१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आजबाट नारायणगढ मुग्लिन सडक पटक-पटक बन्द हुने

चितवन– नारायणगढ मुग्लिन सडक हुँदै गाडीमा यात्रा गर्नेहरुले आजदेखि बीच बीचमा बन्दको झन्झट पनि बेहोर्नु पर्ने छ। अल्लिा वर्षहरुमा दिनमा लगातार छ घण्टासम्म बाटो बन्द गरेर निर्माणको काम हुने गरेको यो खण्डमा आज आइतबारदेखि केही समय गाडी रोक्दै खुलाउँदै सडकको काम हुने भएको छ। अर्को सूचना नआउँदासम्म आज बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म पटक पटक यो सडकमा गाडी बन्द हुनेछ।

‘बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म सडकमा गाडीको चापको अवस्था हेरेरबीच बीचमा हामी गाडी रोक्दै काम गर्ने निधोमा पुगेका छौं,’ नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए। यसरी गाडी रोक्दा एक ढेड घण्टासम्म रोक्ने र छाड्ने प्रबन्ध मिलाएको उनले बताए । सडकमा खस्ने अवस्थामा रहेको चट्टान झार्न शनिबार सो सडक दिनभर बन्द थियो ।

अघिल्ला वर्षहरुमा कम्तिमा छ घण्टा लगातार सडक बन्द गरेर निर्माणको काम हुने गर्दथ्यो। यो पटक चुनाब सुरु भएका कारण मतदाताहरुलाई आवत जावतमा समस्या पर्ने देखेर लगातार बन्द गर्न गाह्रो भएको हो। ‘मतदाताको आवत जावतको विषय मात्रै नभएर निर्वाचन सम्बन्धि अन्य कामका लागि पनि अहिल्यै लगातार रुपमा बन्द गर्न नसकिने अवस्था रहयो’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने।

यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पुर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । यो मार्ग हुँदै दिनहुँ १० हजार गाडी ओहोर दोहोर गर्छन् । हालः साढे पाँच मिटर चौडा यो सडकलाई एसियाली स्तरको दुई लेनको बनाउन नौदेखि ११ मिटर चौडा बनाइँदैछ । सन् २०१५ को अप्रिलमा सम्झौता भएर निर्माणको काम सुरु भएको थियो । सम्झौता गर्दा दुई वर्षभित्र काम सक्ने भनिएको थियो ।

सम्झौता अनुसार सडक निर्माण पूरा हुने अवधि गत बैशाखमै हो । तर अहिलेसम्म करिब ६० प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको आयोजानका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । पटक पटक म्याद थप गर्दै काम पूरा हुने अवधि आउँदो फागुनसम्म पु¥याइएको छ । तर कामको प्रगति हेर्दा सो समयमा पनि निर्माण सम्पन्न हुने आधार देखिएको छैन ।

‘निकै असजिलो ठाउँको पहाड काट्न बाँकी नै छ । लगभग अझै पनि आठ सय मिटर जति पहाड काट्ने काम बाँकी नै रहेका कारण गाडी रोक्नु परेको हो,’ सूचना अधिकारी खनालले भने । गाडी रोक्दा जुगेडी नजिकको भतेरी जंगल, गाइघाटदेखि केराबारीबीचको क्षेत्र, सिमलतालदेखि भालु ढुंगासम्मको इलाका र मुग्लिन बजारमा रोक्ने व्यवस्था मिलाएको उनले बताए ।

नारायणगढ मुग्लिन सडक ३६ किलो मिटर लामो छ । अहिले ३३ किलो मिटरमा विस्तारको काम भइ रहेको छ । गाडी नरोकिदा पनि यो दूरीको सडक पार गर्न घण्टौं लाग्ने पर्छ । बीच बीचमा एक घण्टा डेढ घण्टा रोक्न थालेपछि सो सडक हुँदै यात्रा गर्नु पक्कै पनि सहज नहुने देखिएको छ । सडक आयोजना कार्यालयले सम्भव भएसम्म वैकल्पिक मार्ग हुँदै जान अपिल गरेको छ ।

प्रकाशित: २६ कार्तिक २०७४ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App