१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गत बर्ष ३० करोड बजेट फ्रिज

काठमाडौं-सरकारले पहिलो प्राथमिकतामा राखेको चुनढुंगा खानीसम्म सडक र विद्युत प्रसारण लाइन बनाउने कार्यक्रम लामो समय हुँदा पनि सम्पन्न हुन सकेको छैन। सडक र विद्युत प्रसारण लाइनको योजना कागजमै सीमित हुँदा गत आर्थिक वर्षमा यसैका लागि भनेर छुट्ट्याइएको बजेट समेत फ्रिज भएको छ ।

सरकारले आर्थिक वर्ष ०६५÷६६ देखि चुनढुंगामा आधारित सिमेन्ट उद्योगलाई पहुँच सडक र विद्युत प्रसारण लाइन बनाइदिँदै आएको छ । हरेक वर्ष नयाँ–नयाँ सिमेन्ट उद्योगलाई कार्यक्रममा समावेस गरिए पनि पुराना योजनासमेत सम्पन्न हुन नसकेको पाइएको छ ।

उद्योग मन्त्रालय स्रोतका अनुसार गत आवमा विद्युत र सडक निर्माणमा छुट्ट्याइएको झन्डै ३० करोड रुपैयाँ बजेटसमेत खर्च हुन सकेन । विद्युत प्रसारण लाइन विस्तारका लागि भनेर छुट्ट्याइएको बजेटमध्ये २२ करोड र सडकमा छुट्ट्याइएको बजेट मध्ये झन्डै नौ करोड रुपैयाँ खर्च हुन सकेन । गत आवमा विद्युत प्रसारण लाइनका लागि ६६ करोड ६४ लाख र सडकको लागि ५२ करोड ९५ लाख ३८ हजार रुपैयाँ छुट्ट्याइएको थियो । उद्योग मन्त्रालयले औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रहेको सडक निर्माणको काम सडक विभाग र विद्युत प्रसारण लाइन विस्तार गर्ने जिम्मेवारी विद्युत प्राधिकरणले लिएको छ ।

मन्त्रालयको योजना शाखाका उपसचिव आनन्दकेशरी पोखरेलले पनि गत आवमा केही रकम खर्च हुन नसकेको बताए । ‘गत आवमा छुट्ट्याइएको केही बजेट खर्च हुन सकेन,’ पोखरेलले भने, ‘यस वर्ष थप बजेट छुट्ट्याइएको छ । सिमेन्ट उद्योग पनि थपिएका छन् ।’ सडक विभाग र विद्युत प्राधिकरणले जिम्मा अनुसार काम गरिरहेको उनले बताए ।

मन्त्रालयका अनुसार विद्युत प्राधिकरणले गत आवको अन्तमा असार २८ गतेमात्र बजेट निकासा गर्न अनुरोध गरेको थियो । अर्थ मन्त्रालयले उक्त आवको प्रगति विवरण माग गरेपछि पैसा निकासा नभएको उद्योगले जनाएको छ । प्रगति विवरणमा सन्तुष्ट नभएपछि २२ करोड रुपैयाँ निकासी हुन सकेन । उद्योगबाट पैसा निकासा भएपछि भने खर्च हुन नसके पनि बजेट फ्रिज नहुने व्यवस्था छ ।

विद्युत प्राधिकरण प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक कन्हैयाकुमार मानन्धरले खानीसम्म विद्युत पु¥याउने काम भइरहेको र केही ठाउँमा सम्पन्न हुने क्रममा रहेको बताए । ‘हापुरे–लमही लगायत ठाउँमा प्रसारण लाइन सम्पन्न हुने क्रममा छ,’ मानन्धरले भने ।

व्यवसायी पनि विद्युत प्रसारण लाइन विस्तार र सडक बनाउने काम निकै सुस्त रहेको बताउँछन् । चार–पाँच वर्षदेखि आफ्नो खानीमा विद्युत प्रसारण लाइन बनाउन सुरु गरेको प्राधिकरण नै काम गर्न असक्षम भएको एक व्यवसायीले बताए । ‘विद्युत प्रसारण लाइन बनाउने भनेर चार वर्षदेखि खम्बा गाडे पनि लाइन विस्तार गर्न सकेको छैन,’ ती व्यवसायीले भने । 

केही समयभित्रै सर्वोत्तम सिमेन्ट बजारमा ल्याउन लागेका सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले आफ्नै प्लान्ट लगाएर उद्योग चलाइरहेको बताए । ‘मेरो उद्योगसम्म विद्युत पु¥याउने भनेर खम्बा गाडेको चार वर्ष भयो तर अहिलेसम्म पूरा भएको छैन,’ न्यौपानेले भने, ‘पहिले नै रहेको पुरानो विद्युतबाट चार मेगावाट प्रयोग गरिरहेको उनले बताए ।’

विद्युत प्राधिकरण र वनबीच समन्वय नहुँदा प्रसारण लाइनमा विस्तारमा धेरै समस्या आएको व्यवसायी तथा उद्योग मन्त्रालयका अधिकारीले बताए । त्यस्तै, वन बाहेक यससम्बन्धी कानुनको अभावले पनि विस्तारमा प्रभाव पारेको व्यवसायीको भनाइ छ ।

सडक तथा विद्युत प्रसारणमा राम्रो प्रगति हुन नसकेपछि नेपाल सिमेन्ट उत्पादक संघले कामको जिम्मा व्यवसायीलाई दिन मन्त्रालयमा सुझाव समेत पेस गरेको न्यौपानेले बताए । सडक विभागले नै बाटोको लागत निकाल्ने र सरकार–उद्योगी मिलेर सडक बनाउने योजना बनाउन सुझाव दिएका थिए ।

ठेक्कापट्टा समयमा नहुने, अन्डर इस्टिमेट गर्ने, अग्रिम भुक्तानी लिने तर काम गर्ने जस्ता समस्या सडकमा छन् । त्यस्तै, सरकारले सिमेन्ट उत्पादन गर्न सम्पूर्ण तयारी गरेका उद्योगीलाई भन्दा कामै नगरेका व्यवसायीको सडक पूर्वाधार बनाइरहेको उद्योगीको आरोप छ । पहुँचका भरमा कुनै व्यवसायीले बजेट पारेर पूर्वाधार बनाइरहेको तर सिमेन्ट उत्पादन गर्ने तयारी नभएको व्यवसायीको भनाइ छ ।

हाल सरकारले १२ वटा सिमेन्ट उद्योगमा विद्युत प्रसारण लाइन र १४ वटा उद्योगमा सडक पहुँचको काम गरिरहेको छ । पुराना सिमेन्ट उद्योगसम्म पु¥याउने सडक र विद्युतको लाइन पूरा नहुँदै सरकारले नयाँ उद्योगलाई कार्यक्रममा थपिरहेको छ । हुयाजिया सिमेन्ट, सिद्धार्थ मिनरल्स खानी, बिए मिसेन्ट, सोलुखुम्बु तामाखानी, कञ्चनजंघा सिमेन्ट, युनाइटेड सिमेन्ट, लक्ष्मी सिमेन्ट, मकालु सिमेन्ट, हङ्सी शिवम सिमेन्ट लगायत नयाँ उद्योग विद्युत तथा पहुँच सडक विस्तारमा थपिएको पोखरेलले बताए ।

चालु आवको बजेटमा सडक र विद्युत प्रसारण लाइनमा केहीमात्र बजेट बढाइएको छ । यसको लागि विद्युत प्रसारण लाइन विस्तारमा ५४ करोड ४५ लाख र पहँुच सडकको लागि ६५ करोड ३० लाख ७० हजार रुपैयाँ छुट्ट्याइएको छ ।

प्रकाशित: १९ श्रावण २०७३ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App