१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एन्फाले बैठक बोलायो

काठमाडौं– अध्यक्षको निर्वाचनसहित विभिन्न विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले साउनको अन्त्यमा कार्यसमिति बैठक डाकेको छ।

तीन उपाध्यक्ष र एक सदस्यलाई पुनर्बहाल गरेपछि एन्फा बैठक पहिलो पटक बोलाइएको थियो । विश्व फुटबल महासंघ (फिफा) को निर्देशनपछि एन्फाले जेठ १९ मा उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्वाङलाई पुनर्बहाली गरेको थियो । फिफाले चार जनाको पुनर्बहालीसँग एन्फा अध्यक्ष निर्वाचन छिटो गर्न निर्देशन दिएको थियो ।

त्यही निर्वाचन तयारीका लागि बैठक डाकिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । ‘मुख्यतः अध्यक्षको निर्वाचनका विषयमा छलफल गर्न साउन ३२ मा बैठक बोलाइएको छौं,’ उनले भने, ‘त्यो सँगै निर्वाचन, आर्थिकलगायत अन्य विषयमा पनि छलफल गर्नेछौं ।’

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले १० वर्षको प्रतिबन्धसहित झन्डै २१ लाख जरिवाना तोकेको थियो । त्यसपछि एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो।

अबको बैठकमा साधारणसभा, कार्यसमितिको रिक्त पदको निर्वाचन, निर्वाचन नियमावली, वार्षिक कार्यक्रम, आर्थिक प्रतिवेदन लगायतका विषयमा छलफल हुने बताइएको छ । २०७० मा निर्वाचित अध्यक्ष थापा कारबाहीमा परेको र उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको गतवर्ष मृत्यु भएकाले दुईपदक रिक्त छन् । तुलाधरले भने, ‘रिक्त दुवै पदको निर्वाचनका विषयमा छलफल हुनेछ ।’

एन्फाको कारबाहीमा परेर २०७२ सालभर कुनै पनि प्रतियोगितामा भाग लिन नपाएका ए डिभिजन क्लब हिमालयन शेर्पा र फ्रेन्ड्सका विषयमा पनि बैठकमा छलफल हुनेछ । ‘दुई क्लबमाथिको प्रतिबन्धको अवधि सकिएको छ,’ सिइओ तुलाधरले भने, ‘अब के गर्ने भन्ने विषयमा पनि निर्णय लिनुपर्नेछ ।’

प्रकाशित: १९ श्रावण २०७३ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App