१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जुम्लामा बदलिँदो चुनाव प्रचार शैली

जुम्ला– वामगठबन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर (ख)का उम्मेदवार पदमबहादुर रोकाया २०७० सालको संविधान सभा सदस्य निर्वाचनका उम्मेदवार थिए ।  उतिबेला उनले दलबलका साथ चुनावी प्रचार अभियान थाले । तर अभियानमा कसरत गरेअनुसार मतपरिणाम आउन सकेन । अन्तत उनले नेपाली कांग्रेसका उम्मेदवार ललितजंग शाहीसँग झिनो मतले पराजय भए ।
उनले भने, ‘तडक भडक जीवन शैलीमा प्रचार प्रसार कार्यले कुनै फाइदा नपु¥याउने निष्कर्षसहित शान्त तरिकाले गाउँमा पसेका छौं । सयौ जनाको लाइनमा प्रचार अभियान थालेका रोकायाले यो पटक बढीमा १५ जनामात्रै अभियानमा सामेल गराएका छन् ।
२०७० सालको संविधान सभाको चुनावमा उम्मेदवार बनेका माओवादी केन्द्रका गजेन्द्र महत यो पटक सानो समूह लिएर सुटुक्क गाउँ पसे । उनले होहल्ला गरेर गाउँमा प्रचार प्रसार गर्दा मास ठूलो देखिने भए पनि मतपरिणाम सोचेअनुसारको नआउने निर्णयमा पुगेका छन् । ‘जुन गाउँपालिकामा प्रचार प्रसार कार्य गर्ने हो, सम्बन्धित गाउँपालिकाको टोलीलाई मात्रै परिचालन गर्ने गरिएको छ । लोकतान्त्रिक गठबन्धनका भिमनिधि हमाल प्रचार शैली भड्किलो गर्ने पक्षमा छैनन,’ उनले भने ।
यसअघिका चुनावमा गाउँमा उम्मेदवारका झण्डा, व्यानर, पर्चा, पम्पलेटले रंगिसक्थे । यो पटक कुनै पनि उम्मेदवारले ठूलो धनराशि खर्चेर चुनावी अभियान थालेका छैनन । जुम्लाका सबै उम्मेदवारले चुनाव प्रचार शैलीलाई बदलेका छन् । गाउँपालिकामा चुनाव प्रचार प्रसार समिति गठन गरेर वडास्तरमा गरिने कार्यलाई तिव्र पारेका छन् । प्रचार प्रसार कार्यलाई भव्य वनाउदा सभ्य तरिकाले मतपरिणाम नआउने भएकोले फरक प्रचार शैली अपनाएको उम्मेदवारहरु बताउँछन् ।
प्रचार प्रसारका कार्यक्रममा कुनै दलका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको छैन । झडप, विवाद भएको छैन । उम्मेदवारको बदलिदो प्रचार शैलीका कारण निर्वाचन आचारसंहितको उल्लंघन नभएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए ।
यो पटकको निर्वाचन लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मात्रैको टक्कर भएकाले मत चोर्ने दाउँमा उम्मेदवार छन् । कांग्रेस असन्तुष्ट वामगठबन्धनका कार्यकर्ता पहिचान गर्दै अघि बढेको छ, भने वामगठबन्धनका कार्यकर्ता प्रशिक्षण र काग्रेसका ढुलमुलेलाई फकाउन केन्द्रित छ ।
बदलिदो प्रचार शैलीका कारण गाउँमा उम्मेदवार पुगेपनि सुनसान जस्तो देखिन्छ । आमसभा र कोण सभालाई भन्दा पनि घरदैलो कार्यक्रमलाई बढी महत्व दिएका छन् । आमसभा गर्दा जनमास बढी देखिएपनि अत्याधिक मतले पराजित हुनु परेको विगतलाई सम्झदै घरदैलोमा भेटघाट तिव्र पारिएको हो । जुम्लाका उम्मेदवार मतदाताको विवरण लिएर जोडघटाउमा लागिसकेका छन् । यो वर्षको चुनावमा अघिल्ला वर्षको जस्तो सवारी साधन प्रयोग समेत घटेको छ ।
उम्मदेवार राजमार्ग छेउछाउका गाउँभन्दा बढी भौगोलिकरूपमा ठगिएका गाउँवस्तीमा बढी जोड दिन थालेका छन् । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वामगठबन्धनका गजेन्द्रबहादुर महत, कांग्रेसका देवेन्द्रबहादुर शाही र नेमकिपाका डिल्लीप्रसाद काफ्लेबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश सभाका लागि वामगठबन्धनका क्षेत्र नम्बर (क) बाट गठन्धनका नरेश भण्डारी र कांग्रेसका राजुसिंह कठायत, क्षेत्र नम्बर (ख) मा गठबन्धनका पदमबहादुर रोकाया र कांग्रेसका भिमनिधि हमालबीच टक्कर चल्दैछ । यता नेमकिपाका क्षेत्र नम्वर (क) बाट शिवलाल डाँगी र (ख) क्षेत्रबाट गोर्ख बहादुर वुढा पनि मैदानमा उत्रिएका छन् ।
 

प्रकाशित: २३ कार्तिक २०७४ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App