१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निधि नेतृत्वमा कांग्रेस सरकारमा

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र निधिले पार्टीको नेतृत्व गर्ने भएका छन्। नयाँ गठबन्धन निर्माणमा सक्रिय नेता निधिलाई नै सभापति शेरबहादुर देउवाले नेतृत्वसहित सरकारमा पठाउने तयारी गरेका हुन्।

प्रधानमन्त्रीको शपथसँगै कांग्रेसका तर्फबाट निधिसहित केही नेताले शपथ लिने देउवा निकट स्रोतको दाबी छ । बाँकी मन्त्रालयमा भने पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनपछि मात्र मन्त्री पठाउने देउवाले आन्तरिक गृहकार्य गरेका छन् ।

‘पहिलो चरणमा पार्टीका तर्फबाट २÷३ जनाको (सानो) संख्यामा सरकारमा सहभागी गराउने तयारी छ,’ निकटस्रोतले भन्यो, ‘बाँकी मन्त्रालयमा केही समयपछि मात्र मन्त्री सहभागी हुनेछन् ।’

एकैपटक मन्त्री पठाउँदा त्यसको असर नेविसंघ महाधिवेशनमा पर्नसक्ने भन्दै देउवाले चरणबद्ध रुपमा पठाउने रणनीति बनाएको स्रोतको दाबी छ ।

पौडेलले ४० प्रतिशत मागे

नेता रामचन्द्र पौडेल पक्षले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने जनाएको छ । पार्टी समर्थनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुने निश्चित भएपछि मंगलबार पौडेल पक्षको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।

सरकारमा पार्टीले पाउने मन्त्रालयमध्ये ४० प्रतिशत आफूलाई हुनुपर्ने पौडेल पक्षको दाबी छ । ‘४० प्रतिशत भाग नपाए सरकारमा सहभागी नहुने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने । मन्त्री पदको लोभ देखाएर सभापति शेरबहादुर देउवाले निकट नेताहरूलाई विभाजित गर्ने प्रयास गरेको ठहर गर्दै पौडेल पक्षले व्यक्तिगत आधारमा कोही पनि सरकारमा सहभागी नहुने जनाएको छ ।

‘सभापतिले नै व्यक्ति छनोट गरे हाम्रो पक्षबाट कोही पनि सहभागी हुँदैनौं,’ भेलामा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘सम्मानजनक संख्या पाए त्यसैअनुसार नाम दिन्छौं ।’ 

पार्टीमा ६० र ४० को भागबन्डा हुँदै आएको जनाउँदै पौडेल पक्षले तत्कालीन सभापति सुशील कोइरालाले विगतमा देउवालाई सोही आधारमा भाग दिँदै आएको जिकिर गरेको छ ।

भेलामा नेता पौडेलले सरकारमा पार्टीले पाउने मन्त्रालय टुंगो लागिनसकेको जनाउँदै सभापति देउवाले परामर्शमा नै मन्त्री छनोट गर्ने आश्वासन दिएको जानकारी गराएका थिए । सभापतिले व्यक्त गर्दै आएको प्रतिबद्धता पूरा नभएको गुनासो गर्दै पौडेलले सरकार गठन र दलीय वार्तामा पनि आफ्नो पक्षलाई सहभागी नगराएको उल्लेख गरेका थिए ।

पौडेलसहितका नेताले सोमबार सभापति देउवालाई भेटी असन्तुष्टि जनाएका थिए । जवाफमा देउवाले मन्त्रालयको टुंगो लागेपछि मन्त्रीहरू आपसी सहमतिमा नै चयन गर्ने आश्वासन दिए ।

‘सरकारभन्दा पार्टीमै काम गर्छु’

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा जाने आफ्नो इच्छा नभएको बताएका छन् । सिटौलाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला उनले नागरिकसँग भने, ‘सरकारमा सहभागी हुने मेरो इच्छा छैन, पार्टीमै बसेर काम गर्छु ।’

संविधान कार्यान्वयन नै अहिलेको प्रमुख विषय भएको बताउँदै उनले भने, ‘सरकारमा को जानेभन्दा संविधान कार्यान्वयन कसरी गर्ने भन्ने अहिलेको सवाल हो ।’

 

प्रकाशित: १९ श्रावण २०७३ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App