१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

थवाङमा त्रास, होला मतदान ?

रोल्पा– रोल्पा चुनाबी माहोलका लागि सुरक्षा चुनौतिले अति संवेदनशिल मानिएको छ । त्यसमा पनि रोल्पाको थवाङ झनै संवेदनशिल क्षेत्र हो । यहाँ केही घण्टाका लागि चुनाबी सभा गर्न माओवादी केन्द्रका वर्षमन पुनको टोलीबाहेक अरु कोही पुग्न सकेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बाहूल्यता रहेको थवाङमा भोट खस्छ, खस्दैन सर्वत्र चासोको विषय बनेको छ । चुनावमा सहभागी बन्दै आएका थवाङमा ठूलो संख्याका मतदाता अहिले पनि भोट नखसाल्ने पक्षमा छन् ।

थवाङ यतिखेर तत्कालीन युद्धताकाको संकटकालजस्तो देखिएको स्थानीयहरुको ठम्याई छ । सेना, सशस्त्र र नेपाल प्रहरीको घेराभित्र चुनाव गराउनुपर्छ भन्ने प्रचारले अनौठो सन्देश दिएको थवाङबासीहरु बताउँछन । ‘चुनाव त गराउने नै भए । राज्यको यत्रो संयन्त्र एउटा सानो गाउँमा थुपारिएको छ । कहिले नभएको अहिले देखिँदैछ । आर्मीका अफिसर, प्रहरीका एसएसपीसमेतको टोली खटाइएको छ । आर्मीले नखेले पनि पुलिसले राजनीति गरिरहेका छन् । हाम्रा झण्डा ब्यानर सबै च्यातेका छन्,’ थवाङका नेकपाका युवा नेता अमित घर्तीले भने ।

सुरक्षाको बाक्लो उपस्थिति असहज मानेका थवाङबासीले मानसिक यातना भोगेजस्तो अनुभव गरिरहेका छन । ‘थवाङको पुरानो एकताको बिरासत भत्काउन सबैले जोड गरिरहेका छन । हाम्रो कारणले होइन, राज्यका कारणले जे पनि हुन सक्ने सम्भावना छ । एउटा गाउँमा कतिन्जेल बस्छ यत्रो सुरक्षा र कतिन्जेल तोड्छ हामीलाई,’ अमितले थपे ।

थवाङबासीहरुले २०६४ को चुनावमा तीन मतबाहेक सबै प्रचण्डलाई दिएका  थिए । २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन् । २०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका उनीहरुलेहरुले २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका थिए । २०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकोप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए । २०५४ मा चुनावै भएन । अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो । २०३९ सालको स्थानीय चुनावमा अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्पर्धामा आएका थिए । गत स्थानीय चुनावमा बिभाजित थवाङको मत यसपाला बाडिन्छ वा बाडिदैन सबैतिर चासोको विषय बनेको छ ।

उता थवाङमै रहेको माओवादी केन्द्रको टोली कडा सुरक्षा घेराभित्र रहेर आफ्नो चुनाबी प्रचारप्रसार र भेटघाटमा छ । ‘हामि प्रचार प्रसारमा छौं । दुबैको कार्यक्रम चलिरहेको छ । आमने सामने नभए पनि उनीहरु खारेजी भन्दै हिँडिरहेका छन् । हामी भोट माग्दै हिँडिरहेका छौं,’ थवाङका दिनेश रोकाले भने ।

केही दिन यता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लेटर प्याडमै लेखेर निर्वाचनमा भाग नलिन पत्राचार नै गरेको छ ।
बहिस्कार रुचाउनेलाई समस्या नभए पनि भोट हाल्न चाहनेहरु पछि सम्झेर तर्सिएका छन । ‘यस्तो बेला छ । उहिले सबै एक ठाउँमा थियौं सजिलो थियो । अहिले बाँडिएका छौं,’ थवाङका एक स्थानीयको गुनासो छ ।

रोल्पाको स्थानीय प्रशासनले थवाङको सुरक्षा ब्यवस्था मजबुत बनाइएको बताएको छ । ‘थवाङमात्र होइन, रोल्पाकै सुरक्षा अवस्था मजबुत छ । थवाङमा ठूलो संख्यामा सबै अंगका सुरक्षाकर्मी परिचालित भएका छन् । सुरक्षाका हिसाबले कुनै समस्या छैन,’ रोल्पा प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले बताए ।

प्रकाशित: ७ मंसिर २०७४ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App