१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीमा बगेको नवौं गैंडाको उद्धार

चितवन- गत साउन अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार कार्य अझै जारी छ । बगेर भारत पुगेको एउटा वयस्क गैंडा उद्धार गरी शुक्रबार बिहान निकुञ्जको सौराहा नजिकको जंगलमा छाडिएको छ । बाढीमा बगेर उद्धार गरिएको यो नवौं गैंडा हो । यसअघि भारतबाट सात र नेपालबाट एक गैंडाको उद्धार गरिएको थियो ।
    नवलपरासी त्रिवेणीसँग जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्बको मदनपुर क्षेत्रमा पुगेको वयस्क पोथी गैंडालाई चितवन निकुञ्जको टोलीले बिहीबार नियन्त्रणमा लिएको थियो । नेपाली सीमानाभन्दा ३० किलो मिटर पर पुगेको सो गैंडाको बारेमा भारतीय अधिकारीले नै निकुञ्जलाई जानकारी दिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
    ‘भारतीय क्षेत्रमा थप दुईवटा गैंडा भेटियो भन्ने जानकारी पाएपछि यहाँबाट गएको टोलीले एउटा गैंडालाई नियन्त्रणमा लिएर उद्धार गरेको छ । अर्कोलाई खोज्दै छ,’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने । गत साउन २८ मा निकुञ्ज भएर बग्ने नारायणी र राप्ती नदीमा आएको ठूलो बाढीसँगै बगेर निकुञ्जका गैंडाहरू भारतीय क्षेत्रमा पुगेका थिए ।
    बाढीपछि भारतीय क्षेत्रमा गैंडा भेटिएको सूचनाका आधारमा निकुञ्जको टोली साउन ३२ गते गैंडा खोजीमा गएको थियो । टोली साउन २० गतेसम्म २१ दिन भारतीय क्षेत्रमा बस्दा आठवटा गैंडाको उद्धार गरेको थियो । पहिलो पटक भदौ १ गते नेपाली सिमानाभन्दा ४२ किलोमिटर पर भारतको बगाहा क्षेत्रबाट एउटा पोथी गैंडाको उद्धार गरेको थियो ।
    त्यसपछि भदौ महिनाभरिमा सातवटा गैंडाको उद्धार गरिएको थियो । भदौ १० मा नेपालको त्रिवेणी क्षेत्रमा भेटिएको एउटा भाले बच्चा गैंडा बाहेक अरु सवै गैंडा भारतीय क्षेत्रबाट उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । भारतीय क्षेत्रबाट उद्धार भएका गैंडा सबै वयस्क पोथी हुन् । उद्धार गरिएका सबै गैंडा ट्रकमा राखेर ल्याई र सौराहा नजिक जंगलमा छाड्ने गरिएको छ ।
    शुक्रबार बिहान उद्धार गरिएको नवौं गैंडा जंगलमा छाड्दा वनमन्त्रालयका सचिव युवकध्वज जिसी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्कालगायतका उच्च सरकारी अधिकारी पनि उपस्थित थिए । एकसिंगे गैंडा विश्वमा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । नेपालमा छ सय ४५ वटा एकसिंगे गैंडा छन् । सबैभन्दा धेरै ६ सय पाँचवटा गैंडा चितवन निकुञ्जमा छन् ।
    भारतमा र नेपालमै भए पनि असुरक्षित अवस्थामा रहेका गैंडालाई उद्धार गर्न मन्त्रालयले पूर्ण सहयोग गर्ने वन सचिव युवकध्वज जिसीले बताए । नयाँ वासस्थान र मानव बस्ति नजिक पुगेको गैंडा आक्रमक हुने र मान्छेसँग जम्काभेट भएमा आक्रमण गर्ने खतरा हुन्छ । यसका साथै तस्करको फन्दामा पर्ने डर पनि उत्तिकै हुन्छ । तस्करले गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागका लागि यसलाई मार्ने गर्छन् ।
    गैंडा मार्नु कानुनी अपराध हो । गैंडा मारेमा पाँचदेखि १५ वर्षसम्म कैद वा पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यसैले गैंडा देखेमा नजिकको प्रहरी कार्यालय वा निकुञ्जको पोष्ट र मध्यवर्ती उपभोक्ता समितिका कार्यालयमा जानकारी दिन निकुञ्ज कार्यालयले सर्वसाधरणलाई अपिल गरेको छ ।

प्रकाशित: २६ कार्तिक २०७४ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App