१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भूकम्पमा बाँचेका इरानीद्वारा सहयोगको अपिल

पश्चिमी इरानको सारपोल–ई–जाहब सहरमा भूकम्पका कारण भत्किएको घर अगाडि बसिरहेका इरानी । तस्बिर : एपी

तेहरान– आइतबार राति इरान र इराकको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा बाँचेका इरानी नागरिकले सहयोगको अपिल गरेका छन्। 

भूकम्पबाट प्रभावित भएका इरानीहरु घर बाहिर चिसो मौसममा बसिरहेका छन् । भूकम्पमा परी इरानमा मात्रै मंगलबार साँझसम्ममा करिब पाँच सय ४० जनाको मृत्यु भइसकेको छ भने करिब आठ हजार भन्दा बढी इरानी घाइते भएको बताइएको छ। 

भूकम्पले सबैभन्दा प्रभावित भएको इरानको केरमान्साह प्रान्त जहाँ सयौं घर भत्किएका छन्, उक्त क्षेत्रमा इरानी सरकारले सहयोगका लागि पहल गरिरहेको बताएको छ। 

इरानका राष्ट्रपनि हसन रुहानीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण भूकम्पका कारण राज्यले बनाएको घरहरु बढी प्रभावित भएकाले त्यस्ता घर निर्माण गर्ने विरुद्ध कारबाही हुने प्रतिबद्धता व्यक्त गरेको बिबिसीले जनाएको छ। 
भूकम्प गएको दोस्रो रातपनि केरमान्साहका मानिस सडकमै बसेका थिए । उक्त प्रान्तको मौसम अत्यन्तै चिसो भएकाले भूकम्प पीडितहरुलाई अत्यन्तै असहज भइरहेको बताइएको छ। 

भूकम्पका कारण अत्यन्तै क्षतिग्रस्त भएको क्वासर–ए–सिरिन सहरका ४२ वर्षे अली गुलानीले मौसम चिसो भएका कारण भूकम्पमा बाँचेकाहरुले आफ्नो शरीरलाई तातो राख्नका लागि रातभर क्रेट्स बालेर बसेको बिबिसीलाई बताए।

‘हामी पालमा बसिरहेका छौं र हामीसँग खानका लागि पर्याप्त मात्रामा खाना र पिउनका लागि पानीसमेत छैन,’उनले बताए । ‘तपाईं भोकका कारण बालबालिका रोइरहेको सुन्न सक्नुहुन्छ र यहाँको मौसम पनि अत्यन्तै चिसो छ । चिसोका कारण बालबालिका आफ्ना बाबुआमालाई समातेर बसिरहेका छन्, जुन अत्यन्तै दयनीय अवस्था हो,’ उनले थप्दै भने । भूकम्पपछि औसतमा प्रति घण्टा कम्तीमा तीन पटकसम्म आइरहेको पराकम्पनका कारण मानिसहरु थप आतंकित भएको गुलानीले बताए । आइतबार स्थानीय समयअनुसार रातको ११ बजेर १८ मिनेटमा गएको ७ दशमलव तीन रेक्टर स्केलको भूकम्प पछि मंगलबार दिउँसोसम्ममा कम्तीमा दुई सय पटक भन्दा बढि पराकम्पन गएको बताइएको छ । 
केरमान्साह प्रान्तभित्र राहत पठाइसकेको जानकारी प्राप्त भएपनि आफ्नो सहरका मानिसले भने मंगलबार दिउँसोसम्म कुनैपनि प्रकारको सहयोग प्राप्त नगरेको गुलानीलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । उनका अनुसार क्वासर–ए–सिरिन सहरका मानिसहरु ट्यांकबाट पिउने पानी लिनका लागि सहरको बाहिरी भाग तिर जानुपर्ने बाध्यता रहेको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार भूकम्पमा बाँचेका हजारौं नागरिकले दोस्रो दिन पनि सामूहिक क्याम्प बनाएर वा खुला आकास मुनि रात बिताएका छन्। 

‘रात एकदमै चिसो छ । हामीलाई सहयोग चाहिएको छ । हामीलाई अत्यावश्यक सबै चिज चाहिएको छ । प्रशासनले सहयोगको गति बढाउनुपर्छ,’ भूकम्पका कारण घरविहिन भएकी सारपोल–ई–जाहब सहरकी एक महिलालाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । यस सहरमा भूकम्पका कारण धेरै मानिसको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । इरानमा भूकम्पपछि मानवीय सहायतामा संलग्न भइरहेको एउटा सहयोगी एजेन्सीका अनुसार करिब ७० हजार भूकम्प पीडितलाई आवासलगायतको आवश्यकता रहेको छ । यसैबीच भूकम्पमा परेका इरानी नागरिकलाई आवश्यक रहेको खण्डमा सहयोग गर्न तयार रहेको संयुक्त राष्ट्रसंघले घोषणा गरको छ। 

टेलिभिज कै अनुसार भूकम्पका कारण केरमान्साह प्रान्तको प्रमुख अस्पतालमा नराम्ररी क्षति पुगेका कारण घाइतेहरुको उपचार गर्न अस्पतालले निकै संघर्ष गर्नुपरेको छ।

भूकम्पमा परेर मृत्यु भएकाको सम्झनामा मंगलबार इरानले राष्ट्रिय शोक मनाएको छ । 


 

प्रकाशित: २९ कार्तिक २०७४ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App