१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयोजकसँग अंक बाँड्न बाध्य

काठमाडौं- आइसिसी ट्वान्टी–२० विश्वकपका लागि छनोट हुने लक्ष्यसहित खेलेको नेपालले पहिलो खेलमा सोमबार आयोजक थाइल्यान्डसँग अंक बाँडेको छ ।
वर्षाका कारण नेपाल र थाइल्यान्डबीचको खेल पूरा हुन नसकेपछि दुवै टोलीले समान १ अंक बाँडेका हुन् ।
महिला विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट थाइल्यान्डमा भइरहेको छ । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टोलीले आगामी वर्ष वेस्ट इन्डिजमा हुने महिला विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
सोमबार थाइल्यान्डविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा कुनै विकेट नगुमाउँदै १० रन जोडेको बेला वर्षाका कारण खेल रोकिएको थियो । वर्षाले खेल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका थिए ।
खेल रोकिँदा नेपालकी ओपनर ज्योति पाण्डेले ४ र सरिता मगरले ५ रन जोडेका थिए । त्यसअघि घरेलु मैदानमा नेपालविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने क्रममा थाइल्यान्डले २० ओभर पूरा खेलेर ६ विकेटको नोक्सानीमा ९० रन जोडेको थियो । थाइल्यान्डका लागि नरुमोल चाइवाइले सर्वाधिक २३ रन बनाइन् ।
अन्तिम ओभरसँग क्रिजमा टिकेकी चाइवाइले ३७ बल खेलेकी थिइन् । थाइल्यान्डकी ओपनर नाटाकान चान्तामलाई १८ रन बनाएको बेला नेपालकी सरिता मगरले बोल्ड गरेकी थिइन् । यसै गरी थाइल्यान्डकी कप्तान सोरननारिन टिपोचले १५ र चानिदा सुथिरुवाङले अविजित १३ रन जोडेका थिए ।
नेपालका लागि सरिताले सर्वाधिक २ विकेट लिइन् । उनले ४ ओभरमा ११ रन खर्चेकी थिइन् ।  कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले समान १ विकेट लिए ।
बैंककस्थित टेर्डथाइ मैदानमा नेपाल थाइल्यान्डविरुद्ध जित हासिल गर्दै पहिलो खेलमा सुखद नतिजा निकाल्ने रणनीतिमा थियो । तर रुबिना क्षत्रीको कप्तानीमा रहेको नेपालले पहिलो खेलमै अंक बाँड्नुपरेको छ ।
प्रतियोगिताका लागि महिला टोलीले बंगलादेशमा अभ्यास गरेर थाइल्यान्ड गएको थियो ।
एसिया कप छनोट प्रतियोगितामा आयोजक थाइल्यान्डसँगै नेपाल, हङकङ, युएइ, मलेसिया र चीनको सहभागिता रहेको छ । नेपालले अब आगामी खेलमा मंगलबार हङकङसँग खेल्नेछ । त्यसपछि नेपालले बिहीबार युएइ, नोभेम्बर २४ मा मलेसिया र अन्तिम खेलमा नोभेम्बर २६ मा चीनसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोट क्रिकेट खेलिरहेको नेपाली टोलीमा रुबिनासँगै राष्ट्रिय टोलीकी पूर्वकप्तान नेरी थापा, सरिता मगर, इन्दु बर्मालगायतका अनुभवी खेलाडी छन् ।
नेपालले मंगलबार हङकङलाई हराए छनोट हुने सम्भावना बढ्नेछ । प्रतियोगिताअन्तर्गत पहिलो खेलमा जित हासिल गर्दै हङकङ र युएइले समान २ अंक जोडेका छन् ।
जुनमा नेदरल्यान्डमा हुने आइसिसी महिला विश्वकप क्रिकेटमा ८ टोलीले खेल्नेछन् । त्यसमध्ये एसियाबाट खेल्ने टोलीको मात्र टुङ्गो लागेको छैन । विश्वकपका लागि आयोजक नेदरल्यान्डसँगै बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, युगान्डा छनोट भैसकेका छन् ।

प्रकाशित: ५ मंसिर २०७४ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App