१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावमय सामाजिक सञ्जाल

गोरखा— गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाबुराम भट्टराईको भोट माग्दै गरेको आवाज गोरखाको सबैजसो रेडियोबाट हिजोआज गुन्जिरहेको छ। ‘आउँदो आसन्न निर्वाचनमा मलाई आँखा चिन्हमा भोट हालेर जिताउनुहोस्’, आफै अडियो विज्ञापनमा बोल्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री, अर्थमन्त्री बनाउनु भो, धेरै गरेँ, अझै गर्न बाँकी छ मलाई भोट दिनुहोस्।’

बाबुरामले प्रचारको नयाँ शैली थालनी गरेका छन् । रेडियो एफएम मात्रै होइन, यहाँबाट प्रकाशित तीनवटै दैनिक पत्रिकामा उनले भोट माग्दै विज्ञापन छपाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा ‘बाबुराम जिताऔं अभियान’ चलाएका छन् । ट्विटरबाट पनि चुनावी प्रचार उत्तिकै गरेका छन्। अनलाइनमा पनि प्रचार सामग्री राखेर उनले आफ्नो चुनावी अजेन्डा, पार्टीको रणनीति, देशको अवस्था, जनताको अपेक्षालाई केन्द्रित गर्दै भोट मागिरहेका छन्। 

बाबुरामले प्रचारको नयाँ शैली थालनी गरेका छन् । रेडियो एफएम मात्रै होइन, यहाँबाट प्रकाशित तीनवटै दैनिक पत्रिकामा उनले भोट माग्दै विज्ञापन छपाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा ‘बाबुराम जिताऔं अभियान’ चलाएका छन् । ट्विटरबाट पनि चुनावी प्रचार उत्तिकै गरेका छन्।  

गोरखा प्रदेश १ ‘ख’ का उम्मेदवार राजेन्द्र बजगाईंले आफ्नो फेसबुक वालमा नेपाली, तिब्बती, उत्तरी गोरखामा बोलिने स्थानीय भाषा लगायतको प्रयोग गरेर चुनावी प्रचार सामग्री ‘पोस्ट’ गरिरहन्छन्। भोट माग्दै, आफ्नो चुनावी अजेन्डा लेखिएको पर्चा पम्पलेट सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छ। रेडियोबाट विज्ञापनको रूपमा पनि प्रचार सामग्री उनले प्रसारण गरिरहेका छन्। 

पहिलेजस्तो भित्ता भित्तामा पर्चा पम्पलेट टाँस्नेक्रम अहिले फेसबुकको भित्तामा सरेको छ। फरक फरक प्रकृतिको आकर्षक पम्पलेट शुभेच्छुक शुभचिन्तकले सेयर गर्ने, एउटाले अर्कोलाई म्यासेन्जरमा पठाउने गर्दै कार्यकर्ताले पनि उम्मेदवारलाई इलेक्ट्रोनिक प्रविधिको प्रचारमा सघाइरहेका छन्। गोरखा २ का अर्का उम्मेदवार नारायणकाजी श्रेष्ठले चुनावीसभामा सम्बोधन गरेको कुरा, तस्बिर छिनमै कार्यकर्ता र सहयोगीले फेसबुकमा अपलोड गरिहाल्छन्।

नारायणकाजीलाई भोट दिने आधार यही हो भन्दै उनीनिकट कार्यकर्ता प्रचार गर्न थाल्छन्। २ ख का उम्मेदवार प्रकाशचन्द्र दवाडीले गाउँमा सम्बोधन गर्दागर्दै उनका सहयोगीले भिडियो फेसबुक पेजबाट लाइभ गरिहाल्छन् । कहाँ के बोल्छन् भन्नेकुरा उनीसँग फेसबुक पहुँच भएकाले तत्काल सहजै सुन्न देख्न पाउँछन्। 

गोरखा १ क का उम्मेदवार धिरन थापाले चुनावी प्रचारका लागि निरन्तर सामाजिक सञ्जालमा अपडेट हुन समय मिलाउने गरेका छन्। कहाँ के कार्यक्रम हुँदैछ, कतिबेला हुँदैछ, भन्नेदेखि कसरी भयो, के भने, जनताको कुरा के रह्यो सम्मका गतिविधि उनले सामाजिक सञ्जालमा फिजाउँछन्। यी उम्मेदवार सामाजिक सञ्जालको धेरै प्रयोग गरिरहेका छन्। 

गोरखा १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चिनकाजी श्रेष्ठ, वाम गठबन्धनका उम्मेदवार हरि अधिकारी, गोरखा १ ‘क’ का उम्मेदवार लेखबहादुर थापा, ख का रामशरण बस्नेत पनि सामाजिक सञ्जालबाट चुनावी अभियानमा क्रियाशील छन् । गोरखा २ क का हरिशरण आचार्य, कमला नहर्की र २ ख का अमर तमु पनि सामाजिक सञ्जालको प्रचारमा जोडिएका छन् । अन्य नेताको तुलनामा यी नेताको सामाजिक सञ्जालको प्रचार तुलनात्मकरूपमा कम देखिन्छ। 

समाजिक सञ्जालमा प्रचार गर्दा लाइक, कमेन्ट, सुझावदेखि गालीसमेत उम्मेदवारले पाउने गरेका छन् । आफूनिकटका उम्मेदवार भएको खण्डमा प्रचार सामग्री अझै धेरै फैलाउने, राम्रो भन्ने र अन्य दल निकट भएमा गाली गर्ने प्रवृत्ति केहीमा छ । केही मतदाता र सर्वसाधारण जनताले भने अजेन्डा, घोषणापत्र, सामाजिक सञ्जालमा बोले, भनेका कुरालाई आधार बनाएर सकारात्मक सुझावसमेत दिने गरेका छन् । युवापुस्ता धेरै सामाजिक सञ्जालमा जोडिने हुँदा यसलाई पनि प्रचारको दरिलो माध्यमको रूपमा लिएको गोरखा १ ख का उम्मेदवारलाई राजेन्द्र बजगाईं बताउँछन् । 

‘गाउँ गाउँमा पनि अहिले इन्टरनेटको पहुँच पुगेको छ, सबैको हातहातमा मोबाइल छ, सामाजिक सञ्जालमा जोडिएका छन्’, उनी भन्छन्, ‘प्रचार भनेको सबैलाई कुरा पुर्‍याउनु, थाहा दिनु अजेन्डा सुनाउनु, बुझाउनु हो, त्यसैले सामाजिक सञ्जालको पनि सक्दो प्रयोग गरिरहेको छु ।’ सामाजिक सञ्जालको प्रयोग गरेर प्रचार गर्नेमा विवेकशील साझा पार्टीका उम्मेदवार पनि अगाडि नै देखिन्छन्। 

अधिकांश उम्मेदवारले आफ्नो नामको सामाजिक सञ्जाल नजिकका कार्यकर्तालाई निरन्तर अपडेट गर्न लगाइरहेका छन् । गोरखाको दुर्गमका केही गाविसबाहेक सबैजसोमा मोबाइल फोनको सहज पहुँच छ। मोबाइल पहुँच भएका अधिकांश ठाउँमा इन्टरनेट समस्या छैन । गाउँमा जहाँ पुग्यो, कार्यक्रम गर्ने र तत्काल फेसबुकबाट प्रचार गर्नेक्रम उम्मेदवारले जारी राखेका छन्। 

प्रकाशित: २० कार्तिक २०७४ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App