१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जित दोहोर्‍याउने दाउमा सात उम्मेदवार

दाङ- माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङबाट दोस्रोपटक चुनाव जित्ने दाउमा छन् । पहिलो संविधानसभा निर्वाचनमा यहाँको क्षेत्र नम्बर ३ बाट विजयी भएका उनी अहिले २ नम्बर (साबिक ३) बाटै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् ।
महराले २०६४ को जितको इतिहासलाई निरन्तरता दिइने लक्ष्य लिइरहँदा कांग्र्रेसका राजु खनाल २०७० को आफ्नो सुखद परिणाम कायमै राख्ने रणनीतिमा छन् ।
२०७० को संविधानसभा निर्वाचनमा खनाल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यी दुवै नेता आफ्नो विगतको चुनावी जित दोहो¥याउने रणनीतिमा छन् ।  
महरा र खनाल मात्रै हैनन्, यहाँ यस्ता थुप्रै उम्मेदवार छन् । उनीहरू सबै आफ्नो जित दोहा¥याउन चाहन्छन् ।
यस्तैमध्येका अर्का नेता हुन् शंकर पोख्रेल । २०५१ को संसदीय निर्वाचनमा विजयी पोख्रेलले त्यसयता चुनाव जितेका छैनन् । प्रदेशसभाका लागि उम्मेदवारी दिएका पोख्रेलले २३ वर्षअघिको जित दोहो¥याउने लक्ष्यमा छन् । उनी प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर २ को (क) बाट उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा सदस्यका लागि महरासँग टिकटको रस्साकस्सी गरेका पोख्रेल पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबमा प्रदेशसभा सदस्यमा थन्किएका हुन् ।
संविधानसभा २०७० मा व्यहोर्नुपरेको हारको बदला लिनु पोख्रेलको अर्को लक्ष्य हो । संविधानसभामा उनी क्षेत्र नम्बर ४ मा कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका थिए । पोख्रेललाई यसपाला कांग्रेसका पूर्वजिल्ला सचिव कमलकिशोर घिमिरेले टक्कर दिने भएका छन् ।
यसैगरी मोहन वैद्यको समूहबाट अलग भएर पुनः माओवादीमै फर्किएका इन्द्रजित थारुलाई पार्टी पुनरागमनसँगै जितको इतिहास दोहो¥याउने गतिलो अवसर बनिदिएको छ । उनी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्यमा भिडेका छन् । २०६४ को  संविधानसभा निर्वाचनमा एक नम्बर क्षेत्रबाट चुनाव जितेका थारू माओवादी विभाजनपछि उनी चुनाव बहिष्कारको नीति बोकेको मोहन वैद्य समूहमा मिसिएका थिए ।
उनी रामबहादुर थापासँगै माओवादीमा छिरेका थिए । थारूसँग कांग्रेसका प्रदीप थापा प्रतिस्पर्धामा छन् ।
यसैगरी संविधानसभाको पछिल्लो निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्रबाट विजयी कांग्रेसकी सुशीला चौधरीलाई यसपटकको प्रतिनिधिसभा निर्वाचनमा १ नम्बर क्षेत्रमा जनमत जुटाउनुपर्ने भएको छ । उनीसँग वाम गठबन्धनका तर्फबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीले प्रतिस्पर्धा गर्दैछन् ।
तत्कालीन क्षेत्र नम्बर ५ बाट पछिल्लो संविधानसभा निर्वाचन जितेका कांग्रेसका दीपक गिरी त्यस जितको शृंखला दोहो¥याउने लक्ष्यमा छन् । साबिकको ५ र अहिलेको ३ नम्बर क्षेत्रमा पुनः प्रतिनिधिसभा उम्मेदवार बनेका दीपक गिरी विगतको आफ्नो प्रभाव  कायमै राख्ने रणनीतिमा छन् । पूर्वसिँचाइमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य गिरीको यो क्षेत्रमा राम्रो प्रभाव रहेकाले पनि उनलाई वाम गठबन्धनले रोक्न नसक्ने आँकलन छ ।  वाम गठबन्धनबाट गिरीसँग एमालेका जिल्ला सचिव हीराचन्द्र केसी भिड्दैछन् ।
संविधानसभाको पछिल्लो निर्वाचनमा एमाले नेता शंकर पोख्रेललाई पछि पारेर संविधानसभा प्रवेश गरेका कांग्रेसका बुद्धिराम भण्डारी प्रदेशसभा सदस्य बन्न उस्तै सुखद नतिजा दोहो¥याउने रणनीतिमा छन् । तत्कालीन क्षेत्र नम्बर ४ मा पोख्रेललाई हराएका भण्डारी यसपटक क्षेत्र नम्बर ३ को २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धा एमालेका उत्तरकुमार ओलीसँग हुनेछ । भण्डारीले जित दोहो¥याउने लक्ष्य लिइरहँदा ओलीले हारको बदला लिने दाउ खेल्नेछन् । उनी पछिल्लो संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ५ मा दीपक गिरीसँग पराजित भएका थिए ।
यसैगरी एमालेका रेवतीरमण शर्माले पनि हारको बदला लिने कसरत थालेका छन् । अहिले प्रदेशसभा क्षेत्र नम्बर १ को २ मा उम्मेदवार बनेका शर्मा पछिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसकी पार्वती डिसी चौधरीसँग पराजित भएका थिए ।  

कांग्रेसका ७ पूर्व सांसद उम्मेदवार   
पछिल्लो संविधानसभा निर्वाचनमा विजयी कांग्रेसका ८ सांसद मध्य सात सांसद पुनः उम्मेदवार चुनिएका छन् । क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी सुशीला चौधरी २०७० मा निर्वाचित सांसद हुन् । यसैगरी उक्त निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित पार्वति डिसी चौधरी प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार चयन भएकी छिन् भने त्यो बेलाकी समानुपातिक सांसद एवं कांग्रेस नेता खुमवहादुर खड्काकी पत्नी शिला खड्का पनि यसपटक पुनः समानुपातिक उम्मेदवारको सूचीमा छन् । यसैगरी क्षेत्र नम्बर २ मा २०७० मा क्षेत्र नम्बर ३ मा निर्वाचित राजु खनाल प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ५ बाट निर्वाचित दीपक गिरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । यसैगरी क्षेत्र नम्बर ४ बाट निर्वाचित बुद्धिराम भण्डारी अहिले प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ को (ख) बाट उम्मेदवार बनेका छन् ।
पछिल्लो संविधानसभा निर्वाचनका समानुपातिक सभासद् तथा हालका श्रमराज्यमन्त्री डिल्ली चौधरी प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ को (क) बाट उम्मेदवार बनेका छन् ।  

प्रकाशित: २६ कार्तिक २०७४ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App