दा भिन्ची : समलिंगी थिए ?

शनिबार, २५ कार्तिक २०७४, ०८ : ०७ सुवास घिमिरे

लिओनार्दो दा भिन्चीको जन्म पाँच सय ६५ वर्षअघि फ्लोरेन्स सहरबाट करिब २७ किलोमिटर पश्चिमको भिन्ची गाउँकी एक गरिब परिवारकी १६ वर्षे बाला क्याटरिना लिप्पीको कोखबाट भएको थियो ।

मानिसको मुस्कानको रहस्य बुझ्न उनले मानव शव र अनगिन्ती घोडाको टाउको चिरफार गरी ओठमा आउने नसाबारे अनुसन्धान गरे । उनको मुस्कानसम्बन्धी वैज्ञानिक अध्ययन नै मानव मुस्कानको पहिलो अध्ययन मानिन्छ ।

लियोनार्दो कुमारी आमाबाट जन्मिएका हुन् । पछि उनका पिता पिएरोले क्याटरिनाको विवाह एक किसान परिवारमा गरिदिए । भिन्ची समलिंगी, साकाहारी, बायाँ हात चल्ने, नास्तिक र औपचारिक शिक्षाविहीन थिए । यस्ता व्यक्ति कसरी महान् वैज्ञानिक, इन्जिनियर, शरीर–रचना विज्ञ र विश्वविख्यात कलाकार बन्न पुगे ?
यस्तै जिज्ञासा मेटाउने पुस्तक भर्खरै विश्व बजारमा आएको छ– लिओनार्दो दा भिन्ची । अल्बर्ट आइन्स्टाइन, स्टिभ जब्स र बेन्जामिन फ्रांक्लिनका रोचक जीवनीबाट प्रसिद्धि पाइसकेका लेखक वाल्टर आइज्याक्सनकृत भिन्चीको जीवनीले अहिले विश्व पुस्तक बजारमा तहल्का मच्चाइरहेको छ ।
लिओनार्दोका हस्तलिखित करिब सात हजार दुई सय पृष्ठका नोट र अन्य इतिहासकारका अध्ययनपछि लेखिएको यस कृतिले उनको समग्र जीवनलाई निकटबाट चियाउन सघाउँछ । कुनै पनि काममा लामो समय स्थिर हुन नसक्ने लियोनार्दो कसरी महान् चित्रकार बने ? पुस्तकले जिज्ञासा मेटाएको छ । पाँच सय ९९ पृष्ठको पुस्तकमा लियोनार्दोले बनाएका एक सय ३० भन्दा बढी चित्राकृति समेत समेटिएका छन् ।
लेखक आइज्याक्सन भन्छन्, ‘सायद अविवाहित महिलाबाट जन्मिएका र औपचारिक शिक्षा नपाएकै कारण भिन्चीले महान् उपलब्धि हासिल गरे । तत्कालीन फ्लोरेन्स राज्यको प्रतिष्ठित परिवारमा जन्मिएका भए उनलाई कुनै पेसामा लगाउने उद्देश्यसहित शिक्षा दिइन्थ्यो, जसकारण उनले कला, पृथ्वीको बनोटदेखि मानव शरीरसम्मको गहन अन्वेषण गर्न सक्दैनथे ।’
भिन्चीले आफ्नो जीवनकालमा ३० भन्दा बढी मानव शव चिरेर अध्ययन गरे र नोटबुकमा सुन्दर चित्रसहित रेकर्ड राखे । उनले अन्वेषण गरेका मुटु, रक्तचाप र अन्य शारीरिक प्रक्रियासम्बन्धी तथ्य एक वा दुई सय वर्षपछि मात्र वैज्ञानिकले पत्ता लगाए । विडम्बना ! भिन्चीले कोरेको मानव शरीर, पृथ्वीको बनोट, उड्ने तथा गुड्ने यन्त्र र अन्य अध्ययन पुस्तकका रूपमा कहिल्यै प्रकाशन भएनन् । आज पर्यन्त उनका अन्वेषण, अनुसन्धान र तथ्यलाई आधार मानेर वैज्ञानिकहरूले नयाँ तथ्य पत्ता लगाउँदै छन् । विज्ञानको क्षेत्रमा उनले पाँच सय वर्षअघि पत्ता लगाएका कुरा उतिबेलै किताबका रुपमा प्रकाशित भएका भए सायद हाम्रो विज्ञानसम्बन्धी बुझाइ पनि एक–दुई सय वर्षअघि बढिसकेको हुने थियो कि !
सन् १४०० तिरको फ्लोरेन्स युरोपको सबैभन्दा बढी साक्षर सहर थियो, जहाँको एकतिहाइ जनसंख्या साक्षर थियो । फ्लोरेन्समा सबैभन्दा बढी छापाखाना खुलेका थिए । आइज्याक्सन लेख्छन्, ‘सन् १४७२ मा फ्लोरेन्समा ८४ जना सिकर्मी, ८३ जना रेसमकर्मी, ३० जना चित्रकार र ४४ जना सुनारले काम गर्थे । फ्लोरेन्स ब्यान्किङदेखि विश्वविद्यालयसम्मको एउटा केन्द्रबिन्दु थियो । युरोपको पुनर्जागरण युगको सुरुवात हुँदै गर्दा १२ वर्षका किशोर लियोनार्दोलाई कलाबारे बुझ्न र सिक्न  फ्लोरेन्सभन्दा उत्तम सहर अर्को थिएन ।
करिब पाँच फिट आठ  इन्च अग्ला लियोनार्दो राता र रंगिचंगी लुगा लगाएर घोडाचढी फ्लोरेन्स सहर घुम्थे । उनी शारीरिक रूपमा अत्यन्त सुन्दर थिए र मानिससँग घुलमिल हुन सक्ने विशेष कला उनीमा थियो । आफूभन्दा २३ वर्ष कान्छा महान् कलाकार मिकलान्जलो पनि सोही सहरमा बस्थे । यी दुवै कलाकारको ख्याति फ्लोरेन्समा मात्र नभई भेनिस, मिलान र फ्रान्ससम्म फैलिएको थियो । युवा मिकलान्जलो लियोनार्दोप्रति अति इष्र्या गर्थे, उनी शारीरिक रुपमा खासै सुन्दर थिएनन् र खानपिनमा पनि लियोनार्दोजस्तो सोखिन र उच्चकोटिका थिएनन् । लियोनार्दो मूर्तिकारलाई भन्दा चित्रकारलाई महान् ठान्थे । तर, मिकलान्जलोप्रति उनको दुर्भावना थिएन ।
लियोनार्दो हरेक वस्तुको मिहीन अध्ययन गर्थे । ती तथ्यलाई चित्रसहित आफ्नो नोटबुकमा लेख्थे । दाहिनेबाट देब्रेतिर लेख्ने उनको बानी थियो र कुनै गोप्य कुरा लेख्नुपर्दा उल्टो अक्षरमा लेख्ने विलक्षण प्रतिभा पनि उनीमा थियो । लियोनार्दोको कम्मरमा एउटा नोटबुक कहिल्यै छुट्दैनथ्यो । कल्पना शक्ति असीमित थियो उनको । सात सय ३० तरिकाको पानीको बहाव र बगेको पानीको वर्णन ६७ फरक शब्दले आफ्नो नोटबुकमा लियोनार्दोले लेखेका छन् । नदीबाट सहरमा पानी तान्ने, युद्धका निम्ति ट्यांकर बनाउनेदेखि तत्कालीन राज्य वा नगरको सामरिक रुपरेखासमेत उनले बनाउँथे । लियोनार्दो भन्थे, ‘मानिसले आफ्नो उच्च कल्पना शक्तिबाट अनेकन् सुन्दर आविष्कार गर्लान् तर त्यो प्रकृतिजस्तो सुन्दर र सरल कहिल्यै हुनेछैन ।’
चित्रकार भएकाले लियोनार्दोले प्रकाश र यससम्बन्धी बृहत् अध्ययन गरेका थिए । उनले कुनै वस्तुमा प्रकाश पर्दा देखिने चमकसम्बन्धी ज्ञानलाई आफ्नो चित्रकलामा पर्याप्त प्रयोग गरे । चित्रमा टाढा देखिने आकृतिलाई उनी कुनै स्पष्ट आकार दिँदैनथे । चित्रमा प्रकाशले दिने चमक र त्यसले मानिसको आँखामा पर्ने प्रभावबारे सायदै कुनै कलाकारले सूक्ष्म ज्ञान हासिल गरेका छन् । त्यसैले त उनका दुई विश्वविख्यात चित्र ‘मोनालिसा’ र द लास्ट सपर आजसम्म चित्रकारिताको अनुपम उदाहरण मानिन्छ । कतिसम्म भने लियोनार्दोले आफ्नो नोटबुकको ३० पृष्ठमा एक हजार पाँच सय शब्द छायासम्बन्धी विषयका लागि खर्चेका छन् ।
लियोनार्दोका चित्रमा मुस्कान, शरीरको हाउभाउ र घुम्रिएको कपाल उत्कृष्ट रूपमा प्रस्तुत भएका हुन्छन् । मानिसको मुस्कानको रहस्य बुझ्न उनले मानव शव र अनगिन्ती घोडाको टाउको चिरफार गरी ओठमा आउने नसाबारे अनुसन्धान गरे । उनको मुस्कानसम्बन्धी वैज्ञानिक अध्ययन नै मानव मुस्कानको पहिलो अध्ययन मानिन्छ । कुन नसाले अनुहारमा मुस्कान ल्याउँछ भन्नेबारे लियोनार्दोले नोटबुकमा कैयौँ चित्र र धेरै शब्द लेखेका छन् । उनी भन्थे, ‘चित्रकारले चित्र बनाउँदा पहिला भित्री बनावट, अस्थिपञ्जर, शरीरका भाग अनि मात्र बाहिरी भावभंगीमा कोर्नुपर्छ ।’
त्यसैले त मोनालिसाको चित्रमा झट्ट हेर्दा मुस्कान देखिन गाह्रो पर्छ । मोनालिसाको निधार, आँखा र अन्य भागमा हेरेपछि ओठमा त्यो विश्वचर्चित मुस्कानको झल्को मात्र पाइन्छ । त्यो मुस्कान उनकी आमाको थियो वा उनका प्रेमी सलाईको ? यसबारे लेखक आफ्नो बुझाइ मात्र पाठकलाई पस्कन्छन् । करिब १६ वर्ष लगाएर लियोनार्दोले मोनालिसा कोरेका हुन् । आफ्नी पत्नीको चित्र बनाउन लगाउने फ्लोरेन्सका रेशम व्यापारीलाई भिन्चीले त्यो चित्र कहिल्यै दिएनन्, बरु त्यसलाई पूर्णता दिन उनी वर्षौंसम्म तल्लिन रहे । उनी भन्थे, ‘विलक्षण प्रतिभा भएका मानिसले एकदमै कम काम गर्दा पनि अत्यन्त धेरै उपलब्धि हासिल गर्न सक्छन् ।’
लेखक आइज्याकसन लिओनार्दोलाई ‘काम पूरा नगर्न माहिर’ अर्थात् ‘मास्टर अफ द अनफिनिस्ड’को उपमा दिन्छन् । लिओनार्दोले जीवनकालमा थुप्रै चित्रकला पूर्ण गरेनन् । पूर्ण गरिएका चित्रकला समेत त्यसका वास्तविक हकदारलाई कहिल्यै हस्तान्तरण गरेनन् । जीवन, पृथ्वी र प्रकृतिको गहन रहस्य बुझ्न तल्लीन लिओनार्दो चित्र कोर्न सुरु गरेको वर्षौं पछिसम्म स्ट्रोक थपिरहन्थे, थन्क्याउँथे र फेरि नयाँ अनुभूतिपश्चात् त्यसमा फर्कन्थे । आइज्याक्सन लेख्छन्, ‘जीवनको अन्तिम समयसम्म उनी मोनालिसामा स्ट्रोक थप्दै थिए । प्रकृतिसम्बन्धी अध्ययनले उनको कलालाई प्रेरित ग¥यो र कलाले प्रकृतिको प्रवृत्ति बुझ्न सहयोग ग¥यो ।’
लिओनार्दोले नोटबुकमा लेखेकोमध्ये उपलब्ध एक चौथाइ अर्थात् सात हजार दुई सय पृष्ठमा आफ्नो व्यक्तिगत अनुभव र पारिवारिक झमेलाबारे एकदमै कम उल्लेख छ ।
पिता पिएरोले लियोनार्दोलाई कहिल्यै वैध सन्तान मानेनन् । तथापि पिएरो फ्लोरेन्सको चर्चित नोटरी भएकाले सहरमा राम्रै प्रभाव थियो । त्यसैले उनले लिओनार्दोलाई केही महŒवपूर्ण पेन्टिङको काम दिलाउन सफल भए । यसरी दिइएको काम लियोनार्दोले समयमै सक्दैनथे, त्यसैले पिता पिएरोसँग उनको सम्बन्ध बिग्रिएको थियो । आफ्नो मृत्युपछि पनि इच्छापत्रमा पिएरोले लिओनार्दोलाई जायजेथा केही दिएनन् ।
१२ वर्षको हुँदा लियोनार्दो पिएरोसँग फ्लोरेन्स गए । फ्लोरेन्सका नामुद कलाकार भेरकियो पिएरोका ग्राहक थिए । लियोनार्दोले भेरकियोको स्टुडियोमा कला सिक्न र काम गर्न थाले । जुन क्रम एक दशकसम्म चल्यो । त्यहीँ रहँदा सुनको काम गर्ने एक १५ वर्षीय  किशोरसँग शारीरिक सम्पर्क राखेका कारण लियोनार्दो जेल परे । समलैंगिक सम्बन्धलाई कडाइका साथ लिइने त्योबेला उनले मृत्युदण्ड पाउने खतरा थियो तर २४ वर्षीय लियोनार्दोसँगै सहरका केही धनाढ्य परिवारका केटाहरू समेत त्यो काण्डमा परेकाले मृत्युदण्डबाट बचे ।
लिओनार्दोले जीवनकालमा धेरै केटासँग सम्बन्ध राखे । जसमध्ये एक थिए, जियान जोकोमोको प्रदी, जसलाई उनले सलाई अर्थात् ‘बदमास फुच्चे’ (लिटल डेभिल) भनेर प्रेमपूर्वक जिस्क्याउँथे । तिनीसँग उनले २८ वर्ष बिताए । यी दुईबीच गहिरो सम्बन्ध रहेको कुरा अध्ययनले पुष्टि गरेको पुस्तकमा उल्लेख छ । आफूभन्दा कान्छा र अत्यन्त सुन्दर युवक जियानलाई लिओनार्दोले आफ्ना विभिन्न कलाकृतिमा मोडलको रूपमा समेत प्रयोग गरेका छन् ।
लिओनार्दो आफ्ना अनुसन्धान र अन्वेषणलाई पुस्तकका रूपमा प्रकाशन गर्नुभन्दा ज्ञान प्राप्त गर्न बढी लालायित थिए । आइज्याक्सन लेख्छन्, ‘उनले जुन–जुन विषयमा अन्वेषण गरे, त्यो आफ्नै कुतूहलता मेटाउन र आफ्नै खुसीका खातिर गरे, कुनै नाम कमाउने अथवा समाजलाई अघि बढाउने उद्देश्यले होइन ।’ साथीभाइसँग मिलनसार भए पनि लियोनार्दोले आफ्ना शोध बाँड्ने र छलफल गर्ने गरेनन् ।
ठूला अक्षरले नोटबुकको कुनै एउटा पृष्ठको माथिल्लो देब्रेभागमा एक दिन उनले लेखे, ‘सूर्यले परिक्रमा गर्दैन ।’ सूर्यले पृथ्वी परिक्रमा गर्छ भन्ने विश्वास व्याप्त रहेका बेला लियोनार्दोले किन त्यो लेखे भन्ने जिज्ञासा अझै छ । सन् १५१० तिर आफूले पृथ्वीसम्बन्धी गरेको अध्ययनले ब्रह्माण्डमा पृथ्वीको स्थानबारे घोत्लिन मन लागेको थियो ।
आफूलाई मननपरेको काम गर्न उनी गर्दैैनथे । धनी व्यापारी, राजा, महाराजा र युवराजले चित्र बनाइदिन गरेका आग्रह ठाडै अस्वीकार गर्थे । फ्लोरेन्सकी एउटी धनी महिलाले आफ्नो पोट्रेट बनाउन वर्षौं अनुरोध गर्दा समेत लियोनार्दोले मानेनन् । मिलान, भेनिस, फ्लोरेन्स र फ्रान्सका शासकले कडा करारनामा गराएर काम लगाउँदा समेत लियोनार्दोले ती चित्रकला कहिल्यै पूरा गरेनन् । तर दुई बच्चाकी २४ वर्षीया आमा मोनालिसाको चित्र कोर्न किन लियोनार्दो राजी भए ? यो अझै रहस्यमय छ । लेखक आइज्याक्सनका अनुसार मोनालिसाका पति फ्रनचेस्को दिल जोकोन्डाका लागि लियोनार्दोका पिता पिएरोले धेरै कानुनी काम गरिदिएका थिए र सो सम्बन्धले त्यो चित्र बनाउन लिओनार्दो राजी भए । त्यसबाहेक मोनालिसाको सुन्दरता, अलौकिक मुस्कान र कुनै प्रभावशाली व्यक्तिको आदेशमा काम गर्नुनपर्ने भएकाले चित्र कोर्न लिओनार्दो अघि सरे ।
मोनालिसा पेन्टिङलाई उनले फ्लोरेन्सदेखि मिलान, रोम र फ्रान्समा आफूसँगै लिएर गए र त्यसमा काम गरिरहे । सन् १५०३ देखि जीवनको अन्तिम समयसम्म मोनालिसामा उनले करिब १६ वर्ष काम गरे । आइज्याक्सन भन्छन्, ‘मोनालिसा लियोनार्दोको जीवनभरको मानव र पृथ्वीको अध्ययन, अन्वेषणको अन्तिम तपस्या हो, यो फगत एउटा पोट्रेटभन्दा पनि हाम्रो जीवनदर्शन र बाहिरी दुनियाँको उत्तम संयोजन हो । मानव शरीर, छाया र प्रकाशको वर्षौंसम्म अध्ययन गरेको प्रतिफल हो– मोनालिसा ।’ यसर्थ लियोनार्दो महान् दार्शनिक पनि थिए ।
सन् १५१६ मा ६४ वर्षको उमेरमा लियोनार्दो रोमबाट फ्रान्स गए । त्यहाँका २१ वर्षीय राजा फ्रान्सिसको अनुरोधमा दरबारमा ‘पेन्टर, इन्जिनियर र वास्तुकार’को पदमा काम सुरु गरे । युवा राजा लियोनार्दोजस्तै अनेकौँ विषयबारे जान्न उत्सुक हुन्छन् । यी दुईको हार्दिक सम्बन्ध रहन्छ, जीवनपर्यन्त । जीवनको अन्तिम समयसम्म लियोनार्दो दायाँ कोणात्मक त्रिकोणको अध्ययनमा लीन रहे र उनले नोटबुकको अन्तिम वाक्य सन् १५१९ को अप्रिल २३ तारिखमा लेखे, ‘द सुप इज गेटिङ कोल्ड ।’ सायद फ्रान्सस्थित आफ्नो घरको तलको खाना खाने कोठामा अरुहरू उनलाई कुर्दै पो थिए कि ?
२ मे १५१९ मा राजा फ्रान्सिसको अँगालोमा ६७ वर्षीय लियोनार्दोको निधन हृदयघातबाट भयो । इतिहासकारका अनुसार राजा फ्रान्सिस लिओनार्दोको प्राण जानुभन्दा केही समयअघि कोठाभित्र आउँछन् । लिओनार्दो सम्पूर्ण शक्ति लगाएर ओछ्यानबाट उठ्छन् र राजालाई आफ्नो मुटु रोग र रक्तनलीबारे विस्तृत जानकारी दिन्छन् । अन्तिम घडीसम्म लिओनार्दो कुतूहलता र ज्ञानबारे उत्सुक थिए ।

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनभन्दा चार सय २७ वर्षअघि जन्मिएका लियोनार्दो उतिबेलै विचारको परिक्षण अर्थात् ‘थट एक्सपेरिमेन्ट’मा डुब्ने गर्थे । कल्पना र अति उत्सुक स्वभावका यी दुई महामानवको सचित्र जीवन लेखे आइज्याक्सनले । आइज्याकसन लेख्छन्, ‘लियोनार्दो सच्चा अर्थमा विलक्षण थिए । तर, अचम्म यिनै महामानवले नोटबुकमा पटकपटक लेखे, ‘भन, मैले केही गरेँ । कहिल्यै केही गरेँ ।’
कुनै कार्यको विधिवत समापनभन्दा लियोनार्दो कल्पना र सो कार्यको थालनीमा बढी आनन्द मान्थे ।
लेखक आइज्याकसनले पुस्तकमा एउटा कलाकार, इन्जिनियर, वैज्ञानिक र अति जिज्ञासु महामानवले पाँच शताब्दी अघि कला, जीवनदर्शन, प्रकृति र मानव स्वभावको स्वतस्फूर्त अध्ययन, अन्वेषण गरी आफ्नो नोटबुकमा लेखेका विषयलाई रोचक ढंगले प्रस्तुत गरेका छन् । लियोनार्दोका कतिपय व्यक्तिगत कुरा अझै रहस्यमय छन् तर ती कुरा गर्भमै हुँदा हाम्रो कल्पनाको उडानलाई पखेटा र ऊर्जा दुवै दिन्छन् । आइज्याक्सनको सल्लाह छ– लियोनार्दोको जीवनलाई हामीले हेर्ने भनेको उनले संसारलाई हेरे जसरी नै हो– किनभने त्यो अत्यन्तै उत्सुकता र यसको अनन्त चमत्कारबाट झंक्रित हुन्छ ।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad