१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जेब्राक्रसमै तीव्र गतिमा हुँइकिन्छन् सवारीसाधन

काठमाडौं-जेब्राक्रसमा सवारीको गति घटाएर पैदलयात्रुलाई बाटो काट्न प्राथमिकता दिनुपर्ने यातायातसम्बन्धी कानुनमा उल्लेख छ । काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधन कानुनी प्रावधान उल्लंघन गरी जेब्राक्रसमै सवारीसाधन तीव्र गतिमा हुँइक्याउँछन् ।

ट्राफिक प्रहरीका अनुसार जेब्राक्रसमा बाटो काट्न पैदल यात्रुलाई प्राथमिकता दिनुपर्ने भए पनि चालकले सवारीसाधनको गति बढाउने गरेका छन् । ‘चालकले सवारीको गति घटाउनु साटो पैदलयात्रुले बाटो काटिदेला भनेर बेस्कन हर्न बजाउँदै गति बढाउँछन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी सबिन प्रधानले भने, ‘चालक अधीर हुँदा पैदलयात्रुलाई सास्ती मात्र होइन दुघर्टना समेत हुन्छन् ।’

‘पैदलयात्रुको सुरक्षा सुनिश्चितता’ भन्दै महाशाखाले पैदलयात्रु र चालक दुवैलाई सचेत गराउन साउन ८ मा थालेको सचेतना अभियानमा स्वयम्सेवकका रुपमा सडकमा उत्रेका विद्यार्थीले पनि पैदल यात्रुलाई चालकले बेवास्ता गर्दै आएको बताएका छन् । ‘जेब्राक्रसमा हामी उभिएर रोक्न खोज्दा समेत रोक्दैनन््,’ ओरिएन्ट कलेजबाट स्वयम्सेवकका रुपमा आएका विद्यार्थी सन्जिव महर्जनले भने, ‘विशेषगरी दुईपांग्रे र चारपांग्रेले पैदलयात्रु पेल्ने र उछिनेर अगाडि जाने होडमा हुन्छन् ।’ अभियानका लागि जनशक्ति अपुग भएपछि स्काउट र सामाजिक कार्यका सय विद्यार्थीले स्वयम्सेवा गरिरहेका छन् । विद्यार्थीका अनुसार बाटो काट्न जेब्राक्रस प्रयोग गर्ने पैदलयात्रुको संख्या उल्लेख्य रुपमा बढेको छ ।

महाशाखाले पनि अभियानपछि सुधार आएको बताएको छ । ‘अभियानपछि अधिकांश पैदलयात्रुले बाटो काट्न जेब्राक्रस प्रयोग गर्न थालेका छन् भने चालकले पनि सवारीको गति घटाउन थालेका छन्,’ महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले भने, ‘अभियान निरन्तर चलाएर यात्रु र चालक दुवैलाई सचेत गराउनेछौं।’ अहिले महाशाखाले अभियानको रुपमा पैदलयात्रुलाई साउन र भदौमा सचेत गराउने र त्यसपछि जथाभावी बाटो काट्ने पैदलयात्रुलाई समेत कानुनअनुसार कारबाही गर्ने बताएको छ । कानुनमा जथाभावी बाटो काट्ने यात्रुलाई दुई सयदेखि हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

त्यसैगरी जेब्राक्रसमा पैदलयात्रुलाई प्राथमिकता नदिएर हर्न बनाउँदै सवारी हुँइक्याउने चालकविरुद्ध कारबाही नै थालेको छ । साउन १ देखि १५ सम्मको तथ्यांकमा त्यस्ता ३ सय १ जना चालकलाई महाशाखाले कारबाही गरेको छ । त्यस्ता चालकलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ ।

अहिले जेब्राक्रसमा गति बढाउने करिब १० सवारीचालक दिनहुँ ट्राफिकको कारबाहीमा पर्ने गरेका छन् । यस्ता सवारीचालकलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । महाशाखाको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख तथ्यांक अनुसार साउन १ देखि १५ सम्ममा ३ सय १ जना सवारीचालक कारबाहीमा परेका छन् ।

त्यसैगरी पैदलयात्रुलाई पनि पहिलो चरणमा भदौसम्म सचेत गराउने र त्यसपछि कानुनअनुसार कारबाही नै गर्ने महाशाखाले जनाएको छ । जथाभावी बाटो काट्ने पैदलयात्रुलाई २ सयदेखि हजार रुपैयाँसम्म जरिवाना हुने कानुनमा उल्लेख छ ।

चालकको लापरबाहीका कारण गत आवमा ७५ जना पैदलयात्रुले ज्यान गुमाएका छन् । ‘सवारी दुर्घटनामा मारिएका १ सय ६६ जनामध्ये करिब ४० प्रतिशत पैदलयात्रु छन्,’ डिएसपी प्रधानले भने, ‘कतिपयको मृत्यु जेब्राक्रसमै पनि भएको छ ।’ प्रधानका अनुसार अभियानले यस्ता घट्ना न्यूनीकरण गर्न सघाउनेछ । ‘पहिला लेन पालना नगर्ने बानी व्यापक थियो । अभियानपछि लेनको पालना हुन थालेको छ,’ प्रधानले भने, ‘जेब्राक्रसमा पनि केही महिनाभित्र पूर्ण रुपमा सुधार हुनेछ ।’

उपत्यकाका सडकमा कतिपय ठाउँमा जेब्राक्रस संकेत गर्ने सेताधर्सा छैनन् भने भएका ठाउँमा पनि मेटिइसकेका छन् । आवश्यकताअनुसार जेब्राक्रस बनाउन र मधुरो भएको ठाउँमा चहकिलो पार्न सडक विभागले ठेक्का दिइसकेको छ । विभागका अनुसार पानी परिरहेकाले काम हुन सकेको छैन । बर्खा कम हुनासाथ मेटिएका जेब्राक्रस बनाइने सडक विभागले जनाएको छ ।

 

प्रकाशित: १९ श्रावण २०७३ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App