख ८६ हजार ५ सय २ जना महिला मतदाता छन् ।
मतदानका लागि ३२ जिल्लामा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र कायम गरिएको छ ।
प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा,
प्रदेश ५ का पूर्वी रूकुम, रोल्पा, प्रदेश ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा र  प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरामा आइतबार मतदान हुँदैछ ।  प्रतिनिधिसभा सदस्यका लागि २७ जिल्लामा एक÷एक र पाँच जिल्लामा दुई÷दुई निर्वाचन क्षेत्र कायम गरिएको छ । दुई निर्वाचन क्षेत्र हुने जिल्लामा नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, बागलुङ र गोरखा छन् ।

मतदाता परिचयपत्र नभए पनि मत दिन पाइने
मतदाता नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र नभए पनि मत दिन पाउने छन् । कुनै पनि मतदातालाई मताधिकारबाट वञ्चित नगरिने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । उनका अनुसार मतदाता नामावली नाम भएको तर मतदाता परिचयपत्र नभएका मतदाताले पनि नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट दिइएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी अन्य परिचयपत्र देखाएर मतदान गर्न पाउने छन् ।
अर्काको नाममा मतदान गर्नेलाई कानुनबमोजिम सजाय गरिने आयोगले जनाएको छ ।  
मतदान केन्द्रमा अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त र बिरामी मतदातालाई प्राथमिकता दिन आयोगले निर्देशन दिएको छ । त्यस्तै सहज ढंगले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोगले निर्देशन गरेको छ । दृष्टिविहीन, शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर मत दिने व्यवस्था मिलाइएको छ ।
४५ हजार पर्यवेक्षक
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षण गर्न विदेशीसहित ५२ वटा संस्थाका ४५ हजारजनाले आयोगबाट अनुमति लिएका छन् । यसरी अनुमती लिनेमा  विदेशी संस्था चारवटा छन् । ती संस्थाका तर्फबाट पर्यवेक्षण गर्न ४ सय जनाले अनुमति लिएका छन् । विदेशी संस्थामा कार्टर सेन्टर, युरोपियन युनियन, एएनएफआरइएललगायतछन् । यस्ता संस्थाले चुनावपछि आयोगलाई पर्यवेक्षण प्रतिवेदन बुझाउनुपर्ने छ ।

प्रकाशित: १० मंसिर २०७४ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App