१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘लालकिल्ला’ जोगाउने र तोड्ने ध्यानमा गठबन्धन

भोजपुर- भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धन २०४६ पछि जित्दै आएको इतिहासको निरन्तरता दिन चाहन्छ भने लोकतान्त्रिक गठबन्धन ‘लालकिल्ला’ तोडेर नयाँ इतिहास रच्ने योजनामा छ ।
२०४८ को आमनिर्वाचन र संविधानसभामा जित हात पार्न नसकेको नेपाली कांग्रेस यसपटक संघीय समाजवादी पार्टीसँग तालमेल गरेर चुनावमा होमिएको छ । वाम गठबन्धनबाट एमाले र माओवादी चुनावी तालमेलसहित प्रतिस्पर्धामा छन् ।
भोजपुरमा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट माओवादी नेता सुदन किराँती र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेता उमेशजंग रायमाझी मैदानमा छन् । यस्तै प्रदेश (क) मा वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका सचिव अजम्बर राई काङमाङबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश (ख) मा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चारमन्त्री शेरधन राई वाम गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । लोकतान्त्रिक गठबन्धनले जिल्ला पार्टीका पूर्वसचिव गोविन्दबहादुर कार्कीलाई उठाएको छ ।

स्थानीय तहको मत परिणाम हेर्दा वाम गठबन्धन धेरै मतले अगाडि छ । तर दलहरुले तालमेल गरेपछि परिणाम कसको पक्षमा आउँछ भन्न नसकिने अवस्था छ । प्रदेश (क) भन्दा प्रदेश (ख) मा वाम गठबन्धन बलियो रहेको देखिएको छ । स्थानीय निर्वाचनमा प्रदेश (ख) भोजपुर नगरपालिकाबाहेक सबै गाउँपालिका वाम गठबन्धनले जितेका कारण पनि  वाम गठबन्धन उत्साहित देखिएको छ ।  
नौ वटा स्थानीय तह रहेको भोजपुरमा ८१ वटा वडा छन् । भोजपुर यसअघि पनि वाम गठबन्धनकै वर्चस्वमा रहँदै आएको जिल्ला हो । २०६४ बाहेकका हरेक निर्वाचनमा एमालेले जित्दै आएको छ । २०६४ मा पनि वाम गठबन्धनकै माओवादीले जितेको थियो । पछिल्लो स्थानीय तहको मत परिणामअनुसार भोजपुरमा वाम गठबन्धन अगाडि देखिन्छ ।  भोजपुरमा एमालेले चार, कांग्रेसले चार र माओावादी केन्द्रले एउटा स्थानीय तह जितेकोे थियो ।
कांग्रेसले चारवटा स्थानीय तहमा प्रमुख जिते पनि तीनवटामा उपप्रमुखसहित धेरै वडा गुमाएको छ । एमालेले चारवटामा प्रमुख जित्दा थप तीनवटा उपप्रमुख जितेको छ भने दुईवटा स्थानीय तहमा उपप्रमुख गुमाएको थियो । माओवादीले एउटामा प्रमुखसहित दुईवटा स्थानीय तहबाट उपप्रमुख जिताउन सफल रह्यो ।
 कुल ८१ वडा रहेको भोजपुरमा एमालेले ३७ वडा जितेको छ । त्यस्तै कांग्रेसले २५, माओवादी केन्द्र १८ र संघीय समाजवादी फोरमले एउटा वडामा जित हात पारेको थियो ।
स्थानीय तहको प्रमुखलाई आएको मतअनुसार एमालेले २५ हजार ६ सय ८५ कांग्रेसले २० हजार ५६१, माओवादीले १२ हजार ७ सय ६९ र फोरमले २९१६ मत  पाएका छन् । तर स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रुमख पदमा कतिपय तहमा कांग्रेस, माओवादी र फोरमबीच तालमेल भएको थियो ।
ट्याम्के मैयुङ गाउँपालिका र हतुवागढी गाउँपालिकामा कांग्रेस, माओवादी र फोरमको तालमेल थियो भने साल्पा सिलिछो गाउँपालिकामा कांग्रेस र फोरमबीच तालमेल थियो ।
भोजपुरको प्रदेश (क) मा ४० वटा वडा छन् भने प्रदेश (ख) ४१ वटा वडा छन् । यसरी वडा तहसम्मको मतअनुसार एमालेले २५ हजार १२९ मत प्राप्त गरेको छ । प्रदेश (क) मा १२ हजार ५ सय ८३ र २ मा १२ हजार ५ सय ४६ मत छ । त्यस्तै कांग्रेसले २० हजार ६५३ मत ल्याएको छ । प्रदेश (क) मा १२ हजार ४ सय ७९ र क्षेत्र २ मा ८ हजार १ सय ७४ मत प्राप्त गरेको तथ्यांकमा देखिन्छ । माओवादीले १४ हजार ८ सय ९२ मत प्राप्त गर्दा क्षेत्र १ बाट ६ हजार २ सय ६४ र २ बाट ८ हजार ६ सय २८ मत देखिन्छ ।
प्रमुख पदमा करिब ३ हजार मत ल्याएको फोरमले भने वडा तहसम्मको मत जोडेर हेर्दा निकै न्यून देखिन्छ । फोरमले वडा तहको मतमा प्रदेश (क) १ बाट ९ सय र प्रदेश (ख) बाट ३ सय ५२ मत प्राप्त गरेको देखिन्छ ।
वाम गठबन्धनको मत परिणाम जोड्दा कुल योगफल ४० हजार २१ आउँछ भने लोकतान्त्रिक गठबन्धनसँग मात्र २१ हजार ९ सय ५ मत छ । यसको मतअन्तर भनेको १८ हजार ११६ हो ।
प्रदेश (क) मा षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका, अरुण गाउँपालिका भोजपुर नगरपालिकाको १ देखि ५ नम्बर वडा र १० नम्बर वडा, ट्याम्के मैयुङ गाउँपालिकाको १ देखि ५ नम्बर वडा र पौवादुङ्मा गाउँपालिकाको १ र २ नम्बर वडा पर्दछन् ।
स्थानीय तहमा प्रदेश (क) मा एमालेले १८ वडा जितेको छ भने कुल १२ हजार ५ सय ८३ मत ल्याएको छ । त्यस्तै कांग्रेसले १७ वडा सहित १२ हजार ४ सय ७९ मत ल्याएको छ । माओवादीले ४ वडा सहित ६ हजार २ सय ६४ मत र फोरमले एउटा वडा सहित ९ सय मत ल्याएको देखिन्छ ।
प्रदेश (ख) मा आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, ट्याम्के मैयुङ गाउँपालिकाको (६, ७, ८ र ९ वडा), भोजपुर नगरपालिकाको (६, ७, ८, ९, ११ र १२ वडा) र पौवादुङ्मा गाउँपालिकाको (३,४,५ र ६ वडा) पर्दछ ।
प्रदेश (ख) मा स्थानीय तहमा एमालेले १९ वडासहित १२ हजार ५ सय ४६ मत ल्याएको छ । त्यस्तै कांग्रेसले ८ वडा सहित ८ हजार १ सय ७४ मत र माओवादीले १४ वडासहित ८ हजार ६ सय २८ मत ल्याएको देखिन्छ ।

प्रकाशित: २७ कार्तिक २०७४ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App