१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

काठमाडौं- काठमाडौं उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब साढे २ अर्ब रुपैयाँ नतिरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल व्यवस्थापनसँग सम्पूर्ण हिसाबकिताब मागेको छ ।
लामो समयदेखि अर्बौं बक्यौता उठाउन ताकेता नगरेपछि मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय तथा त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय प्राधिकरणले विमानस्थल व्यवस्थापनसँग शुल्कसम्बन्धी सम्पूर्ण हिसाबकिताब मागेको हो ।
लामो समयदेखि विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय र उनको ‘टिम’ ले ठूलो परिमाणको बक्यौता उठाउन ताकेता नगरेपछि प्राधिकरणले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिको संयोजकमा प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ छन् । समितिले काम सुरु गरिसकेको छ ।
‘त्रिभुवन विमानस्थलले विभिन्न वायुसेवा र कम्पनीसँग उठाउन बाँकी रकमको पूर्णविवरण मागेका छौं,’ छानबिन समितिका संयोजक श्रेष्ठले बिहीबार नागरिकसँग भने, ‘विमानस्थल व्यवस्थापनले पूर्णविवरण दिइसकेको छैन, सामान्य ‘ड्राफ्ट’ मात्र पठाएको छ । यसबारे हामी सम्बद्ध वायुसेवा कम्पनीसँग पनि छलफल गर्छौं ।’
प्राधिकरणले छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिएको छ । अर्बौं हिसाबको कागजात धेरै भएका कारण शुल्क नबुझाएका सबै वायुसेवा तथा अन्य कम्पनीसँग पनि छलफल गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।
‘उनीहरूले साँच्चिकै नतिरेका हुन् वा तिरेर पनि बहिखातामा चढाउन बाँकी वा छुटेको हो भन्नेबारे छानबिन गर्छौं,’ श्रेष्ठले भने, ‘यदि बक्यौता शुल्क नउठाएर मिलेमतो गरेको पुष्टि भयो भने सम्बद्ध अधिकारीलाई कारबाहीको सिफारिस गर्नेसम्मको अधिकार छानबिन समितिलाई छ ।’
वायुसेवा कम्पनीले यात्रुसँग उठाएको सेवा शुल्कसँगै उनीहरूले विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत गत असार मसान्तसम्मको नतिरेका हुन् ।
जबकि तिनै वायुसेवा कम्पनीहरूले नेपालमा उडान गरेर वार्षिक झन्डै ८० अर्ब रुपैयाँ आफ्ना देश लैजाने गरेका छन् । नेपालको उड्डयन बजार करिब १ खर्ब रुपैयाँबराबर पुगिसकेको छ । यसमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको हिस्सा करिब १० प्रतिशतहाराहारी छ ।
साढे दुई वर्षदेखि त्रिभुवन विमानस्थल प्रमुखको जिम्मेवारीमा रहेका उपाध्यायले ‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ र ‘आर्थिक प्रशासन नियमावली २०५७’ लाई पूरै लत्याएका कारण उक्त परिमाण बराबको रकम नउठेको हो । विमानस्थलले २०७४ असार मसान्तसम्ममा २ अर्ब ४७ करोड ३९ लाख ६५ हजार २ सय ७ रुपैयाँ शुल्क उठाउन बाँकी छ ।
जति रकम उठ्न बाँकी छ, त्यसमध्ये थोरै हिस्सामात्र उपाध्याय विमानस्थल प्रमुख हुनुभन्दा अगाडिको र ठूलो हिस्सा उनले जिम्मेवारी लिएपछिको भएको तथा यसमा उपाध्यायसहित विमानस्थलको अर्थ महाशाखा, राजस्व शाखामा कार्यरत सबै कर्मचारीको मिलेमतो रहेको स्रोतको दाबी छ ।
‘त्रिभुवन विमानस्थलका महाप्रबन्धक उपाध्यायले नियतवस बक्यौता नउठाएको देखिएको छ र यसमा आर्थिक चलखेलको शंका छ,’ स्रोतले भन्यो, ‘लामो समय बक्यौता उठाउन बेवास्ता गरेपछि प्राधिकरण मुख्यालयले यसबारे पटक–पटक पत्राचार गरे पनि उनले जवाफ दिएनन् ।’
‘विमानस्थल सेवा शुल्क २०६७’ को नियम २९ मा ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने’ उल्लेख छ भने नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र त्यस्तो शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र अन्य कम्पनीको कारोबार रोक्का गर्नसक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ । त्यसैगरी ‘आर्थिक प्रशासन नियमावली २०५७’ को नियम ३.३.५ मा ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने असुलउपर गर्ने जिम्मेवारी विमानस्थल प्रमुखको हुने’ पनि उल्लेख छ ।
अमेरिकामा आयोजना भएको एक कार्यक्रममा भाग लिन कात्तिक तेस्रो साता त्यता गएका महाप्रबन्धक उपाध्याय फर्किएका छैनन् । उनले एक साताभित्र फर्किने जानकारी प्राधिकरणलाई दिएका थिए । विदेशी मुद्राको अवैध कारोबारमा संलग्न भएको आशंकामा प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि निगरानी गरिरहेको छ ।
‘हाम्रो बक्यौता छैन’
यसैबीच नेपाल उडान गरिरहेका केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थललाई आफूहरूले तिर्नुपर्ने बक्यौता नरहेको बताएका छन् ।
युनाइटेड अरब इमिरेट्स (युएई) को एयर अरेबिया, मलेसियाको मलेसिया एयरलाइन्स र भारतको इन्डिगो एयरलाइन्सले त्रिभुवन विमानस्थललाई पछिल्लो पटक शुल्क तिरेको कागजात नागरिकलाई उपलब्ध गराएका छन् ।
ती कागजातअनुसार मलेसिया एयरलाइन्सले गत कात्तिक २ मा अवतरण शुल्क, सुरक्षा सेवा शुल्क र नेभिगेसन शुल्क गरी २१ लाख ९५ हजार, असोज १८ मा विमानस्थल विकास शुल्कवापत ४० लाख ६ हजार, मंसिर ५ मा यात्रु सेवा शुल्कवापत ४८ लाख ८० हजार तिरेको छ ।  
त्यसैगरी इन्डिगोले कात्तिक १७ मा विमानस्थल विकास शुल्कवापत ४७ लाख ८० हजार र यात्रु सेवा शुल्कवापत ३७ लाख ८० हजार तिरेको छ । त्यस्तै एयर अरेबियाले कात्तिक २३ मा यात्रु सेवा शुल्कबापत १ करोड ३० लाख ७२ हजार, कात्तिक १३ मा विमानस्थल शुल्कवापत ८६ लाख ६० हजार र कात्तिक २८ मा ल्यान्डिङ, पार्किङ र नेभिगेसनल शुल्कवापत ९६ लाख ९२ हजार तिरेको छ ।

प्रकाशित: ८ मंसिर २०७४ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App