१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाहालको दोस्रो सत्तारोहण

काठमाडौं- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल आज दोस्रोपटक सत्तारोहण गर्दैछन्। बुधबार संसद्मा हुने प्रधानमन्त्री निर्वाचनमा एक्ला उम्मेदवार दाहाल आफ्नो गठबन्धनमा स्पष्ट बहुमत देखिएकाले मुलुकको ३९औं प्रधानमन्त्री निर्वाचित हुने निश्चितजस्तै छ।

उम्मेदवारीका लागि तोकिएको समयसीमा मंगलबार अपराह्न ४ बजेसम्ममा दाहालको मात्र उम्मेदवारी परेको छ । संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पूर्ण साथ पाएका दाहाललाई १६ साना दल र मधेसी मोर्चाले समेत मत दिने भएपछि सत्तारोहण पक्कापक्की बनेको हो ।

तेस्रो दल एमालेले विपक्षमा मत दिने निर्णय लिएको छ भने चौथो दल राप्रपा नेपाल अनिर्णयको बन्दी छ। बुधबार बिहान उसले पनि दाहाललाई मत दिने निर्णय गरे उनले दुई तिहाइ मतबाट निर्वाचित हुने अवसर पाउनेछन् । एक स्वतन्त्रसहित १६ दलले दाहालको पक्षमा मतदान गर्ने जनाइसकेका छन् ।

दाहालको प्रस्तावकमा नेपाली कांगे्रस सभापति शेरबहादुर देउवा र समर्थकमा केन्द्रकै कृष्णबहादुर महरा, मधेसी मोर्चाका उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्णलगायत १६ दलका नेता छन् ।

सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया आह्वान गरेकी थिइन् ।

उम्मेदवारी दर्ता गराउने समयमै माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम, सद्भावना, तमलोपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, अखण्ड नेपाल, समाजवादी जनता पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक थरुहट, खुम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराई पार्टी  र दलित जनजाति पार्टीले समर्थन जनाउँदै मनोनयनपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

प्रतिद्वन्द्वीविहीन दौड रहे पनि दाहालले प्रधानमन्त्री चयन हुन संसद्को सामान्य बहुमत  पु¥याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समय आइतबार राति १२ बजे सकिएसँगै बहुमतीय प्रक्रिया सुरु भएको हो । व्यवस्थापिका संसद्को दोस्रो बैठकले संविधानको धारा २९८ को उपधारा ३ अनुसार प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाएको हो ।

बैठकमा सभामुख ओनसरी घर्तीमगरले बुधबार बिहान ११ बजेका लागि प्रधानमन्त्री निर्वाचन तोक्दै प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई निर्देशन दिएकी थिइन् । त्यसैअनुसार सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । तालिकाअनुसार मंगलबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा थियो ।

सत्तारूढ नेकपा एमालेका तर्फबाट पनि प्रधानमन्त्री उम्मेदवार उठाइने चर्चा थियो तर मंगलबार एमाले स्थायी कमिटी बैठकले उम्मेदवार खडा नगर्ने निर्णय गरेको छ । बैठकले दाहालका विपक्षमा मतदान गर्ने निर्णयसमेत लिएको थियो ।

संसद्को बुधबार बिहान ११ बजे बस्ने बैठकमा मनोनयन छलफलपछि हुने निर्वाचनले मुलुकको कार्यकारी प्रमुख चयन गर्नेछ ।

५ सय ९५ सांसद कायम व्यवस्थापिकामा प्रधानमन्त्री निर्वाचित हुन २ सय ९८ मत आवश्यक हुन्छ । पछिल्लो गठबन्धनपछि दाहालका पक्षमा झन्डै ३ सय ७० सांसदको समर्थन रहने देखिन्छ । राप्रपा नेपालबाहेक अन्य केही दलले पनि मतदानबारे निर्णय लिएका छैनन् ।

२०६३ असारमा खुला राजनीतिमा आएका दाहाल यसअघि २०६५ साउनमा पहिलोपटक मुलुकको कार्यकारी प्रमुख बनेका थिए । कांग्रेसको समर्थन पाउने भएपछि माओवादी असार २८ गते केपी ओली नेतृत्वको सरकारबाट बाहिरिँदै असार २९ गते संसद्मा अविश्वास प्रस्ताव दर्ता गराएको थियो । एमाले अध्यक्षसमेत रहेका ओलीले अविश्वास प्रस्तावमाथि मतदान हुनु केही घन्टाअघि साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए ।

त्यससँगै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था र परम्पराअनुसार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सहमतीय सरकारका लागि आह्वान गरेकी थिइन् । त्यसमा सहमति जुट्न नसकेपछि उनले सोमबार संसद् सचिवालयलाई अर्को पत्र पठाई संविधानको धारा २९८ को उपधारा ३ अनुसार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान गरेकी थिइन् ।

संविधानको धारा २९८ र व्यवस्थापिका संसद् नियमावली, २०७३ को दफा ४९ (१) मा सहमतीय सरकार बन्ने व्यवस्था गरिएको छ । यसअन्तर्गत दलीय सहमति कायम हुन नसके के गर्ने भन्नेबारे सोही दफाको उपनियम २ मा उल्लेख छ– ‘उपनियम १ बमोजिम सहमति कायम हुन नसके प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ । त्यसको सूचना महासचिव वा सचिवले प्रकाशन गर्नेछन् ।’ धारा २९८ को (३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसके व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ।

यस्तो छ निर्वाचन प्रक्रिया

सभामुखले बुधबार उम्मेदवारको नामावली संसद् बैठकमा पेस गरेसँगै निर्वाचन प्रक्रिया सुरु हुनेछ । त्यस क्रममा प्रस्तावकले दाहालको उम्मेदवारीप्रति आफ्नो समर्थनबारे धारणा राख्नेछन् । सभामुखले चाहे समर्थकले पनि बोल्न पाउनेछन् ।

त्यसपछि सभामुखले मतदान कार्यक्रम घोषणा गर्नेछिन् । संविधानको धारा २९८ को ३ (२) अनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि उम्मेदवारी दिएका दाहालका नाममा मतदान हुनेछ । मतदान सकिएपछि सभामुखले त्यसलाई गणना गरी सदनसमक्ष प्रस्तुत गर्नेछिन् । दाहालका पक्षमा सामान्य बहुमत आए उनको नाम नेपालको ३९औं प्रधानमन्त्रीका रुपमा घोषणा हुनेछ ।

प्रकाशित: १९ श्रावण २०७३ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App