१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व चर्चित धनाढ्यहरुको गोप्य धन बारे ‘प्याराडाइस पेपर्स’ खुलासा

लन्डन– विश्वका विभिन्न धनाढ्य, राज्य प्रमुख, विश्व राजनीतिका विभिन्न चर्चित व्यक्तित्व, मनोरञ्जन दुनियाँ र खेल जगतका विभिन्न व्यक्तिले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ। 

पानामा पेपर्सपछि भएको यस्तो ठूलो खुलासालाई प्याराडाइस पेपर्स नाम दिइएको छ । करिब एक करोड ३४ लाख कागजात रहेको यो चुहावटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका वाणिज्य मन्त्रीको अमेरिकाले नै प्रतिबन्ध लगाएको रुसी नागरिकसँग व्यापारिक साठगाँठ रहेको समेत देखिएको छ । यस चुहावटले विश्वका धनाढ्यले कसरी कानुनी रुपमा नै आफ्नो सम्पत्तिलाई संरक्षण गर्न सक्छन् भन्ने कृत्रिम तरिकाको पर्दाफास गरेको छ। 

संसारभरका सय भन्दा बढी सञ्चारमाध्यम आवद्ध भएको ‘अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आईसीएफजे) ले एक वर्ष लगाएर अनुसन्धान गरेपछि मात्रै यो खबर सार्वजनिक गरेको हो । प्याराडाइस पेपर्सका अन्य कागजपत्रसहितका विभिन्न समाचार आगामी साताहरुमा सार्वजनिक गरिँदै लगिने बिबिसी, द गार्जियनसहित यी कागजपत्रमा जुटेका सञ्चारमाध्यमले बताएका छन्।

प्याराडाइस पेपर्सले सार्वजनिक गरेको विवरण अनुसार बेलायतकी महारानी एलिजावेथको करोडौं बेलायती पाउण्ड केमन आइल्यान्डको फण्डमा लगानी गरिएको छ । उनको केही पैसा गरिब तथा निमुखाहरु माथि अत्याचार गर्ने व्यापारीसम्म पनि पुगेको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मन्त्रीहरुदेखि सल्लाहकार र चन्दादाताको ठूलो मात्रामा विदेशमा लगानी रहेको प्याराडाइस पेपरले सार्वजनिक गरेको छ । जसमा हालका वाणिज्य मन्त्री विल्बर रसको रुसका राष्ट्रपति भ्यादिमिर पुटिनका ज्वाइँको कम्पनीसँग कारोबार रहेको देखिएको छ । कर छलीमा प्रयोग गरिएको केमन आइल्यान्डको ट्रष्टलाई संचालन गर्न क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुड्युका नजिकका व्यक्तिको संलग्नताको पनि देखिएको छ । चर्चित बहुराष्ट्रिय कम्पनीहरुको कर छलीका बारेमा पनि प्याराडाइस पेपर्सले विवरण संकलन गरेको छ । जसमा नाइक र एप्पल जस्ता कम्पनीको पनि नाम रहेको छ । दुई रुसी धनाढ्यले आर्सनल र एभर्टन फुटबल क्लब किन्न अफसोर लगानीको प्रयोग गरेको विवरण पनि प्याराडाइस पेपर्सले जम्मा गरेको छ । यी लगायत अन्य केही ठूला धनाढ्यहरुको खुलासाले विश्वका चर्चित नेता ट्रम्प, बेलायती प्रधानमन्त्री थेरेसा मे लगायत थुप्रै माथि दबाब बनाउने पक्का रहेको द गार्जियनको अनलाइन संस्करणमा रहेको छ। 

लिक भएका कागजपत्रको अनुसन्धान गरेर रिपोर्ट तयार पार्न विश्वभरका तीन सय ८० पत्रकारले वर्ष दिन लगाएर ७० वर्षको तथ्यांकहरुको अध्ययन गरेका थिए ।

प्रकाशित: २२ कार्तिक २०७४ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App