१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारमा नभए पनि एजेण्डामा सहमति गर्न दलहरुलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुनले व्यवस्थापिका संसदमा बहुमतीय सरकार गठन प्रक्रिया अगाडि बढे पनि अझै सहमतिको प्रयास गर्न दलहरुलाई आग्रह गरेका छन्। उनले दलहरुबीच राष्ट्रिय सहमतिको सरकारमा सहमति नभएको दुःख व्यक्त गरेका छन्।

एशियन पेन्टस्द्वारा आयोजित ‘आर्किटेक्ट ईन्जिनियरिङ डिजाइन प्रतियोगिता तथा पुरस्कार वितरण’ समारोहलाई मंगलबार संबोधन गर्दै उपराष्ट्रपति पुनले राष्ट्रिय सहमतिको सरकारका लागि अझै प्रयास गर्न आग्रह गरेका हुन्।

‘संविधान कार्यान्वयन, आन्दोलनरत पक्षको असन्तुष्टिहरुको सम्वोधन, राष्ट्रिय एकता निर्माण र समृद्ध नेपालका लागि राष्ट्रिय सहमतिको सरकार जरुरु थियो । तर, सम्माननीय राष्ट्रपतिज्यूले दिनु भएको समयमा राष्ट्रिय सहमतिको सरकारबारे दलहहरुबीच सहमति हुन सकेन । यसमा मलाई दुःख लागेको छ’, उपराष्ट्रपतिले भने, ‘बहुमतीय प्रक्रियाभित्र पनि दलहरुबीच राष्ट्रिय सहमति गरेर सहमतिकै सरकार बनाउनुपर्ने आवश्यकतालाई दलहरुले बोध गर्नुपर्दछ । म अझै सहमतिको लागि दलहरुलाई अपील गर्दछु।’

उपराष्ट्रपतिले यदि राष्ट्रिय सहमतिको सरकार बन्न नसकेमा पनि संविधान कार्यान्वयन, राष्ट्रिय एकता निर्माण र समृद्ध नेपालको राष्ट्रिय एजेण्डामा सहमति कायम गरेर सहकार्य गर्न दलहरुलाई अपील गरे।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालको भूगोल र विभिन्न समुदायको पहिचान सुरक्षित रहने गरी आधुनिक र भूकम्प प्रतिरोधी संरचनाको डिजाईन गर्न आग्रह गरे। ‘भिन्न भूगोल, भिन्न जाति समुदायअनुसारका हाम्रा परम्परागत घरहरु, भौतिक संरचनाहरु छन् । विद्यमान यी संरचना नेपालको पहिचान पनि हुन्’, उनले भने, ‘म ईन्जिनियर साथीहरुलाई आग्रह गर्दछु, भूगोल, समुदायका पहिचान सुरक्षित रहने गरी ती ठाउँ सुहाउँदो आधुनिक र भूकम्प प्रतिरोधी संरचनाको डिजाईन गरिदिनुहोस् । यसबाट नेपालको मौलिकता पनि जोगिराखोस् र हामी आधुनिकतातर्फ पनि अगाडि बढौँ ।’

प्रकाशित: १८ श्रावण २०७३ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App