१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लगानी भित्र्याउन नीतिगत स्थायित्व : राजदूत यु

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालमा चीनसहित वैदेशिक लगानी भिœयाउन नीतिगत स्थायित्व चाहिने बताएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनका निर्णयबारे जानकारी दिन चिनियाँ दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा राजदूय युले लगानीमैत्री वातावरण निर्माण गर्न पनि आग्रह गरिन् ।
‘व्यापार तथा लगानीका लागि नेपालले चीनबाट मात्रै होइन, अन्य देशबाट समेत लगानी भिœयाउन थप अनुकूल वातावरण बनाउन प्रतीक्षारत छौं । सरकारको स्थायित्व हुनुपर्छ । नीतिहरुको निरन्तरता र स्थिरता हुनुपर्छ,’ उनले भनिन् । चिनियाँ कम्पनीले समयमै काम नसकेको गुनासोसहितका समाचार आउने गरेको भन्दै राजदूत युले थपिन्, ‘त्यसका कारण केके हुन्, तपाईंहरुले त्यो पनि खोजिदिनुहोला ।’
नेपाली कांग्रेस पनि सहभागी भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवालाई दिएको बुढीगण्डकी जलविद्युत् आयोजना ठेक्का लाइसेन्सलाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रद्द गरेको समयमा चिनियाँ राजदूतको भनाइ सार्वजनिक भएको हो ।
कार्यक्रममा उनले नेपाल र चीनबाट सम्बन्ध समान व्यवहार, आपसी सहयोग र साझा विकास नीतिमा आधारित भएको बताइन् । उनले नेपाल र चीनबीच सीमापार रेलमार्गबारे अध्ययन सुरु भएकोमा खुसी व्यक्त गरिन् । ‘दुवै पक्षबीच प्रारम्भिक अध्ययन सुरु गर्ने सहमति भएको छ,’ उनले भनिन्, ‘यस विषयमा गम्भीर अध्ययन गर्न आवश्यक छ ।’ चिनियाँ रेल्वेका उच्च अधिकारीले काठमाडौं, पोखरा र लुम्बिनीको भ्रमण गर्दै रेलमार्ग निर्माणको सम्भाव्यताबारेमा छलफल गरिसकेका छन् ।
राजदूत युले केरुङ–रसुवा, झाङ्मु–तातोपानी र पुराङ–यारीमा सुक्खा बन्दरगाह निर्माण अघि बढाइने बताइन् । ‘रसुवा स्याफ्रुबेसी र अरनिको राजमार्ग प्राथमिकतामा रहेका छन्,’ उनले भनिन् । भूकम्पपछि तातोपानी नाका बन्द हुँदा नेपाल र चीनबीचको द्विपक्षीय व्यापार पनि घटेको छ । ‘यो भूकम्पभन्दा अघिकै अवस्थामा चाँडै आउने अपेक्षा गरेका छौं,’ युले भनिन् ।
उनले चीनमा तेस्रो चरणको खुलापन सुरु भएको बताइन् । पहिलो पटक सन् १९७८ मा आर्थिक सुधार कार्यक्रम सुरु गर्दा, दोस्रो पटक सन् १९९९ मा विश्व व्यापार संगठन (डब्लुटिओ) को सदस्य बन्दा र अहिले रोड एन्ड बेल्ट इनिसिएटिभ्स (बिआरआई) मार्फत तेस्रो चरणको खुलापन सुरु भएको उनको भनाइ थियो ।
कार्यक्रममा राजदूत युले चिनियाँ कम्युनिस्ट पार्टीको १८औं महाधिवेशनपछि पाँच वर्षमा प्राप्त आर्थिक, सैनिक, विज्ञान तथा प्रविधि, सहरीकरण र यातायात क्षेत्रमा प्राप्त उपलब्धिबारे चर्चा गरेकी थिइन् । भौतिक पूर्वाधारको क्षेत्रमा चीनले गरेको प्रगतिको विवरण प्रस्तुत गर्दै राजदूत युले भनिन्, ‘हाइस्पिड रेलको लिक २० हजार किलोमिटर पुगेको छ । यो संसारकै सबैभन्दा धेरै हो ।’ चीनमा पछिल्लो पाँच वर्षमा करिब ६ करोड ४० लाख मानिस गरिबीको रेखामुनिबाट बाहिर निस्केको उनले बताइन् । ‘यो करिबकरिब फ्रान्सको जनसंख्या जति नै हो,’ उनले भनिन्, ‘सन् २०२० सम्ममा शून्यका पु¥याउने गरी काम सुरु भएको छ ।’ चीनले सन् २०५० सम्ममा चिनियाँ विशेषतासहितको आधुनिक समाजवादी मुलुक बन्ने लक्ष्य लिएको छ । सन् २०४९ मा चीनियाँ कम्युनिस्ट पार्टीले शासन सुरु भएको एक सय वर्ष पुग्नेछ । चिनियाँ राजदूतले प्रेससँग आफ्नो मुलुकको प्रगति र नेपाल नीतिबारे यसरी छलफल गरेको सम्भवतः यो पहिलोपटक हो ।

प्रकाशित: २ मंसिर २०७४ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App