१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाम गठबन्धनको बहुमत आउँछ, अधिनायकवाद आउँदैनः दाहाल

भरतपुरमा एमाले र माओवादीका महिला संगठनले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै पुष्पकमल दाहाल। तस्विरः रमेशकुमार

चितवन— पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाम गठबन्धनले आउँदो चुनाबमा बहुमत ल्याउने तर अरुले भनेजस्तो सत्ता कब्जा गरेर अधिनायकबाद भने नल्याउने बताएका छन्। चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका दाहालले बिहीबार भरतपुरमा आयोजना भएको महिलाहरुको कार्यक्रममा यस्तो भनाइ राखेका हुन्।

एमालेसँग चुनाबी तालमेल मात्रै नभएर पार्टी एकीकरण गर्ने पक्कापक्की  भएको उनले दाबी गरे। ‘कम्युनिष्टहरु अनेक चिरामा रहने हो भने काँग्रेसको फेरो समाएर भए पनि सत्तामा त पुग्ने भए तर डाडु पन्युँ हातमा आउने भएन। यस्तो अवस्था रोक्न पनि हामी एक हुने दिशामा अगाडि बढेका हौं’, दाहालले भने। तर कम्युनिष्टहरुले जित्दा अधिनायकवाद आउँछ भन्ने चर्चा भ्रम फैलाउन मात्रै गरिएको उनले बताए।

‘कम्युनिष्टहरु अनेक चिरामा रहने हो भने काँग्रेसको फेरो समाएर भए पनि सत्तामा त पुग्ने भए तर डाडु पन्युँ हातमा आउने भएन। यस्तो अवस्था रोक्न पनि हामी एक हुने दिशामा अगाडि बढेका हौं’, दाहालले भने।

‘राज्यलाई लोकतान्त्रिक तरिकाले सदुपयोग गरेर समाजवाद ल्याउन सकिन्छ भन्ने सन्देश हामीले दिँदैछौँ। यो अधिनायकवाद ल्याउन खोजेको हैन’ उनले भने। आफुहरु लोकतान्त्रिक विधिभन्दा बाहिर नजाने उनले बताए। एमालेसँग पार्टी एकताको निर्णय गरेर मात्रै चुनाबी तालमेल भएको उनको भनाइ थियो। ‘हामीले पार्टी एकता संयोजन समिति बनाएर तालमेलको निर्णयमा पुगेको हो। एकता हुन्छ हुन्छ’ दाहालले भने।

एकीकरणको विषय दशकौँदेखि उठ्दै आएको उनले बताए। ‘मदन भण्डारीको निधन हुनुअघि नै भेटघाट गर्ने क्रम सुरु भएको थियो। जेठ ११ गते वार्ताको मिति तय भएका बेलामा जेठ ३ मै उहाँको त्यस्तो दुःखद घटनामा ज्यान गयो। यदि ११ गते वार्ता भएको भए एकता उहिल्यै हुन्थ्यो कि’ दाहालले भने। सशस्त्र संघर्षका बेलामा पनि एमाले र आफूहरुका बीचमा ५० औं पटक छलफल भएको उनले बताए।

‘जनयुद्ध कालमै रोल्पाको लिसेवाङमा एमालेका नेताहरुसँग सहमतिपत्रमा हस्ताक्षर गरेका थियौं। यदि त्यो सहमति नभएको भए दिल्लीमा ६२ सालको मंसिरमा काँग्रेस लगायतका दलहरुसँग १२ बुँदे सहमति पनि हुन्थ्यो कि नाइ। त्यसैले यो नयाँ विषय होइन’ दाहालले भने । अहिले पनि तोकेको समयमा नभएर  १० दिनका लागि मात्रै भए पनि चुनाब सारेको भए पार्टी एकीकरण भइसक्ने अवस्था रहेको उनले बताए।

दाहाल चुनाबी अभियानका लागि केही दिन बस्ने गरेरै चितवन आएका हुन्। एमाले र माओवादी संगठनमा आवद्ध चितवनका महिलाहरुको सभालाई सम्बोधन गरेपछि उनले बिहिबार नै आफ्नो चुनावी क्षेत्र पुगेर घरदौलो कार्यक्रममा सरिक भए। महिला सभामा बोल्दै नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले संसदको चुनाब लडेर आएको पार्टीले अधिनायकवाद नल्याउने उल्लेख गरे।

‘संसदीय प्रणालीलाई आत्मसाथ गरेका पार्टीहरु मैदानमा छन्। ती पार्टीहरुले जिते संसदबाट अधिनायकवाद आउँछ भन्ने काँग्रेस कस्तो पार्टी हो ? उसलाई संसदीय प्रणालीमा विश्वास नभएको हो’ चितवन क्षेत्र नं. १ बाट एमालेका उम्मेद्वार रहेका नेता पाण्डेले भने। चितवनमा गठबन्धनका तर्फबाट एकजना पनि महिला उम्मेद्वार नभएकोमा महिला नेताहरुले दुःख मनाउ गरेका थिए।
 

प्रकाशित: २३ कार्तिक २०७४ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App