१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्यकर्ता नै पत्याउँदैनन् उम्मेदवारका आश्वासन

झापा- चुनावी सभामा होस् अथवा सञ्चारमाध्यममा बोल्दा नै किन नहोस्, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका हरेक उम्मेदवारको नारा समान छ– समृद्धि । कस्तो समृद्धि ? समृद्धि प्राप्तिको बाटो र विधिबारे केही नबोल्ने उनीहरू हरेक चोकमा भाषण गर्दा भने आफूले जिते ‘मुलुकको समृद्धिका लागि जुट्ने’ रेडिमेड, अमूर्त र  अस्पष्ट प्रतिबद्धता फलाक्दै गरेका भेटिन्छन् । तर अधिकांश उम्मेदवारका कुरा मतदाताले त के तिनकै पछिपछि लाग्ने कार्यकर्ताले समेत पत्याउँदैनन् ।

मतदाता लोभ्याउन ठूला आश्वासनको पुल बाँधिरहेका धेरै उम्मेदवारलाई पत्तो नहुन पनि सक्छ, तिनका कुराले मतदातालाई दिक्क बनाइरहेको हुन्छ । तर, कार्यकर्ताको ताली र भोटको लोभमा धेरै उम्मेदवार मतदाताको मन र इच्छा पढ्न सक्दैनन् ।

२०४८ यताका हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारले मतदाता आकर्षित गर्न आश्वासनको बिस्कुन फिँजाउँदै आएका छन् ।  तर काम भने त्यसअनुसार नहुने देखेभोगेका सर्वसाधारण अचेल उम्मेदवारका आश्वासन पत्याउन छाडेका छन् । ‘गफ सुनाएर भोट माग्न आउने चलन कहिल्यै नसकिने भो’, झापा हल्दिबारीका ५६ वर्षीय नन्दलाल पौडेलले भने, ‘एउटा आउँछ यसो गर्छु भन्छ, अर्को आउँछ उसो गर्छु भन्छ । अहिलेसम्म खै कसले के गरे ?’ केही दिनयता घरमा भोट माग्दै आइपुग्ने टोलीलाई उनले प्रस्टै भन्ने गरेका छन्, ‘मैले अरु कसैलाई भोट दिने निश्चय गरिसकेको छु । आश्वासन देखाएर नफकाउनु ।’
केही हक्की मतदाता अपवाद हुन् । तर अधिकांश मतदातासामु प्रस्तुत हुँदा अधिकांश उम्मेदवार आश्वासनका पुल बाँध्न थालिहाल्छन् । आखिर केले उम्मेद्वारलाई त्यस्तो गर्न उक्साउँछ  ? ‘जनमतमार्फत चुनिएपछिको सान, सौकत र शक्तिले,’ राजनीतिशास्त्रका विद्यार्थी गोविन्द राईको अनुमान छ, ‘यी तीन कुराले हरेक उम्मेदवारलाई यस्तो भ्रममा बाँच्ने बनाइदिन्छ कि आफूले जे बोले पनि अरुले पत्याउँछन् भन्ने लाग्दो हो । खासमा चुनावका उम्मेदवारले बोल्ने धेरै कुरा भूmट हो भन्ने आममानसिकतामा गढेर रहेको छ ।’ तैपनि, उम्मेदवारहरू आफूले चुनाव जिते ‘समृद्धिको बहार ल्याइदिने’ आश्वासन भने बाँडिरहेकै छन् ।
विद्यार्थी राईले भनेजस्तै उम्मेदवारहरूसँगै हिँडिरहेका उनैका कार्यकर्ता पनि आश्वासन सुन्दा आफंै हाँस्छन् । केही दिनअघि कांग्रेसले भद्रपुरमा आयोजना गरेको चुनावी सभामा नेता कृष्णप्रसाद सिटौला ‘कांग्रेसले जिते मात्रै मुलुक समृद्ध हुने’ र ‘झापा ३ मा मेरो जितले मात्रै क्षेत्रको सही प्रतिनिधित्व हुने’ बताइरहेका थिए । चार तारा र रुख अंकित टिसर्ट लगाएका एक युवकले सँगै रहेका साथीसँग भनिहाले, ‘गफै त हो नि सम्धी !’  
भद्रपुरकै एक निजी स्कुलमा पढाउने र बिहान दुईटा प्स टु भ्याउने अर्जुन प्रधान थिए उनी । साथीसँग गरेको कुराको व्याख्या गरिमाग्ने नागरिकको अनुरोधमा उनको तर्क थियो, ‘यस्ता कुरा हामी २०४८ सालदेखि सुन्दै आएका छौं । आजसम्म कुन नेताले मेरा कारण यो–यो काम भयो भन्न सक्छन् ?’
वाम गठबन्धनका उम्मेदवार जिताउन झापा क्षेत्र नम्बर १ मा सक्रियतापूर्वक लागेको बताउने एमाले कार्यकर्ता दीपेन लुइँटेल पनि आफ्ना नेताको आश्वासन सुन्दा लज्जाबोध हुने बताउँछन् । ‘विपक्षीलाई ट्याकल गर्न पनि यत्ति भन्नैपर्छ । तर, मलाई थाहा छ चुनाव जितेर गए पनि ती काम हुनेवाला छैनन् !’
आफ्नो दलले चुनाव नजिते ‘आत्मसम्मानमा ठेस पुग्ने’ चिन्ता गर्ने कार्यकर्ताको ठहर भन्दा सर्वसाधारणको निष्कर्ष अलि फरक छ । घरवरिपरिको डेढ बिघा जमिनमा चियाखेती गर्दै आएका हल्दिबारीका पौडेलको गुनासो ठूलो राजनीतिक मुद्दामा आधारित भने छैन । गाउँमा भएको बाटो बनाइदिने  र खोला तटबन्धनको काम गरिदिने आश्वासनमा गाउँका धेरैले धेरै उम्मेदवारलाई मतदान गरिसके । त्यही सूचीका एक पात्र हुन् पौडेल । उनीहरूको मतले कोही सांसद बने, कोही संविधानसभाको सभासद् । स्थानीय निकाय र अहिलेको तहमा पनि जिम्मेवारीमा पुगे । तर, कसैले भनेअनुसारको कुनै काम नगरेको उनको ठहर छ । केही दिनयता गाउँमा दलका कार्यकर्ताको दौड बाक्लो भएको छ । कहिले वाम गठबन्धनका समर्थक अनि कहिले कांग्रेसका समर्थक उनको घरमा आउँदै ‘कन्भिस’ गर्न खोजिरहेका छन् । ‘उम्मेदवारको नाम लिँदै फलाना दाइले तपाइँलाई भेट्न खोज्नुभएको छ भन्छन्’, पौडेलले भने, ‘जिन्दगीमा कहिल्यै नचिनेको र नसम्झेको मान्छेले भेट्न खोज्यो भन्दा म पत्याउँछु र !’
मतदाता लोभ्याउन ठूला आश्वासनको पुल बाँधिरहेका धेरै उम्मेदवारलाई पत्तो नहुन पनि सक्छ, तिनका कुराले मतदातालाई दिक्क बनाइरहेको हुन्छ । तर, कार्यकर्ताको ताली र भोटको लोभमा धेरै उम्मेदवार मतदाताको मन र इच्छा पढ्न सक्दैनन् । सधैं एकैखाले अजेन्डा, कहिल्यै पूरा नहुने योजनाको बिस्कुन फिँजाउने उम्मेदवार आफैंचाहिँ के सोच्छन् त ? यस्तो प्रश्न तेस्र्याउँदा उनीहरू झन् ‘रेडिमेड’ उत्तर पस्किन्छन् । ‘उम्मेदवार भएपछि मतदातासामु आफ्नो प्रतिबद्धता व्यक्त गर्ने हो, त्यसलाई आश्वासनको पुल भनेर अथ्र्याउनु हुँदैन’, झापा –२ मा वाम गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार बनेका बिर्ख प्रधानले भने, ‘दल र आफ्नो विचार जनतामाझ लैजाने र त्यसलाई अनुमोदन गराउने स्वाभाविक प्रक्रिया हो ।’ आफूले अनावश्यक आश्वासन नबाँड्ने उनको दाबी छ ।
लामो समय कानुन व्यवसायमा रहेर अहिले झापा १ बाट प्रदेशसभामा कांग्रेस उम्मेदवार बनेका अशोक पोखरेल ‘आश्वासनमा जनता नभुलिने’ बारे आफू सजग रहेको बताउँछन् । ‘हाम्रो राजनीतिले वास्तविक अर्थको राजनीतिको तेजोबध गरेको छ’, उनले भने, ‘जनताको चरम अविश्वास त्यसैको परिणाम हो । त्यसैले मैले ठूला आश्वासन दिएको छैन ?’ कुनै योजनाबेगर नै मत मागिरहनुभएको छ त भन्ने नागरिकको प्रश्नमा उनको उत्तर थियो, ‘राजनीतिलाई शुद्धीकरण गर्ने मेरो योजना छ । म त्यही भनेर मत माग्दैछु ।’

प्रकाशित: २५ कार्तिक २०७४ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App