१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गच्छदारलाई चौधरीको टक्कर

इटहरी- २०४६ सालको राजनीतिक परिवर्तनपछिका हरेक निर्वाचनमा सुनसरीबाट प्रतिनिधसभा र संविधानसभामा विजयी हुँदै आएका विजयकुमार गच्छदार यस पटक निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार छन् ।
कुनै बेला नेपाली कांग्रेसका प्रभावशाली नेता रहेका गच्छदार २०६४ पछिको एक दशक  मधेसकेन्द्रित दलको नेता भए । दस वर्षपछि कांग्रेसमै फर्किएका उनी छैटौंपटक प्रनिधिसभामा पुग्न उम्मेदवार बनेका हुन् ।  

दुहवी नगरका बासिन्दा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी दुवै मोरंगिया थारुमा पर्छन् । थारु समुदायको मत जसले पक्षमा ल्याउन सक्छ उसैको विजय हुने अडकलबाजी छ ।

उपप्रधान तथा स्थानीय विकासमन्त्रीसमेत रहेका गच्छदारलाई यसपटक वाम गठबन्धनबाट एमाले वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले टक्कर दिँदै छिन् । गच्छदार २०७० सालको संविधानसभा निर्वाचनमा उनै चौधरीलाई झिनो मतान्तरले पराजित गरी विजयी भएका थिए । त्यतिबेला गच्छदारले चार दशकको राजनीतिक यात्रामा पहिलोपटक अत्यन्त कठिनसाथ चुनाव जितेको अनुभव सुनाएका थिए । पत्रकारसँग त्यतिबेला उनले भनेका थिए, ‘मेरो ४२–४३ वर्षको राजनीतिक करिअरमा पाँचांैपटक चुनाव जित्दा कठिन चुनौती सामना गर्नुप¥यो । अब म कहिल्यै चुनावमा पराजित हुन्नँ ।’ गच्छदारले त्यही कारण हुनुपर्छ, विगतमाभन्दा यसपटक आफ्नो चुनावी क्षेत्रमा केन्द्रित भएर अगुवा नेता–कार्यकर्तासँग भेटघाट बाक्लो बनाउँदै आएका छन् । गच्छदार दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नं ३ बाट विजयी भए पनि मोरङ क्षेत्र नं ७ बाट भने पराजित भएका थिए ।
यसपटक चौधरी जसरी भए पनि गच्छदारलाई हारको स्वाद चखाउने दाउमा छिन्  । उनले चुनाव जित्न सबै प्रकारको रणनीति बनाएकी छिन् । उनी २०६४ सालमा बनेको संविधानसभा मन्त्रिपरिषद्बाट मनोनीत सभासद थिइन् । त्यसपछि उनी एमाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको सरकारमा राज्यमन्त्री भइन् ।
पछिल्लो समय एमाले अध्यक्ष केपी ओली निकट मानिएकी चौधरी राजनीतिक र सामाजिक अभियानलाई सँगसँगै अघि बढाएर मतदाता आकर्षित गर्न सक्रिय छिन् । तर, कांग्रेसमा प्रवेश गरेपछि  गच्छदारको अवस्था झन् बलियो भएको राजनीतिक अडकलबाजी हुन थालेको छ ।
गच्छदार र चौधरी दुवै दुहवी नगर क्षेत्रका बासिन्दा हुन् ।  थारु समुदायमा दुवैजना मोरंगिया थारुमा पर्छन् । यस आधारमा थारु समुदायको मत जसले आफ्नो पक्षमा ल्याउन सक्छ उसैको विजय हुने अडकल काट्न थालिएको छ ।
 २०४६ सालयता पटकपटक मन्त्री भएका गच्छदार आफूलाई कमजोर ठान्दैनन् । चौधरी पनि आफ्नो आर्थिक हैसियत बनेको र पार्टीलेसमेत पत्याएले आफूलाई कमजोर ठान्दिनन् । ‘भगवती पनि आफूलाई कम ठान्दिनन् । विजयले त झन् हरेकपटक पदमा बसेकाले गर्दा आफूलाई बलियो ठान्ने नै भए,’ कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सदस्य सत्यनारायण गच्छदारले भने, ‘पानीमुनिको माछा ठूलो भएजस्तो अहिले दुवै जनाले कसैले कसैलाई कम आँकेका छैनन् । योपटक मतदाताले कसलाई ठूलो बनाउने हुन, हेर्न बाँकी छ ।’
राप्रपा स्थानीय नेता रामबहादुर राउतका अनुसार, अहिले नै चुनावी परिणाम यसै हुन्छ भनेर भन्न सक्ने अवस्था छैन । ‘भगवतीले पनि चुनावी अभियान तीव्र पारेकी छिन, विजयले पनि कांग्रेसमा प्रवेश गरेपछि असन्तुष्टलाई पनि समेटिरहेका छन,’ उनले भने, ‘कांग्रेसले योपटक बेलैदेखि बिग्रिएको मतलाई समेट्न खोजेको देखिन्छ ।’
यो क्षेत्रमा कांग्रेसबाट गच्छदार र वाम गठबन्धनबाट चौधरीसहित नौजना प्रतिनिधिसभा र नौ जना प्रदेशसभा सदस्य उम्मेदवार छन् । तर, प्रतिस्पर्धा गच्छदार र चौधरीबीचमै हुनेछ ।
क्षेत्र नंं ३ को चुनावमा कतिपय साना दलले अन्तिममा आफूपक्षका मतदातालाई कतातिर इसारा गर्छन् त्यसमा पनि भर पर्नेछ नतिजा । ‘यहाँ त पैसाको खेल पनि हुन्छ । अब भगवती र विजय दुवैले पैसाको खेल गर्छन्,’ राष्ट्रिय जनता पार्टीका नेता सागिर मियाँ भन्छन, ‘हाम्रो पार्टीले आफ्नो उम्मेदवार भए पनि अन्तिममा जित्नेमध्ये कसैलाई सहयोग गर्नसक्छ ।’
निर्वाचन क्षेत्र विभाजन अनुसार, क्षेत्र नं ३ मा यसपटक इटहरीका १० वटा वडा समेटिएका छन् । इटहरीका १० वटा वडाबाहेक दुहवी नगरपालिका, गढी र बर्जु  गाउँपालिका पूरै यो क्षेत्रमा पर्छ । इनरुवाको ७ नं वडा पनि क्षेत्र  ३ मै पारिएको छ ।
 असार १४ मा भएको स्थानीय तह निर्वाचनमा दुहवी नगरपालिकामा मेयर र उपमेयर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका थिए । त्यतिबेला यो दलको केन्द्रीय नेतृत्वमा गच्छदार थिए । मेयरमा दोस्रो पोजिसन कांग्रेस र उपमेयरमा दोस्रो मत एमालेले पाएको थियो । बर्जु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका थिए । त्यहाँ दोस्रो मत एमालेको थियो । गढी गाउँपालिकामा भने प्रमुखल र उपप्रमुख कांग्रेसले जितेको थियो । इटहरीका १० वटा वडामध्ये कांग्रेसले चारवटामा प्यानलसहित, दुईवटामा वडाअध्यक्ष र एउटा वडा लोकतान्त्रिक फोरमले जितेको थियो । एमालेले तीनवटा वडामा जितेको थियो । इनरुवाको वडा नं ७ मा कांग्रेसले जितेको थियो ।
स्थानीय निर्वाचनमा प्राप्त मतका आधारमा हेर्दा कांग्रेस वाम गठबन्धनका तुलनामा बलियो देखिन्छ । किनकी फोरम लोकतान्त्रिक पनि कांग्रेसमा एकीकृत भइसकेको छ । एमालेले भने इटहरी नगरपालिकाका १० वटा वडा क्षेत्र नं ३ मा मिलाइएकाले आफूलाई फाइदा पुग्ने दाबी गरेको छ। ‘इटहरीको दसवटा वडा क्षेत्र नं ३ मा गाभिँदा हामीलाई फाइदा पुग्ने देखिन्छ,’ एमाले नेता विनय पोखरेलले भने, ‘सजिलै जित्ने अवस्था त छैन तर, हाम्रा उम्मेदवारको जातीय सन्तुलन मिलेकाले मतदातालाई आकर्षण गर्न सजिलो छ ।’ कांग्रेसका गुलाबी मियाँ भने फोरम लोकतान्त्रिक एकीकृत भएकाले चुनावमा आफ्ना उम्मेदवारको सहजै जित हुने दाबी गर्छन् ।
एमालेबाट प्रदेशसभा ३ (क) मा लिलम बस्नेत र (ख) मा रामदेव यादव उम्मेदवार छन् । त्यस्तै कांग्रेसबाट प्रदेश ३ (क) मा कुमार थापा र (ख) बाट अगमलाल चौधरी प्रतिस्पर्धामा छन् । एमालेका बस्नेत उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पनि हुन् । यादव जिल्ला कमिटी सदस्य हुन् । कांग्रेसका थापा फोरम लोकतान्त्रिकबाटै आएका हुन् भने चौधरी पुराना र स्वच्छ छवि भएका नेतामा पर्छन् ।
गच्छदार कांग्रेसमा छँदा २०४८, ०५१ (मध्यावधि) र ०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए । कांग्रेस छाडेपछि उनी २०६४ सालमा मधेसी जनअधिकार फोरमबाट संविधानसभा सदस्यमा विजयी भए । त्यतिबेला उनले २३ हजार सात सय ६९ मत पाएका थिए । कांग्रेस उम्मेदवारले १० हजार आठ सय छ र एमाले उम्मेदवारले पाँच हजार सात सय २३ मत पाएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा ६१ हजार आठ सय ६५ मतदाता रहेकोमा गच्छदार १७ हजार  पाँच सय २४ मत ल्याएर विजयी भए । त्यसबेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्ष भएका गच्छदारले एमालेकी उम्मेदवार भगवती चौधरीलाई तीन सय ६२ मतले पछि पारेका थिए । यसपटक क्षेत्र नं ३ मा एक लाख नौ हजार ९१७ मतदाता छन् ।

प्रकाशित: २४ कार्तिक २०७४ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App